लम्की। चाडपर्व भनेको आफ्नो खुसी मात्र मनाउने अवसर होइन, अरूको अनुहारमा पनि मुस्कान ल्याउने अवसर हो भन्ने उदाहरण सहज युवा क्लब लम्कीचुहा–५, कैलालीले प्रस्तुत गरेको छ।
तिहारको अवसरमा देउसी–भैलो खेलेर सङ्कलन गरेको रकमबाट क्लबले मानव सेवा आश्रम, लम्कीमा आश्रित असहाय तथा सहाराविहीन व्यक्तिहरूका लागि करिब २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री र जाडोमा प्रयोग हुने कपडा सहयोग गरेको छ।
देउसी–भैलो कार्यक्रमका संयोजक कमल बडुवालका अनुसार चाडपर्वमा रमाइलो र मनोरञ्जनसँगै समाजप्रतिको जिम्मेवारी पनि पूरा गर्नुपर्छ भन्ने उद्देश्यले सङ्कलित रकमबाट आश्रमलाई सहयोग गरिएको हो।आफूले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो खुसी ल्याउन सक्छ। हामीले मनाउने चाडपर्वको वास्तविक खुसी अरूको दुःखमा साथ दिन सक्नुमा पनि लुकेको हुन्छ। सहज युवा क्लबले गरेको यो कार्य केवल आर्थिक सहयोग मात्र नभई मानवता, सहानुभूति र सामाजिक सेवाप्रतिको सुन्दर उदाहरण बनेको छ।