कैलालीको लम्कीमा रहेको संयुक्त दलित अभियान कृषि सहकारी संस्था लि.को १० औँ वार्षिक साधारणसभा शनिबार संस्थाको भवन लम्कीमा सम्पन्न भएको छ।

   लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीको उपस्थितिमा सम्पन्न कार्यक्रममा लम्कीचुहा नगर कार्यपालिकाकी सदस्य ज्योति देवी बि.क., जनजागृति माध्यमिक विद्यालयका अध्यक्ष रणसिंह बि.क., ज्ञानोदय प्राथमिक विद्यालयका अध्यक्ष पदम तिरुवा लगायत संस्थाका सेयर सदस्यहरूको सहभागिता रहेको थियो। पूर्व सञ्चालक ढकबहादुर बि.क.ले स्वागत मन्तव्य दिएका कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले आफूले समावेशी तरिकाले बजेट विनियोजन गरेको बताइन्। सहकारीको भवनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आफू प्रतिवद्ध रहेको भनाइ पनि उनले राखेकी थिइन्।

May be an image of 8 people and text

   कार्यक्रमका अधिकांश वक्ताले संस्थालाई थप सुधार गर्न यसको उद्देश्यअनुरूपको काम गर्न सञ्चालक समिति लागि पर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

   संस्थाको १० औँ साधारणसभा चुनावी साधारणसभा पनि रहेको थियो। साधारणसभाले पदम मिजार विश्वकर्मालाई अध्यक्ष चयन गर्दै नौ सदस्यीय सञ्चालक समिति र नयाराम बि.क. संयोजक रहने गरी तीन सदस्यीय लेखा समिति गठन गरेको छ। पदम मिजार विश्वकर्मा अध्यक्ष रहेको सञ्चालक समितिको उपाध्यक्षमा मंगल बि.क., सचिवमा लालबहादुर बि.क., कोषाध्यक्षमा तुल्सी कुमारी बाब्ली, सदस्यमा सर्प विश्वकर्मा, विनोद भुल, बलबहादुर भुल र दीपा बि.क. रहेका छन् भने बाँकी एक जनालाई मनोनयन गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

   त्यस्तै, लेखा समितिको संयोजकमा नयाराम बि.क., सदस्यमा जगतकुमार मयाल र पदम तिरुवा चयन भएका छन्।

३३७ सेयर सदस्य रहेको सहकारी संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा २६ लाख १८ हजार ५८० रुपैयाँको कारोबार गरेको छ।