समाचार
शोकमा डुबेको परिवारलाई सहकारीको सहारा
प्रशासक | २०८३ आषाढ़ २६ गते १९:२१ मा प्रकाशित
अक्षर साथी
लम्की, असार २६
किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना दिवंगत सदस्यको परिवारलाई ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता उपलब्ध गराएको छ। संस्थाले सञ्चालन गर्दै आएको सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा अन्तर्गत उक्त रकम प्रदान गरिएको हो।
डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय गर्दै आएकी संस्थाकी ऋणी सदस्य कलावती देवी बोहराका श्रीमान् भीमबहादुर बोहराको असामयिक निधन भएपछि सहकारीले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो। सोही अवसरमा मृतककी श्रीमती तथा संस्थाकी सदस्य कलावती बोहरालाई ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रममा आलीताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष बरबहादुर बोहराको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले भीमबहादुर बोहराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।
सदस्यको भविष्य सुरक्षित गर्ने सुरक्षण कोष
किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूले लिने लघुऋणको अनिवार्य बिमा गर्दै आएको छ। उक्त बिमाले ऋणी सदस्यसँगै परिवारको सुरक्षासमेत सुनिश्चित गर्ने भएकाले सदस्यको निधन भएमा ऋण मिनाहा हुने व्यवस्था रहेको संस्थाले जनाएको छ।
संस्थाले ऋण मिनाहा गर्नुका साथै सदस्य सुरक्षण कोषमार्फत थप आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। सदस्यहरूलाई आपत् परेको समयमा आर्थिक राहत दिने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको संस्थाको भनाइ छ।
संस्थाले आफ्ना सदस्यहरूका लागि ‘जन्मदेखि मरणोपरान्त’ विभिन्न सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत सदस्य सुरक्षण कोषबाट हालसम्म आफ्ना सदस्य तथा परिवारलाई ३४ करोड ९२ लाख ४६ हजार ९ सय रुपैयाँ बराबरको सहायता उपलब्ध गराइसकेको संस्थाले जनाएको छ।