अक्षर साथी
लम्की, मंसिर ११
   कैलालीको लम्कीमा लम्की महोत्सव, २०८३ सुरु भएको छ । कैलाली क्षेत्र नं. २ का संघीय सांसद केपी खनालले बिहीवार एक आयोजित समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन् ।
  उद्घाटन समारोहका प्रमुख अतिथि सांसद केपी खनालले सम्बोधनका क्रममा महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए । वर्तमान सरकार राजनीतिक स्वार्थभन्दा सेवामुखी अवधारणाका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले एक वर्षभित्र नतिजा देखिने गरी काम भइरहेको बताए । हरेक विषयमा आलोचना मात्रै गर्नुभन्दा विकास निर्माणमा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । आफू विकासका काममा सहकार्य गर्न तयार रहेको पनि उनले स्पष्ट पारे ।
  कैलाली क्षेत्र नं. २ का विकास आयोजनाबारे धारणा राख्दै सांसद खनालले चिसापानीदेखि मोहन्याल हुँदै बर्दगोरियासम्म जोडिने रणनीतिक सडक र लम्कीमा ट्रमा सेन्टर स्थापनाको काम अघि बढिरहेको जानकारी दिएका थिए ।
   कार्यक्रमका विशिष्ट अतिथि संघीय सांसद प्रेमबहादुर बयकले स्थानीय व्यापारलाई चलायमान बनाउन उद्योग वाणिज्य संघले गरेको प्रयासको प्रशंसा गर्दै महोत्सव सफलताको शुभकामना व्यक्त गरे। तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै उनले केही व्यक्तिले रोजगारीका नाममा शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई कमजोर बनाएको टिप्पणी गरे । जनताको आवाज पुग्नुपर्ने ठाउँमा आफूले आवाज उठाउन तयार रहेको उनको भनाइ थियो ।
  प्रदेशसभा सदस्य रामेश्वर चौधरीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै डुडेझारीमा औद्योगिक क्षेत्र स्थापना गर्न कानुनी अवरोध रहेको बताए । उनले प्रदेश सरकारमा रहँदा कृषि क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न काम गरिएको पनि उल्लेख गरे ।
   त्यस्तै निवर्तमान जिल्ला समन्वय समिति सभापति सुर्य बहादुर थापाले लम्कीचुहा उद्योग वाणिज्य संघको स्थापना र सञ्चालनमा आफ्नो महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै संस्थाले यस क्षेत्रको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले संघले विगत २१ वर्षदेखि व्यापार, कृषि र पर्यटनको विकासमा आफू निरन्तर काम गर्दै आएको बताए । राजकाँडाको पर्यटन विकासको प्रसंग जोड्दै थापाले आफू पाँच सयभन्दा बढी पटक त्यहाँ पुगेर आजको राजकाँडा निर्माणको आधार तयार पार्न योगदान गरेको र त्यसले पर्यटनसँगै रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुगेको उल्लेख गरे ।
   त्यस्तै लम्कीचुहाका निवर्तमान नगर प्रमुख महादेव बजगाईले महोत्सव मेलाले स्थानीय व्यापार सहयोग पुग्ने भएकाले यस्ता किसिमका कार्यक्रम आवश्यक रहेको बताए । निवर्तमान नगर प्रमुख बजगाई सरकार सञ्चालन र विकासको प्रसंगमा बोल्दै विकास गर्नको धेरै समय नचाहिने कुरा मनमोहन अधिकारी सरकारका नीति तथा कार्यक्रम हेर्न आग्रह गरे । सरकारमा राम्रो पहुँच भन्ने दाबी गरिए पनि कैलाली क्षेत्र नं.२ मा 'ठूलो आयोजना' नहुनेले त्यो दाबी गलत रहेको तर्क निवर्तमान नगर प्रमुख बजगाईको रहेको थियो ।
  उद्घाटन समारोहमा आयोजक संस्थाका तर्फबाट बद्रीप्रसाद ढकाल, रिभरसाइड यातायात प्रालिका जनकबहादुर शाही, व्यापारीक संस्थाबाट मदनराज न्यौपाने, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य पदमराज चौलागाईं, सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्प कुँवर र लम्कीचुहा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नेत्रप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले महोत्सवको सफलताको कामना गर्दै यसले स्थानीय कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।
उद्घाटन समारोहका सभाध्यक्ष तथा लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कुमार तिमिल्सेनाले सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, पर्यटन प्रवर्द्धन र संस्थागत पूर्वाधार निर्माणसँग जोड्ने प्रयास गरिएको बताए ।
महोत्सवले स्थानीय उत्पादन, व्यापार, कृषि, शिक्षा र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। महोत्सवको नारा ‘समुन्नत लम्कीचुहाको आधार : कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ तय गरिएको छ। आयोजकले महोत्सवमा ६० हजार दर्शक भित्र्याउने लक्ष्यसमेत लिएको छ ।
लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन समारोहमा संघीय सांसद प्रेमबहादुर बयक, प्रदेशसभा सदस्य रामेश्वर चौधरी, निवर्तमान कैलाली जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, निवर्तमान नगर प्रमुख महादेव बजगाई, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि,  सामाजिक संघसंस्थाका प्रतिनिधिहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
लम्कीचुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकालले संस्थाका तर्फबाट पाँच बुंदे ज्ञापनपत्र सांसद तथा कार्यक्रमका प्रमुख अतिथि केपी खनाल समक्ष प्रस्तुत गरेका थिए । त्यस्तै शिक्षा क्षेत्रमा योगदान दिने प्रमेश्वर कार्की, सञ्चार क्षेत्रमा बुद्धिमान जैसी(वसन्त), र कृषि क्षेत्रमा मायाराम जैसीलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।
मंसिर १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महोत्सव प्रवेशका लागि साधारण टिकट दर एक सय रुपैयाँ, विद्यार्थीका लागि ८० रुपैयाँ र सिजनल टिकट सात सय रुपैयाँ निर्धारण गरिएको छ । स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टल बुकिङमा २५ प्रतिशत छुट तथा फर्म दर्ता र नवीकरण गर्ने व्यवसायीलाई निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । त्यस्तै, फर्म नवीकरण शुल्कमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था आयोजकले मिलाएको छ ।