अक्षर साथी
लम्की, फागुन २ गते ।
‘‘शिक्षा, स्वास्थ्य, कृषि र वातावरणमैत्री पूर्वाधार, पहिचानसहितको जानकी गाउँपालिका विकासको मूल आधार’’ भन्ने नाराका साथ कैलालीको जानकी गाउँपालिकामा पालिका स्तरीय वृहत् शैक्षिक प्रदर्शनी सुरु भएको छ । विद्यार्थीमा लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले वृहत् शैक्षिक प्रदर्शनी शुक्रबारदेखि जानकी–३, लायकपुरमा सुरु भएको हो ।
जानकी गाउँपालिकाका सामुदायिक र संस्थागत गरी ३४ विद्यालयको सहभागिता रहेको छ। ३४ विद्यालयका स्टलमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न सामग्री, भाषा, कला तथा साहित्यका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ ।
सो कार्यक्रममा जानकी गाउँपालिकाले खेलकुदका माध्यमबाट जानकी गाउँपालिकालाई विश्वमा चिनाउन सफल भएका खेलाडीहरूलाई सम्मान समेत गरेको छ । भलिबल खेलाडी सरस्वती चौधरी, महिला राष्ट्रिय क्रिकेट टिमकी रचना कुमारी चौधरी र खोखो खेलाडी गणेश विश्वकर्मालाई जनही ११ हजार नगदसहित सम्मान गरिएको थियो ।
प्रदर्शनीबाट विद्यार्थी तथा विद्यालयलाई सहयोग पुगेको अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कपिल भाटले बताए । ‘गाउँपालिकाले आयोजना गरेको यो प्रदर्शनीमा हाम्रो पनि सहभागिता रहेको छ,’ प्रधानाध्यापक भाटले भने, ‘हाम्रा विद्यार्थीले निर्माण गरेका विज्ञानसम्बन्धी, भाषा–कला सम्बन्धी सामग्री प्रदर्शनका लागि राखेका छौँ । प्रदर्शनीमा आफूले बनाएका सामग्री प्रदर्शन गराउन पाउँदा विद्यार्थी उत्साहित भएका छन्, जसको फाइदा विद्यार्थी र विद्यालयलाई भएको छ।’
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउनका लागि शैक्षिक प्रदर्शनीको आयोजना गरिएको बताए । ‘प्रदर्शनीमा आएका विद्यार्थीहरूले आफूले बनाएका÷जानेका कुरालाई यहाँ प्रदर्शन गरून्, अरू विद्यार्थीले प्रदर्शनीका लागि राखेका कुराबाट ज्ञान लिऊन् र आफ्नो ज्ञानको दायरा बढाऊन् भन्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष चौधरीले भने, ‘यसरी प्रदर्शनीको माध्यमबाट विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि यो शैक्षिक प्रदर्शनीको आयोजना गरेका हौँ।’
त्यस्तै, अध्यक्ष चौधरीले शिक्षाले विश्व बदल्ने सामथ्र्य राख्ने कुरालाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कैलाश चौधरीले शिक्षा नीति सच्याउन आवश्यक रहेको बताए। ‘जानकी गाउँपालिकाले हालको शिक्षा नीतिभन्दा राम्रो काम गरेको छ,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘शिक्षा लिएका पनि अहिले बेरोजगार रहनु परेको छ। त्यसैले यो शिक्षा नीति सच्याउनुपर्छ।’
जानकी गाउँपालिकाको शैक्षिक प्रदर्शनी सुरु, ३४ विद्यालय सहभागी
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।