समाचार
सहकारी क्षेत्र सुदृढीकरणका लागि नीतिगत हस्तक्षेप आवश्यक : किसान सहकारी
प्रशासक | २०८३ बैसाख १३ गते १०:५२ मा प्रकाशित
अक्षर साथी
लम्की, बैशाख १२
सहकारी क्षेत्रप्रति घट्दो जनविश्वास र बढ्दो संशय अन्त्य गर्दै समग्र सहकारी अभियानलाई पुनः सुदृढ बनाउन सरकारसँग स्पष्ट नीतिगत हस्तक्षेपको माग गरिएको छ ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य केपी खनाल र प्रेम बहादुर बयकलाई शुक्रबार आफ्नो सभाहलमा स्वागत तथा बधाई ज्ञापन गर्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाले ध्यानाकर्षण पत्र मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हो ।
किसान बहुउद्देश्यीय सहकारीका महा प्रबन्धक डम्बर बहादुर शाहका अनुासर पत्रमा बहुउद्देश्यीय सहकारी संस्थाहरूले वित्तीय कारोबारसँगै कृषि, उपभोक्ता सेवा र सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै तिनमा देखिएका कानुनी तथा व्यावहारिक जटिलता समाधान गर्न माग गरिएको छ ।
‘सहकारी क्षेत्रका लागि प्रमुख रूपमा दोहोरो तथा बहु–नियमन अन्त्य गर्दै सहकारी विभाग, प्रदेश र स्थानीय तहबीच कार्यक्षेत्र स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यस्तै, विपन्न समुदायलाई लक्षित बिना–धितो लघु कर्जाको सीमा लघुवित्त संस्थासरह बनाउनुपर्ने माग गरिएको हो ।’ महा प्रबन्धक शाहले जानकारी दिए ।
त्यसैगरी सहकारीमैत्री कर तथा राजस्व नीति ल्याउन, सहकारी उत्पादनको ब्रान्डिङ तथा बौद्धिक सम्पत्ति अधिकारमा सहुलियत दिन, र सक्षम सहकारीलाई शाखा विस्तारमा सहजता प्रदान गर्नुपर्ने सुझाव दिइएको छ ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्य केपी खनालले किसान सहकारीले सहकारी क्षेत्रमा पुगाएको योगदानको विषयमा प्रशंसा गर्दै कानुनी तरिकाले गर्न सकिने कुरा आफ्नो सहयोग हुने बताए ।
त्यस्तै प्रतिनिधि सभा सदस्य प्रेम बहादुर बयकले गरिबी निवारण र वित्तिय साक्षरतातर्फ सहकारीले खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिन सहकारीको विकासमा आफ्नो भूमिका हुने बताए ।