अक्षर साथी
लम्की/चैत्र १३ गते, कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसमा राष्ट्रिय खेलाडी अमृता जैसीलाई सम्मान गरिएको छ। बुधबार लम्की बहुमुखी क्याम्पसको सभा हलमा एक कार्यक्रमको आयोजन गर्दै लम्की बहुमुखी क्याम्पसले राष्ट्रिय महिला फुटबल खेलाडी जैसीलाई सम्मान गरिएको हो।
अमृता जैसीलाई सम्मान व्यक्त गर्दै लम्की बहुमुखी क्याम्पसका अध्यक्ष कर्ण रावलले अमृताले आफ्नो गाउँ सहित समग्र लम्कीचुहालाई देश विदेशमा पहिचान दिलाएको खुशी व्यक्त गरे। अमृतासँग जोडिएका पुराना कुरा स्मरण गर्दै अध्यक्ष रावलले भने, ‘अमृता बैनी सानो हुँदाखेरी फुटबल खेलिरहन्थिन्। प्रायः पुरुष खेल्ने फुटबल खेलमा उनी मात्र एक्ली महिला हुन्थिन्। आज राष्ट्रिय खेलाडी भएकी छन्। आफ्नो खेलबाट हाम्रो गाउँ र समग्र लम्कीचुहालाई देश विदेशमा चिनाएकी छन्।’
त्यस्तै फुटबल खेलाडी अमृता जैसीले आफूलाई गरेको सम्मान प्रति आभार प्रकट गर्दै शिक्षण संस्थामा खेलकुदको लागि कार्यक्रमहरू राख्नु पर्ने बताइन्। ‘जुन हजुरहरूले सम्मान गर्नु भएको छ, त्यसका लागि हृदयदेखि आभार प्रकट गर्न चाहान्छु,’ खेलाडी अमृताले भनिन्, ‘यहाँ(लम्की बहुमुखी क्याम्पस) महिलाहरू धेरै हुनुहुन्छ। शैक्षिक योग्यताले मात्रै हुँदैन, खेलकुदका लागि पनि व्यवस्थापन गर्नुपर्छ। कार्यक्रम राख्नुपर्छ।’
शिक्षण संस्थामा प्रशिक्षक सहित खेलकुदका कार्यक्रम राखेर विद्यार्थीलाई पढाइसँगै खेलकुदमा जोड्न सक्दा भविष्य उज्जवल हुनसक्ने बुझाइ आफ्नो रहेको समेत बताइन् ।
को हुन् अमृता?
अमृता जैसी नेपालकी एक प्रतिभाशाली राष्ट्रिय महिला फुटबल खेलाडी हुन्। उनको जन्म कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–चौरीमा भएको थियो। उनले नेपाली महिला फुटबल टोलीमा डिफेन्डरको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। नेपाल प्रहरीको विभागीय टोलीबाट खेल्दै उनले आफ्नो करिअरमा उल्लेखनीय सफलता हासिल गरेकी छन्। अमृताको प्रमुख उपलब्धिमध्ये सन् २०२१ मा राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबबाट उत्कृष्ट डिफेन्डरको पुरस्कार जित्नु हो। यो सम्मानले उनको रक्षात्मक क्षमता र खेलप्रतिको लगनशीलतालाई प्रमाणित गर्छ। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै टोलीलाई बलियो बनाएकी छन् । उनको शारीरिक तन्दुरुस्ती, टिमवर्क र रणनीतिक खेलले प्रशिक्षक र समर्थकहरूको मन जितेको छ। अमृताको योगदानले नेपाली महिला फुटबलको स्तर उकास्न मद्दत पुगेको छ। उनी आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् ।

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।