अक्षर साथी
लम्की, मंसिर १०
लम्की। लम्कीका अग्रज पत्रकार बुद्धिमान जैसी (वसन्त) सम्मानित भएका छन् । लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित लम्की महोत्सव–२०८३ को उद्घाटन समारोहमा जैसीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
महोत्सवका प्रमुख अतिथि सांसद केपी खनाल, सांसद प्रेमबहादुर बयक र संघका अध्यक्ष दीपककुमार तिमिल्सेनाले संयुक्त रूपमा जैसीलाई सम्मान गरेका थिए ।
सम्मान पत्रमा 'लम्कीचुहा नगरपालिका क्षेत्रभित्र रहेर सञ्चार क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्दै यस क्षेत्रको समग्र विकास, विस्तार र समाज रूपान्तरणमा पुर्याएको योगदान, सेवा र समर्पणको उच्च मूल्याङ्कन तथा कदर गर्दै सम्मान गरिएको' उल्लेख छ ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार जैसीले प्राप्त सम्मानले आफूलाई थप हौसला मिलेको बताए । यसले पत्रकारिता पेशामा अझ कटिबद्ध भएर लाग्न प्रेरित गरेको उनको भनाइ थियो ।
२०६२ सालदेखि लम्की क्षेत्रमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका जैसी यस क्षेत्रका अग्रज पत्रकार हुन् । उनले हाम्रो सेती साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । पत्रकारितालाई संस्थागत र व्यावसायिक रूपमा अघि बढाउने क्रममा उनले २०६९ सालमा एफएम रेडस्टार ९५.३ मेगाहर्ज स्थापना गरी प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय २०८३ सालमा रेडस्टार टाइम्स स्थापना गरी सञ्चालन गरिरहेका छन् ।
समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्याय र अत्याचारविरुद्ध निरन्तर कलम चलाउँदै आएका जैसीले पत्रकारितामा निडर र साहसिक पत्रकारको छवि बनाएका छन् । समाजका विकृति र विसङ्गतिलाई उजागर गर्दै जनताका सवाललाई सञ्चार माध्यममार्फत उठाउँदै आउनु उनको पत्रकारिताको विशेषता रहँदै आएको छ ।
पत्रकारितासँगै सामाजिक कार्यमा समेत सक्रिय जैसीले लामो समयदेखि लम्की क्षेत्रको सामाजिक तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएका छन् । उनको सम्मानलाई लाम्की क्षेत्रमा पत्रकारिता मार्फत समाज र समुदायका पक्षमा पुर्याएको योगदानको कदरका रूपमा हेरिएको छ ।
लम्कीका अग्रज पत्रकार बुद्धिमान जैसी सम्मानित
विज्ञापन

पाठक प्रतिक्रिया
0 प्रकाशित प्रतिक्रियायस समाचारमा अहिलेसम्म प्रकाशित प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिक्रिया प्रकाशित हुनुअघि सम्पादकीय टोलीद्वारा समीक्षा गरिनेछ।