समाचार
किसान सहकारीले सञ्चालनमा ल्यायो बिउँ प्रशोधन केन्द्र
प्रशासक | २०८३ श्रावण २० गते १४:५६ मा प्रकाशित
अक्षर साथी
लम्की, साउन २०
कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले बिउँ प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ ।
लम्कीचुहा–४, कौवापुरमा सुदूरपश्चिम प्रदेश सरकार र संस्थाको संयुक्त लगानीमा १ करोड ४१ लाख २ हजार ६६८ रुपैयाँ लागतमा निर्माण गरिएको बिउँ प्रशोधन केन्द्र तथा भण्डारण गृहको बुधबार उद्घाटन गरिएको छ । उक्त केन्द्रबाट प्रति घण्टा दुई टन बिउँ प्रशोधन गर्न सकिने क्षमता रहेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले केन्द्रको उद्घाटन गर्दै कृषि क्षेत्रलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखिएको बताए । उनले किसानले गरेको लगानी र श्रमको उचित प्रतिफल सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माणतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
‘मुलुकको समृद्धिसँग प्रत्यक्ष जोडिएको कृषि क्षेत्रलाई हामीले अत्यन्त प्राथमिकतामा राखेका छौँ । कृषि लगायतका उत्पादनमूलक क्षेत्रसँग जोडिएर किसानको लगानी र श्रमको उचित प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण गर्ने काम अघि बढाइएको छ,’ मुख्यमन्त्री शाहले भने ।
संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले २०५२ सालमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारीले सुरुवाती चरणमा सदस्यहरूलाई उन्नत बिउँ बाहिरबाट खरिद गरेर वितरण गर्नुपर्ने अवस्था रहेको स्मरण गरे । अहिले आफ्नै बिउँ प्रशोधन केन्द्र सञ्चालनमा आउनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।
अध्यक्ष शाहले प्रशोधन केन्द्र निर्माणमा सहयोग गरेको सुदूरपश्चिम प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यस कार्यमा साथ दिने सबै सरोकारवालालाई धन्यवादसमेत ज्ञापन गरे ।
संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले हाल १ सय ४० बिघा क्षेत्रफलमा उत्पादन हुने बिउँ प्रशोधन गर्ने लक्ष्यसहित केन्द्र सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार केन्द्रमा प्रति घण्टा दुई टनका दरले धान, गहुँ, तोरी र मकैको बिउँ प्रशोधन गरिने छ ।
उनले किसानले उत्पादन गरेको बाली संस्थाले नै खरिद गर्ने व्यवस्था गरिएको जानकारी दिए । न्यूनतम समर्थन मूल्यमा प्रति क्विन्टल थप ३०० रुपैयाँ प्रोत्साहन रकमसमेत उपलब्ध गराएर खरिद गरिने भएकाले किसानको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
