धनगढी - कैलालीमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट चार थान पेस्तोल र सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा नामले चिनिँदै आएका सञ्जय राना, सोही स्थानका कमल बिक र रुद्रप्रसाद अधिकारी छन् ।

उनिहरुको साथबाट प्रहरीले तीन अर्बको एउटै चेक समेत बारामद गरेको छ । पक्राउ पर्ने तीनजना मिटरब्याजमा रकम लगाउने र हतियार कारोबारी रहेको खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरु मिटरब्याजमा रकम लगाउने, जग्गा दलाली गर्ने र साना हतियारको समेत कारोबार गर्ने गरेको खुलेको एक प्रहरी अधिकारीले बताए । उनीहरुको साथबाट चार थान पेस्तोल, सुनका गहना, केही थान तमसुक र राष्ट्र बैंकका नक्कली कागजात र गोली बरामद भएको छ । पक्राउ परेकामध्ये राना गिरोहका नाइके भएको बताइएको छ ।

राना बिगत लामो समय देखी अबैध कारोबार गर्दै आएको खुल्न आएको छ । उनको बास्तबिक नाम सञ्जय राणा भएपनी कारोबार गर्न सजिलो होस भन्ने हेतुले उनले आफ्नो नाम सञ्जय राना बनाएका थिए । प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको उनको घरको खानतलासी समेत गरेको छ ।

पहिले समान्य जिबनशैली भएका राणाको पछिल्ला दिनहरुमा जीवनशैली र आर्थिक हैसियतमा एक्कासी परिबर्तन आएको स्थानियले बताएका छन् । सो समूहलाई पक्राउ गर्नका लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोली काठमाडौंबाट कैलाली पुगेको थियो । कैलाली प्रहरीका एसपी सुदीप गिरीले घटनाको अनुसन्धान जारी रहेको बताए ।