समाचार
नयाँ सरकार कहिले बन्छ ?
प्रशासक | २०८२ फाल्गुन २६ गते ०८:५३ मा प्रकाशित
कैलाली डेस्क
लम्की, फागुन २६
प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले चैतको पहिलो साताभित्र प्रत्यक्ष र समानुपातिक दुवैतर्फको पूर्ण परिणाम घोषणा गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ । हालसम्म प्राप्त जानकारीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको छ भने समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको देखिन्छ । बहुमत सरकार गठनका लागि कम्तीमा १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
मतगणना मंगलबारसम्म सकिने लक्ष्य राखिएको छ । प्रतिवेदन बुझिसकेपछि सांसदहरूको शपथ ग्रहण, संसदीय दलको नेता चयन तथा राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्तिको संवैधानिक प्रक्रिया सुरु हुनेछ । राजनीतिक दलहरूबीच गठबन्धन तथा समर्थनको छलफल तीव्र रूपमा भइरहेको छ । रास्वपाको बलियो प्रदर्शनले यसपटक सरकार गठनमा नयाँ समीकरण बन्न सक्ने सम्भावना बढाएको छ ।
अघिल्लो निर्वाचनमा जस्तै लामो समयसम्म सरकार बन्न ढिलाइ हुने अवस्था यसपालि नदेखिने विश्लेषकहरूको भनाइ छ । मत परिणाम छिटो सार्वजनिक हुने र दलहरू तयारी अवस्थामा रहेकाले दुई साताभित्रै नयाँ सरकार बन्ने अनुमान गरिएको छ । यसले राजनीतिक स्थिरता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति कार्यालय र निर्वाचन आयोगले पनि प्रक्रियालाई छिटो र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन् ।