समाचार
लम्कीचुहाकी ६ वर्षीया विद्यार्थी मनिषा कहाँ छिन् ? जवाफ कसले दिने हो ?
प्रशासक | २०८३ आषाढ़ १७ गते ०९:५६ मा प्रकाशित
अक्षर साथी
लम्की, असार १७
मंगलबार बिहानदेखि कैलालीको लम्कीचुहामा अविरल वर्षा भइरहेको थियो । त्यही वर्षाकै बीचमा लम्कीचुहा नगरपालिका–४, अमरपुरकी ६ वर्षीया मनिषा बि.क. पनि आफ्नी हजुरआमासँगै विद्यालय पुगेकी थिइन् । उनी अध्ययन गर्ने श्री जनचेतना प्राथमिक विद्यालय, मोतिपुरमा ।
शिशु कक्षामा अध्ययनरत मनिषाका लागि त्यो दिन पनि अरू दिनजस्तै थियो । उनी अक्षर चिन्न सिक्दै थिइन्, नयाँ शब्दसँग परिचित हुँदै थिइन् । तर, विद्यालयको ११ बजे हुनुपर्ने बिदा किन बिहानै पौने ९ बजे गरियो ? कसको निर्णयमा गरियो ? किन गरियो ? यसको स्पष्ट जवाफ अहिले पनि कसैसँग छैन । विद्यालय प्रशासन मौन छ, अभिभावक अन्योलमा छन् । यही एउटा निर्णयले आज एउटा निर्दोष बालिकाको जीवन नै रहस्यमय बनेको छ । विद्यालयबाट ११ बजे घर फर्किने उनी त्यस दिन भने कहिल्यै नफर्किने यात्रामा पो निस्किइन् कि भन्ने संशय अहिले अमरपुरवासीको मनमा छ ।
विद्यालय स्रोतका अनुसार मनिषा विद्यालयकै निगरानीमा थिइन् । उनलाई लिन सधैंझैँ उनकी हजुरआमा आउने गर्थिन् । तर, केहीबेरमै मनिषा कहाँ र कसरी हराइन् भन्ने प्रश्नको उत्तर २४ घण्टा बितिसक्दा पनि कसैसँग छैन ।
अमरपुरवासीका अनुसार मनिषाको घर पुग्ने बाटोमा पर्ने एउटा कुलो त्यस दिनको अविरल वर्षाले उर्लिएको थियो । सामान्य दिनमा सहजै तर्न सकिने त्यो कुलो बाढीले खतरनाक बनेको थियो । मनिषा त्यही कुलो तर्ने क्रममा रोरा खोलाले बगाएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । तर, यो आशंका पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन । खोजी जारी छ, तर मनिषाको कुनै अत्तोपत्तो छैन ।
घरकी एक्ली सन्तान । परिवारकी आशा । सबैकी प्यारी मनिषा हराएको २४ घण्टा बितिसक्दा पनि उनको अवस्था अज्ञात छ । उनी जीवित छन् ? कतै अलपत्र परेकी छन् कि ? वा कुनै दुर्घटनामा परिन् ? यी सबै प्रश्नको उत्तर अझै अन्धकारमै छ ।
यो बालिकाको बेपत्ताको घटना मात्र होइन । यो त विद्यालयको जिम्मेवारी, विद्यार्थी सुरक्षाप्रतिको संवेदनशीलता र सम्बन्धित निकायको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाउने घटना हो । अमरपुर गाउँले एउटै प्रश्न सोधिरहेको छ, मनिषा कहाँ छिन् ?
आकाशले निल्यो कि धर्तीले पुर्यो ? जवाफ अब कसले दिने ?