कसरी आर्दश नमूना मावि बन्यो लम्की मावि ?
प्रशासक | २०८२ असोज २० गते १०:३२ मा प्रकाशित
अक्षर साथी
लम्की/ असोज २०
कुनै समय लम्की क्षेत्रकै प्रतिष्ठित विद्यालयका रूपमा चिनिएको आदर्श नमूना माध्यमिक विद्यालय अहिले नयाँ नाम र संरचनासहित पुनः सञ्चालनमा आउँदैछ । आर्थिक र व्यवस्थापन समस्याका कारण वर्षौंयता ठप्प भएको उक्त विद्यालय अब लम्की बहुमुखी क्याम्पसको जिम्मेवारीमा लम्की माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा आउने भएको हो ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही र उपप्रमुख जुना चौधरीले साविकको आदर्श नमूना माविसम्बन्धी महत्वपूर्ण कागजात एक कार्यक्रम मार्फत क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर रावल, क्याम्पस प्रमुख महेश विक्रम थापा र विद्यालय संयोजक अमर बहादुर रावललाई हस्तान्तरण गरेपछि विद्यालय सञ्चालनको नयाँ यात्रा सुरु भएको हो ।
आदर्शको उदय र पतन
आदर्श नमूना माध्यमिक विद्यालय कुनै समय लम्की क्षेत्रमा सार्वजनिक गुठीका रूपमा परिचित एक उदाहरणीय शैक्षिक संस्था थियो। स्थानीय समुदायको लगानी र उत्साहका कारण विद्यालयको ख्याति क्रमशः फैलिँदै गएको थियो। तर, समयक्रमसँगै आर्थिक स्रोतको अभाव, व्यवस्थापनमा देखिएका असहजता र विद्यार्थी सङ्ख्या घट्दै जाँदा विद्यालय क्रमशः अस्तव्यस्त हुँदै गयो ।
०६५ सालमा आदर्श नमूना विद्यालयमा शिक्षकका रूपमा कार्यरत भई ०७५ सालमा प्रधानाध्यापक हुँदै बिदा भएका गणेशराज पाण्डेका अनुसार, गुठियार बोर्डका अधिकांश सदस्यहरूले निजी विद्यालयमा लगानी गर्नु र प्रधानाध्यापकलाई स्वतन्त्र रूपमा काम गर्न नदिनु, विद्यालयको पतनका मुख्य कारणमध्ये एक हो ।
विद्यालय स्थापना भएदेखि नै कुल आठपटक प्रधानाध्यापक परिवर्तन गरिएको थियो । त्यस्तै, विद्यालयका आवश्यक निर्णयमा गुठियारहरूको सक्रियता नदेखिनु पनि समस्याको अर्को कारण बनेको पाण्डे बताउँछन् ।
अन्ततः विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था आएपछि गुठियारहरूले सम्पूर्ण अधिकार र सम्पत्ति लम्कीचुहा नगरपालिकामा बुझाए ।
नगरपालिकाको निर्णय र क्याम्पसको जिम्मेवारी
गुठीयारले विद्यालय बुझाएपछि नगरपालिकाले त्यस क्षेत्रको जग्गा र भवन आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि नगरपालिकाले शैक्षिक सम्भावना पुनर्जीवित गर्न लम्की बहुमुखी क्याम्पसलाई विद्यालय सञ्चालनको जिम्मेवारी दियो ।
नगर प्रमुख सुशीला शाहीले कार्यक्रममा भनिन्, ‘नगरपालिका शैक्षिक क्षेत्रमा गुणस्तर र पहुँच दुवैमा सुधार ल्याउने लक्ष्यसहित अघि बढेको छ । लम्की माध्यमिक विद्यालय सञ्चालन यसको एउटा ठोस कदम हो ।’ उनले विद्यालयका लागि शिक्षक दरबन्दीसमेत तोकिने र आवश्यक सहयोग नगरपालिकाबाट प्राप्त हुने स्पष्ट गरेकी थिइन् ।
नयाँ सुरुवात : लम्की माध्यमिक विद्यालय
अब लम्की बहुमुखी क्याम्पसले कक्षा ११ बाट भर्ना अभियान सुरु गर्दै यही शैक्षिक सत्रदेखि पठनपाठन सञ्चालन गर्ने जनाएको छ । जसको जिम्मेवारी पूर्व क्याम्पस प्रमुख अमर बहादुर रावललाई दिइएको छ । क्याम्पसले क्याम्पस हाताभित्रकै तीन विगाहा क्षेत्र विद्यालयका लागि छुट्याउने निर्णय गरेको छ । सार्वजनिक शैक्षिक गुठीको रूपमा सञ्चालन हुने विद्यालयको शुल्क संरचना क्षेत्रका अन्य विद्यालयको सरह रहने जनाइएको छ ।
दुई धार : आलोचना र समर्थन
विद्यालय पुनः सञ्चालनको निर्णयप्रति स्थानीय समाजमा दुईखाले धार देखिएका छन् । एकतर्फ केहीले ‘आदर्श नमूना विद्यालय लम्कीको गौरव थियो । त्यो नाम मेटेर नयाँ नाममा पुनः सञ्चालन गर्नु इतिहास मेटाउने कार्य हो ।’ भनेका छन् । संस्थागत असफलता सुधार्न सकिन्थ्यो, विद्यालय बन्द गर्नु आवश्यक ठिक होइन भने तर्क उनीहरूको रहेको छ भने अर्कोतर्फ ‘आदर्श नमूना स्वतः बन्द भएको विद्यालय हुन लागेको संस्था थियो । लम्की बहुमुखी क्याम्पसको मातहतमा आएकोले अब पुनर्जीवित भएको तर्क छ । नयाँ व्यवस्थापनले विद्यालयलाई दीर्घकालीन रूपमा सबल बनाउनेछ, जसले सार्वजनिक शिक्षामा नयाँ ऊर्जा थप्नेछ।
अबको चुनौती भनेको—पुनर्जीवित विद्यालयलाई स्थायित्वसहित गुणस्तरीय बनाउन सक्नु हो ।
यदि व्यवस्थापन पारदर्शी र योजनाबद्ध रह्यो भने लम्की मावि फेरि पनि “आदर्श” बन्ने सम्भावना बलियो रहेको सरोकारवालको भनाइ रहेको छ ।