लम्की महोत्सवको आयव्याय : नगद ८ लाख बचत पाउन बाँकी १५ लाख
प्रशासक | २०८२ पौस ८ गते १६:४१ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस ८
कैलालीको लम्कीचुहामा मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन भएको लम्की मोहत्सव–२०८२ को आय व्याय सार्वजनिक गरिएको छ ।
मंगलबार लम्कीस्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा लम्कीचुहा उद्योग वाणिज्य संघले महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । महोत्सवबाट संघले ६८ लाख ८८ हजार ६९० रुपैयाँ आम्दानी गरेको छ ।
यसमध्ये ४५ लाख ५७ हजार ६९० रुपैयाँ खर्च भएको छ । बाँकी २३ लाख ९ हजार रुपैयाँ मध्ये ८ लाख १ हजार रुपैयाँ बैंकमा नगद मौज्दात रहेको छ भने १५ लाख ८ हजार रुपैयाँ संघले पाउन बाँकी रहेको जानकारी दिइएको छ ।
आय व्याय लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईँले प्रस्तुत गरेका थिए ।
अध्यक्ष चौलागाईँका अनुसार लम्की महोत्सव–२०८२ बाट ६८ लाख ८८ हजार ६९० रुपैयाँको आम्दानी भएको थियो । जसमा टिकट बिक्रीबाट ३६ लाख ७३ हजार ६९० रुपैयाँ, ब्यानर प्रयोजनबाट १ लाख ७० हजार, सह प्रयोजकबाट १ लाख ८० हजार, प्रयोजकबाट २ लाख ९५ हजार, मुख्य प्रवद्र्धक÷ प्रवद्र्धकबाट ३ लाख, मुख्य प्रयोजक र प्रयोजकबाट १ लाख ५५ हजार, स्टल भाडाबाट ५ लाख, सिजनल टिकटबाट १५ हजार, रमाईलो मेलाबाट १ लाख १० हजार, थारु गाउँबाट २ लाख र फिल्ड आमदानीबाट ३ लाख गरी जम्मा ६६ लाख ८८ हजार ६९० रुपैयाँ आम्दानी भएको छ ।
त्यस्तै खर्चतर्फ टेन्ट साउण्डमा ४ लाख ५० हजार, आन्तरीक सुरक्षामा २ लाख ३६ हजार ३६०, कलाकार १५ लाख ६८ हजार, प्लेन टिकटमा २ लाख ६२ हजार, स्थानीय कलाकारको आवास भोजन÷बाध्यवादनमा २ लाख २३ हजार, टिकट विक्रेतालाई ६६ हजार, यातायातमा १ लाख ९८ हजार, प्रचार प्रसार तथा मिडियमा २ लाख ८८ हजार, भोजन तथा आवास २ लाख ४० हजार, छपाई÷मायाको चिनो÷प्रमाणपत्र फ्रेममा ४७ हजार ७५०, जग्गा भाडा तथा फिल्ड मर्मतमा १ हजार १० हजार १८५, विद्युत खानेपानीमा ७१ हजार ५ सय, सचिवालय कर्मचारी ९४ हजार ५ सय, झाकी÷छायांकन ८८ हजार, मसलन्द स्टेशनरीमा २६ हजार ८ सय, समान खरिद कार्यालय व्यवस्थापनमा १ लाख ६८ हजार, मञ्च तथा सचिवालय सजावटमा ४५ हजार, विद्यालय प्रतियोगितामा ६३ हजार ३ सय, खाना नास्ता सुरक्षामा ९७ हजार ६ सय १४, पत्रकार सम्मेलनमा १६ हजार ५ सय, अतिथि सत्कारमा १ लाख ८५ हजार रहेको छ भने बैंक मौज्दात ८ लाख १ हजार र पाउनु बाँकी १५ लाख ८ हजार रुपैयाँ रहेको छ भने अन्तिम विविधमा ५० हजार ६ सय ८१ रुपैयाँ रहेको अध्यक्ष चौलागाईँले जानकारी दिए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै लम्कीचुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकालले देशमा जारी विषम अवस्थामा बजारलाई थप चलायमान बनाउन र नयाँ बजारको खोजीमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यस्तै साधारण टिकटको मुल्य रु.१०० रुपैयाँ रहेको महोत्सवलाई ६० हजार दर्शकले अवलोकन गरेको जानकारी दिदै अध्यक्ष पदमराज चौलागाईँले महोत्सवलाई सफलतापूर्व सम्पन्न गर्नमा भूमिका खेल्नुभएका सबै प्रति आभार प्रकट गरेका छन् ।
















