सुदुरपश्चिम प्रदेश
बत्ति नबल्दै ढल्न थाले पोल
कैलाली पोष्ट | २०७६ भाद्र २२ गते २२:०५ मा प्रकाशित
लोकु सिंह ठकुरी, भाद्र २२ सुखड,
कैलालीको घोडाघोडी नगरपालिकाका ४ वडा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका १÷१ वडा गरी ६ वटा वडामा हाल सम्म पनि बिद्युत बिस्तार हुन सकेको छैन । आर्थिक वर्ष २०६८÷०६९ मा सुखडमा रहेको घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्थाले बिद्युत लाईन बिस्तार गर्न भन्दै स्थानीयबाट रकम संकलन गरेको भएपनि हाल सम्म बिद्युत बिस्तार नहुदा त्यस क्षेत्रका स्थानीय अध्यारोमा बस्न बाध्य बनेका छन ।
बिद्युत बिस्तार हुनुको साटो धेरै ठाउँहरुमा रोपीएका बिद्युतका पोलहरु समेत ढल्न थालेका छन । बर्षातको पानीले जमिन गिलो बनाए पछि घोडाघोडीको वडा नम्बर ४ मा रोपीएका बिद्युत पोलहरु ढल्न थालेका छन । कम गहिराईमा पोल रोपीएकाले जमिन गिलो भई ढलेको स्थानीयवासीको भनाई छ । बिद्युत आउनुको साटो ठाउँ–ठाउँमा पोल ढलेको तथा तार चुडीएको अवस्था देख्दा झन निरासा पैदा हुने वडा नम्बर ४ का स्थानीय राम कृष्ण चौधरीले बताए । बिद्युत लाईन बिस्तारको जिम्मा लिएको सहकारी तथा स्थानी सरकार र सरकारका प्रतिनिधीहरु समेत जनताको समस्याको बारेमा बेखवर बनेको उनको दुखेसो छ । उसो त तिब्र गतिमा बिद्युत बिस्तारको माग गर्दै बेला बखत स्थानीयवासीहरु आन्दोलनमा उत्रिने गरेका छन । सहकारीले स्थानीय संग पटक–पटक लाईन बिस्तारको सम्झौता गरे पनि काम भने गर्न नसकेको स्थानीयको भनाई छ ।
धेरै पटक गरिएको सम्झौता अनुसार काम गर्न नखोजेको भन्दै अव यस सहकारीबाट बिद्युत लाईन नै बिस्तार नगर्ने र सहकारीको सेवा क्षेत्र खारिजीको माग गर्दै स्थानीयवासीहरुले सहकारी, प्रशासन, स्थानीय सरकार लगाएतका सरोकारवालालाई ज्ञापन पत्र समेत बुझाएका छन । यता सहकारीका अध्यक्ष भिम बहादुर बडुवालले भने समुदायका तिब्र रुपमा बिद्युत बिस्तारको काम भईरहेको र आउदो दशैं सम्म घोडाघोडीका वडाहरुमा बिद्युत बिस्तार गरी सक्ने दाबि गर्दै धैर्य गरेर बस्न आग्रह समेत गरेका छन ।