समाचार
महिलाको गहना लुटपाट गरी हत्या गर्ने प्रयास
एजेन्सी | २०७६ श्रावण २१ गते १७:५७ मा प्रकाशित
साउन २१, बझाङ
–बझाङमा एक जना महिलाको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ । बझाङको थलारा गाँउपालिका– ५ हाट घर भएकी २२ वर्षीया विमला ओलीको परिचय नखुलेको एक समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका केदास्युँ गाँउपालिका –९ माइती घरबाट घर आउने क्रममा थलारा गाँउपालिका –३ को शिलाकोट भन्ने स्थानमा एक समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास भएको थियो । उहाँको अवस्था गम्भीर रहेको छ । साथै उहाँकै साथमा रहनुभएकी १३ वर्षीया बहिनी सुलोचना ओलीमाथि पनि लुटेरा समूहले आक्रमण गरेका थिए । उहाँ पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।