समाचार
कर्णालीको पानी लम्कीमा ल्याउने बाँकी काम उच्च प्राथमिकतामा सम्पन्न गरिने : अध्यक्ष सिंह
प्रशासक | २०८३ आषाढ़ ४ गते १०:२९ मा प्रकाशित
अक्षर साथी
लम्की, असार ५
लम्की साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष मल्ल सिंहले कर्णाली नदीको पानी लम्कीवासीसम्म पुर्याउने योजनाका बाँकी रहेका सबै काम उच्च प्राथमिकताका साथ सम्पन्न गरिने बताएका छन् ।
बुधवार पद तथा गोपनीयताको सपथ ग्रहणपछि बसेको नवगठित कार्यसमितिको पहिलो बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष सिंहले संस्थाले आगामी दिनमा खानेपानी सेवाको गुणस्तर सुधार र योजनाका अधुरा काम सम्पन्न गर्न विशेष ध्यान दिने बताए ।
उनले कर्णाली खानेपानी आयोजनाअन्तर्गत अझै बाँकी रहेका संरचना तथा प्राविधिक कार्यहरू समयमै पूरा गरी उपभोक्तालाई भरपर्दो र नियमित खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष सिंहका अनुसार कार्यसमितिको बैठकले संस्थाको प्रशासनिक सञ्चालन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा उपभोक्तामैत्री व्यवस्थापन प्रणाली विकास गर्ने सम्बन्धमा विभिन्न निर्णय गरेको छ । साथै, खानेपानी वितरण सेवालाई निरन्तर, व्यवस्थित र सहज बनाउने विषयलाई प्राथमिकतामा राखिएको उनले बताए ।
यसैबीच, नवगठित कार्यसमितिले सोही दिन संस्थाअन्तर्गत सञ्चालनमा रहेका विभिन्न खानेपानी योजनाहरूको स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा योजनाको प्रगति, सञ्चालन अवस्था तथा बाँकी रहेका कामहरूको अवस्थाबारे जानकारी लिइएको संस्थाले जनाएको छ ।
नवनिर्वाचित नेतृत्वले संस्थामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।