लम्कीमा सहकारीका चुनौती र सम्भावनाबारे अन्तरक्रिया
प्रशासक | २०८३ भाद्र ९ गते १४:५५ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ ९
कैलालीको लम्कीमा सहकारी क्षेत्रका वर्तमान चुनौती, सम्भावना र आगामी मार्गदर्शनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा मंगलबार किसानको सभा हलमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोख्रेलसहित स्थानीय सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहकारीको मूल मर्म र उद्देश्य, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको विचलन, विद्यमान समस्या तथा चुनौती र आगामी दिनमा सहकारीलाई थप व्यवस्थित र सुदृढ बनाउने रणनीतिका विषयमा सहभागीबीच छलफल भएको थियो ।
अन्तरक्रियामा सहभागी जिल्ला बचत तथा ऋण सहकारी संघ कैलालीका अध्यक्ष सुरेन्द्र बडुवाल, कर्पोरेट म्यानेजर्स क्लब कैलालीका अध्यक्ष लाल बहादुर भण्डारी, किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाह, मनिष न्यौपाने, पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र लम्की बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एकेन्द्र जैसीले सहकारी क्षेत्रका समस्या र जिज्ञासा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष पोख्रेलसमक्ष राखेका थिए ।
सहभागीहरूले उपत्यकामा रहेका सीमित सहकारीमा देखिएका समस्यालाई आधार बनाएर देशभरका सहकारीलाई एउटै दृष्टिकोणबाट हेर्ने गरी कानुन निर्माण गर्नु न्यायोचित नहुने धारणा राखेका थिए । सहकारीले बचत फिर्ता गर्नुपर्ने विषयमा आवाज उठ्ने गरे पनि ऋण फिर्ता गर्ने दायित्वका विषयमा अपेक्षाकृत कम चर्चा हुने गरेको भन्दै यसतर्फ महासंघले स्पष्ट र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
सहकारीको विकाससँगै संस्थागत सुदृढीकरणमा पनि महासंघले आफ्नो भूमिका थप स्पष्ट बनाउनुपर्ने र सहकारीलाई राज्यले अन्य आर्थिक क्षेत्रसरह समान दृष्टिकोणबाट हेर्ने वातावरण निर्माणका लागि नीतिगत तहमा पहल गर्नुपर्ने सहभागीहरूले बताएका थिए । सहकारी क्षेत्रमा देखिएका समस्यालाई एउटै ढाँचामा हेर्नुभन्दा संस्थाको प्रकृति, अवस्था र स्थानीय परिवेशका आधारमा समाधान खोजिनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए ।
कार्यक्रममा उठेका जिज्ञासा र विषयवस्तुमाथि धारणा राख्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोख्रेलले नेपालको सहकारी अभियानले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको बताए । सामूहिक पहल र सहकारीको मूल दर्शनकै आधारमा नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको एक खम्बाका रूपमा सहकारीलाई स्वीकार गरेको उनले उल्लेख गरे ।
पोख्रेलका अनुसार सहकारी अभियानमा ५६ प्रतिशत महिला जोडिनु पनि सहकारीको दर्शन, समावेशिता र सामूहिक सहभागिताको महत्वपूर्ण उपलब्धि हो । सहकारीलाई आर्थिक गतिविधिसँग मात्र जोडेर हेर्न नहुने भन्दै उनले सहकारी अभियानले समुदायमा आर्थिक तथा सामाजिक रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
केही संस्थामा देखिएका समस्या र दुर्घटनाका कारण समग्र सहकारी क्षेत्र नै समस्यामा परेको जस्तो देखिए पनि अधिकांश समस्या समाधानउन्मुख रहेको अध्यक्ष पोख्रेलले बताए । सहकारी क्षेत्रको हकहित र सुधारका लागि महासंघले सरकारसँग नीतिगत तहमा निरन्तर छलफल र समन्वय गरिरहेको जानकारी दिँदै उनले सहकारीलाई थप व्यवस्थित, जिम्मेवार र विश्वासिलो बनाउने दिशामा महासंघ सक्रिय रहेको बताए ।
















