समाचार
उज्यालोद्वारा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग
प्रशासक | २०८३ भाद्र १७ गते १८:४८ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ १०
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलालीको लम्कीचुहा नगरपालिका–१, रहेको उज्यालो शिक्षा सदन माध्यमिक विद्यालयले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयले शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विद्यालयले बाढीबाट विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको जनाएको छ ।
विद्यालयका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति विद्यालय परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ ।
विद्यालयले बाढी तथा प्राकृतिक विपत्तिबाट घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनस्र्थापना तथा सामान्य जनजीवनमा छिटो फर्किने वातावरण निर्माणको कामनासमेत गरेको छ ।
विद्यालयले आफूले गरेको सहयोगलाई विपत्तिमा परेका नागरिकप्रतिको मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावनाको अभिव्यक्ति भएको जनाएको छ । विपत्तिको समयमा सहयोग नै सबैभन्दा ठूलो मानवीय धर्म भएकाले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने विद्यालयको भनाइ छ ।
विद्यालयले देश तथा विदेशमा रहेका नेपाली, संघ–संस्था, शैक्षिक संस्था, व्यवसायी, सामाजिक संघ–संगठन तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नसमेत अपिल गरेको छ ।
विद्यालयका तर्फबाट धीरज बहादुर खत्रीले जारी गरेको विज्ञप्तिमा विपत्तिको समयमा सबैको सामूहिक सहयोग र सहकार्यबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ ।