लम्की खानेपानीको ८ औँ वार्षिक साधारण सभा सम्पन्न
प्रशासक | २०८३ बैसाख २४ गते ०९:२८ मा प्रकाशित
अक्षर साथी
लम्की, बैशाख २४
कैलालीको लम्कीमा रहेको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको कार्यालयमा आयोजना गरिएको साधारण सभा विभिन्न निर्णय पारित गर्दै ८ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कमल बहादुर शाहले लम्की खानेपानीलाई यो स्थानसम्म पुर्याएकोमा कार्य समितिलाई धन्यवाद दिँदै खानेपानी तथा भौतिक संरचनाको सन्दर्भमा प्रदेश सरकारले कैलाली क्षेत्र नं. २ मा सर्वाधिक एक अर्ब बजेट विनियोजन गरिएको बताए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले लम्की खानेपानी संस्थालाई बृहत् बनाउन लम्कीचुहा नगरपालिकाको भूमिका रहेको बताउँदै यसलाई थप बलियो उपभोक्तामुखी बनाउँदै लैजानुपर्ने बताइन् ।
त्यसैगरी संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेले आफ्नो भनाइ राख्दै ०७२ सालमा निर्वाचित भएको कार्यसमितिलाई ठूलो जिम्मेवारी दिएका उपभोक्ताका मागलाई सम्बोधन गर्न इमानदार र लगनशील बनिरहँदै कर्णालीको पानी योजनाको ९० प्रतिशत काम सम्पन्न भएको बताए ।
कार्य समितिले समयमै साधारण सभा गर्न नसकिएकोमा क्षमाप्रार्थी रहेको उल्लेख गर्दै अध्यक्ष चलाउनेले अब लम्की खानेपानी संस्था विभिन्न अवरोधलाई चिर्दै खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ उन्मुख भएको र यसमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति हार्दिक सम्मान समेत प्रकट गरेका थिए ।
यसैगरी संस्थाका उपाध्यक्ष शंकर बहादुर रावलले संस्थाको हालको अवस्थाबारे जानकारी दिँदै लम्कीचुहा वडा नं. १, २, ४ का ५ हजार ५ सय ७८ घरधुरीका ४५ हजार जनसंख्या लाभान्वित भइरहेको बताए ।
उपाध्यक्ष रावलले आयोजना सम्पन्न भएमा लम्कीचुहा–३ बल्चौरमा रहेको अत्याधुनिक ३ वटा फिल्टर प्लान्टबाट ३६ किलोमिटर पाइपलाइनमार्फत लम्कीचुहा वडा नं. १, २, ३, ४, ५ र ६ का करिब २० हजार घरधुरीलाई सफा, स्वच्छ र पर्याप्त खानेपानी वितरण गरिने बताए ।
संस्थाका कोषाध्यक्ष चन्द्र प्रसाद आचार्यले आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०८१/०८२ सम्मको लेखा परीक्षण प्रतिवेदन उपलब्ध गराएका थिए । जसअनुसार पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले कुल आम्दानी २ करोड ४९ लाख ३५ हजार १४४ रुपैयाँ गरेको थियो । जसबाट सञ्चालन खर्चमा ६२ लाख ८७ हजार ४७५, कर्मचारी खर्चमा ७४ लाख ८९ हजार ५२ रुपैयाँ, ब्याज खर्चमा १७ लाख ८२ हजार २३४, ह्रासकट्टी खर्चतर्फ ३६ लाख ८४ हजार ८४४ र कार्यालय सञ्चालन तथा अन्य खर्चमा ५२ लाख ३५ हजार ४६८ रुपैयाँ गरी जम्मा २ करोड ४४ लाख ७९ हजार ०७४ रुपैयाँ खर्च भएको छ । यसमा करअघिको नाफा ४ लाख ५६ हजार ६६ रुपैयाँमा आयकर १ लाख १४ हजार १६ रुपैयाँ घटाएर संस्थाको खुद नाफा ३ लाख ४२ हजार ४९ रुपैयाँ रहेको देखाइएको छ ।
















