कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनालले जिल्लाको शान्ति सुरक्षा अवस्था सुधार गर्न सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया तथा छलफल गर्नुभएको छ।

इलाका प्रहरी कार्यालय मोतीपुरमा आयोजित कार्यक्रममा सांसद खनालसहित कैलालीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तथा सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा पछिल्लो समय कैलालीका विभिन्न स्थानमा हत्या, हिंसा, चोरी तथा डकैतीलगायतका आपराधिक घटना बढ्दै गएको विषय उठाउँदै सांसद खनालले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई थप सक्रिय हुन आग्रह गर्नुभयो।

विशेषगरी तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सम्भावित आपराधिक गतिविधि नियन्त्रण, सीमा नाकाको निगरानी र बजार क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन उहाँले सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराउनुभयो।

यसैबीच, सांसद खनालको पहलमा इलाका प्रहरी कार्यालय लम्कीको भवन निर्माण तथा पूर्वाधार विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारमार्फत ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। प्रहरी कार्यालयको भौतिक पूर्वाधार अभावलाई सम्बोधन गर्न आफूले बजेट ल्याउन पहल गरेको सांसद खनालले बताउनुभयो।

त्यस्तै, लम्कीचुहा क्षेत्रमा चोरी, डकैती, हत्या तथा हिंसाका घटना बढ्दै गएको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) ल्याउन आफूले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो।

आफू निर्वाचित भएलगत्तै वैशाख ७ गतेदेखि नै विभिन्न निकायमार्फत गृह मन्त्रालयसम्म डीएसपीको व्यवस्था गर्न माग तथा पहल गरिरहेको उहाँको भनाइ छ। लम्कीमा थप प्रहरी जनशक्ति आवश्यक रहेको र जनशक्ति व्यवस्थापनसँगै भौतिक पूर्वाधार पनि तयार गर्नुपर्ने उहाँले बताउनुभयो।

अन्तरक्रियामा सुरक्षा निकायका प्रमुखहरूले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सीमा नाका, बजार क्षेत्र र संवेदनशील स्थानहरूमा सुरक्षा निगरानी बढाइएको जानकारी दिएका थिए। चाडपर्वमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिएको उनीहरूको भनाइ थियो।

नागरिकको सुरक्षा, अपराध नियन्त्रण र शान्तिसुव्यवस्था कायम गर्ने उद्देश्यले गरिएको छलफलमा कैलाली क्षेत्र नम्बर २ सहित लम्कीचुहाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।