समाचार
भोटेकोशी बाढीपीडितका लागि लम्की वितरक संघको १ लाख २१ हजार सहयोग
प्रशासक | २०८३ भाद्र १७ गते १०:४६ मा प्रकाशित
अक्षर साथी
लम्की, भदौ १७
कैलालीको लम्कीमा रहेको लम्की वितरक संघले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । मंगलवार संघले बाढीपीडितको सहयोगार्थ १ लाख २१ हजार १२३ रुपैयाँ उपलब्ध गराएको हो ।
२०७५ सालमा स्थापना भएको लम्की वितरक संघले संकलन गरेको उक्त रकम वितरक महासंघमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संघका कार्यवाहक अध्यक्ष तिलक प्रसाद खनालले बताए ।
‘भोटेकोशी नदीमा आएको बाढीले त्यस क्षेत्रका नागरिकसहित समग्र देशलाई नै पीडा दिएको छ । यस्तो अवस्थामा हामी दर्शक बनेर मात्रै बस्न सक्दैनौँ । पीडामा मलम लगाउनु हाम्रो पनि दायित्व हो भन्ने उद्देश्यले लम्की वितरक संघमा आबद्ध व्यवसायीबीच छलफल गरेर राहत रकम उपलब्ध गराउने निर्णय गरेका हौँ,’ कार्यवाहक अध्यक्ष खनालले भने, ‘सोही निर्णयअनुसार आज (मंगलबार) नेपाल वितरक संघका कोषाध्यक्ष मदनराज न्यौपानेलाई चेक हस्तान्तरण गरेका छौँ । नेपाल वितरक महासंघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ ।’
लम्कीदेखि चौमालासम्मका वितरक व्यवसायीहरूको साझा संगठनका रूपमा रहेको लम्की वितरक संघले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका विभिन्न काम गर्दै आएको महासचिव धनिराम खनालले बताए । उनका अनुसार संघले विपद्का समयमा राहत सहयोग गर्नुका साथै वृक्षरोपण, सरसफाइ, रक्तदानलगायतका सामाजिक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ ।
‘लम्की वितरक संघले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । वृक्षरोपण, सरसफाइ, रक्तदानदेखि जाजरकोट भूकम्पजस्ता विपत्तिको समयमा समेत हामीले आफ्नो तर्फबाट योगदान दिँदै आएका छौँ,’ महासचिव खनालले भने, ‘अहिले संघमा ६३ जना वितरक व्यवसायी जोडिनुभएको छ । हामीले आफ्नो खर्च कटाएर भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न काम गर्दै आइरहेका छौँ ।’
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले संघले १ लाख २१ हजार १२३ रुपैयाँ रकम निर्धारण गरेको हो । संघका अनुसार सहयोग रकमको अन्तिम अंक १० आउने गरी रकम निर्धारण गरिएको थियो ।