अक्षर साथी
लम्की/ मंसिर ९
लम्की महोत्सव २०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा टीकापुर रोडस्थित मैदानमा मंसिर २१ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन भोलि अर्थात बिहिवार उद्घाटन हुँदै छ ।
‘समुन्नत लम्कीचुहाको आधार : कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवले स्थानीय कृषि तथा व्यापारलाई चलायमान बनाउँदै प्रवर्द्धन गर्ने उद्देश्य राखेको संघका अध्यक्ष दीपक कुमार तिमिल्सेनाले जानकारी दिए । महोत्सवमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै अध्यक्ष तिमिल्सेनाले महोत्सवलाई स्थानीय व्यापारीको सहभागितामूलक बनाउन स्टल बुकिङमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । उनका अनुसार स्थानीय व्यापारीले आफ्नो फर्म दर्ता तथा नवीकरण गरेमा महोत्सवको प्रवेश पाससमेत निःशुल्क उपलब्ध गराइनेछ ।
महोत्सव अवधिमा फर्म नवीकरण गर्न आउने व्यापारीलाई नवीकरण शुल्कमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको महासचिव पुष्पराज ढकालले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि साधारण टिकटको मूल्य एक सय रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, सिजनल टिकटको मूल्य सात सय रुपैयाँ तोकिएको आयोजक लम्कीचुहा उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवबाट प्राप्त हुने आम्दानीलाई संस्थाको निर्माणाधीन भवनलाई पूर्णता दिन र संस्थाको दैनिक प्रशासनिक काम सञ्चालनमा उपयोग गर्ने लक्ष्य रहेको अध्यक्ष तिमिल्सेनाले बताए । संघले आफ्नो तीनवर्षे कार्यनीतिमा चिसापानी बजारदेखि चुहा बजारसम्मका मुख्य चोकहरूमा तातो तथा चिसो पानी पिउन मिल्ने ट्यांकी राख्ने योजनासमेत अघि सारेको छ ।
यस वर्षको महोत्सवमा स्टल व्यवस्थापनलाई विगतभन्दा फरक र आकर्षक बनाइएको आयोजकले जानकारी दिए । महोत्सव परिसरमा रमाइलो मेला, थारू गाउँलगायत मनोरञ्जनका विभिन्न स्टलहरू रहनेछन् ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । त्यसैगरी, विद्यार्थीहरूको नृत्य प्रतियोगितासमेत आयोजना गरिने र प्रतियोगितामा सहभागी विद्यार्थीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्थानीय उत्पादन, व्यापार, कला, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले लम्कीचुहाको आर्थिक तथा व्यावसायिक गतिविधिमा थप ऊर्जा दिने अपेक्षा आयोजकले गरेको छ ।
लम्की महोत्सवको तयारी अन्तिम चरणमा, भोलि उद्घाटन हुँदै
विज्ञापन

पाठक प्रतिक्रिया
1 प्रकाशित प्रतिक्रियाGreat News
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।