समाचार
३०० गाई भिर बाट खसाल्ने को हुन? नालिबेली सहित ..
एजेन्सी | २०७६ भाद्र १७ गते १७:४६ मा प्रकाशित
काठमाडौं –सुर्खेतमा भएको गाई–गोरु मृत्यु प्रकरणमा गाई चुनाव चिन्ह भएको पार्टी रापप्राबाटै नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विजयी धवलशमशेर राणाको लापरबाही देखिएको छ
नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनमा लापरवाही गरेकै कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित कटकुवा वन क्षेत्रमा गाईगोरु मरेको अवस्थामा भेटिएको बताइएकाे छ ।
उपमहानगरपालिकाले छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्ने भन्दै दैलेख पठाउँदा बीचबाटोमै २५ गाईगोरु शुक्रबार मृत फेला परेका थिए ।
२९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । नेपालगञ्ज बजारमा छाडा रुपमा छाडिएका गाई–गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको बुझिएको छ ।
सो विषयमा नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाको प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् । तर नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलको गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको दाबी गरेका छन् ।
‘गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियौँ,’ पौडेलले भने । उनका अनुसार आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको थियोे ।
नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाइएको बताइएको छ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सुर्खेतको जङ्गलमा गाईगोरुको मृत्यु भएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको भन्दै यसबारे सुक्ष्म ढंगले छानबिन गरिनुपर्नेमा जोड दिए ।
नेपालगन्ज उपमहानगरपालिकामा आफ्नै पार्टीको नेतृत्व रहेको उल्लेख गर्दै उनले यो कसरी हुन पुग्यो भन्नेबारे पार्टीबाट आन्तरिक रुपमा पनि बुझ्ने काम भइरहेको बताए ।
‘पार्टी यसमा गम्भीर बनेको छ, नेपालगञ्जका मेयर धवलशमशेर राणा पार्टीको जिम्मेवार नेता र सम्मानित व्यक्तित्व हुनुहुन्छ । यो कसरी हुन पुग्यो भन्नेबारे उहाँले पनि छानबिन गरिरहनुभएको छ । दोषी जो कोही भएपनि कारबाहीमा ल्याइनुपर्छ भन्नेमा पार्टी दृढ छ।’ उनले भने ।