भोटेकोशी बाढीपीडितका लागि सनराइज माविको ५१ हजार सहयोग
प्रशासक | २०८३ भाद्र १७ गते १०:५८ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ १७
कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियाँस्थित द सनराइज माध्यमिक विद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार ८८८ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालय प्रशासन, शिक्षक कर्मचारी तथा विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयले पीडित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो ।
विद्यालयका संरक्षक तथा व्यवस्थापक सरोजकुमार शाहले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु विद्यालयको सामाजिक तथा मानवीय दायित्व भएको बताए ।
‘देशका विभिन्न जिल्लामा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको खबरले हामीलाई पनि दुःखी बनाएको छ । यस्तो अवस्थामा पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो मानवीय दायित्व हो,’ शाहले भने, ‘विद्यालय प्रशासन, शिक्षक कर्मचारी र विद्यार्थीहरूको स्वेच्छिक सहभागितामा संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ । रकम सानो भए पनि यसले विपत्तिमा परेका नागरिकप्रतिको हाम्रो ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई प्रतिनिधित्व गर्छ ।’
विद्यालयका प्रधानाध्यापक अजय मल्लले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको अभ्यास गराउने उद्देश्यले पनि सहयोग अभियानमा विद्यालय परिवारलाई सहभागी गराइएको बताए ।
‘विद्यालय भनेको पढाइ हुने ठाउँ मात्र होइन, समाजप्रतिको जिम्मेवारी सिकाउने संस्था पनि हो । विपत्तिमा परेका नागरिकको पीडालाई आफ्नै पीडाका रूपमा बुझ्दै सहयोग गर्नुपर्छ भन्ने सन्देश विद्यार्थीमा पुगोस् भन्ने उद्देश्यले स्वेच्छिक रूपमा रकम संकलन गरेका हौँ,’ प्रधानाध्यापक मल्लले भने, ‘संकटको समयमा एकअर्कालाई साथ दिन सक्यौँ भने त्यसले राष्ट्रिय एकता र मानवीय भावनालाई बलियो बनाउँछ ।’
विद्यालयले बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना तथा सामान्य जनजीवनमा फर्कने वातावरण निर्माणको कामना गरेको छ ।
विद्यालयले विपत्तिको यस घडीमा देश विदेशमा रहेका नेपाली, व्यक्ति, संघसंस्था, शैक्षिक संस्था, व्यवसायी तथा सामाजिक संघसंगठनलगायत सबैलाई आफ्नो सामथ्र्यअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिलसमेत गरेको छ ।
‘विपत्तिमा एकजुट बनौँ, पीडितलाई साथ दिऔँ र मानवीय दायित्व पूरा गरौँ’ भन्ने भावनाका साथ विद्यालयले राहत, उद्धार र पुनःस्थापनाका लागि सामूहिक सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।
















