समाचार
लम्कीचुहा नगरपालिकाद्वारा निःशुल्क तालीम सञ्चालन गरिने
प्रशासक | २०८२ चैत्र ४ गते ०९:१३ मा प्रकाशित
कैलाली डेस्क
लम्की, चैत ४
लम्कीचुहा नगरपालिकाले निःशुल्क व्यावसायिक तथा सीप विकास तालीम सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको कार्यालयको सहकार्यमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीमार्फत ४५ दिने हाते होजियारी तालीम सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार उक्त तालिममा २० जना प्रशिक्षार्थीलाई सहभागी गराइनेछ। तालिममा नेपाली नागरिक, दलित, जनजाति, महिला, उत्पीडित, जनआन्दोलनका घाइते तथा शहीद परिवार, मुक्त कमैया, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।
तालीमका लागि आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। आवेदकको उमेर १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने र न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने उल्लेख गरिएको छ ।

आवेदन दिने अन्तिम मिति यही चैत १० गते तोकिएको छ भने छनोट प्रक्रिया अन्तर्वार्तामार्फत गरिनेछ। अन्तर्वार्ताको मिति पछि जानकारी गराइने नगरपालिकाले जनाएको छ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइज फोटो अनिवार्य गरिएको छ । तालीम लम्कीचुहा नगरपालिकाको भवन वा तोकिएको स्थानमा सञ्चालन गरिनेछ ।