नेपालसहित पाँच राष्ट्रले अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता खेल्ने
एजेन्सी | २०७६ श्रावण २१ गते १७:५५ मा प्रकाशित
काठमाण्डौं, २१ साउन । नेपालसहित पाँच देशले आगामी असोज तेस्रो साता टी(२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन्।
ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने ओमान क्रिकेटका प्रमुख प्रशासकीय अधिकृत (सिएओ) एकबाल अरिवलाले जानकारी दिए।
पाँच वटै टिमलाई प्रतियोगितामा भाग लिन एक महिनाअघि पत्र पठाएको बताउँदै एकबालले भने, ‘सबै टिमले खेल्ने पक्का भइसकेको छ।’
नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी(२० प्रतियोगितामा सहभागी हुनका लागि इमेल आएको पुष्टि गरे।
उनले नेपालको सहभागिताको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले निर्णय गर्ने बताए।
२०७३ मा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको आइसिसी नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।
‘हामीलाई टी(२० प्रतियोगितामा सहभागी हुन इमेल आएको छ। यस विषयमा आइसिसीले यसै साता निर्णय गर्ने विश्वास छ,’ सिवाकोटीले भने।
प्रतियोगिता आइसिसी टी(२० विश्वकप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।
विश्व छनोटमा नेपाल छनोट हुन नसकेको अवस्थामा पनि आइसिसीले नेपालको सहभागिता पक्का गर्ने विश्वास गरिएको छ।
विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स ९युएई० मा आयोजना हुँदैछ।
जहाँ स्टकल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, हङकङ, ओमान, आयरल्यान्ड, युएई, पपुवा न्युगिनी, केन्या, नामिबिया, जर्सी र सिंगापुर छनोट भइसकेका छन्।
१४ देशको सहभागिता हुने विश्व प्रतियोगिताका लागि अमेरिका क्षेत्रबाट २ टिम छनोट हुन बाँकी छ।
नेपाल भने दुई साताअघि सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो।
ओमानमा आयोजना हुने प्रतियोगिताका लागि नेपालको तयारीका विषयमा पनि आइसिसीले नै निर्णय दिनु पर्नेछ। नेपाल टिमका प्रशिक्षक उमेश पटवाल नेपाल आएपछि प्रशिक्षणको विषयमा निर्णय हुन सक्छ।
सिंगापुरमा भएको एसिया छनोटपछि पटवाल उतैबाटै भारत गएका थिए।
गत संस्करणको टी(२० विश्वकप खेलेको ओमान पछिल्लो समय बलियो एसोसिएट देशमा पर्छ।
ओमानले यसै वर्ष एकदिवसीय टिमको मान्यता पाएको थियो। श्रीलंकाका पूर्वक्रिकेटर दुलिप मेन्डिस ओमान क्रिकेटको प्रशिक्षकमा आएपछि ओमान क्रिकेटले फड्को मारिरहेको छ।
मेन्डिस नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक रोए डायसको समकालीन हुन्। श्रीलंकाले टेस्ट मान्यता पाउँदा मेन्डिस र डायस श्रीलंकाका मुख्य ब्याट्सम्यान थिए। (साभार : सेतोपाटीबाट)