सीमा अतिक्रमणका विरुद्ध उत्रियो अक्षर साहित्य प्रतिष्ठान
कैलाली पोष्ट | २०७६ कार्तिक २५ गते १५:१५ मा प्रकाशित
देश अतिक्रमणका विरुद्ध स्रष्टाहरुले सनिबार लम्कीमा अक्षर आन्दोलन गरेकाछन् । अक्षर साहित्य प्रतिष्ठान लम्कीको आयोजनामा भारतले नेपालको लिपुलेक आफ्नो देशको नक्सामा राखेको भन्दै हातमा राष्ट्रिय झण्डा बोकेर शिरमा कालो पट्टी बाँधेर भारतका विरुद्ध स्रष्टाहरु रचना सहित आन्दोलनमा उत्रेकाहुन् ।
अन्याय र अत्याचारका विरुद्धमा बोल्ने स्रष्टाहरुले देशमा संकट परेको बेला चुप लागेर बस्न नमिल्ने अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले बताए । देशमा अतिक्रमण भएको छ । हाम्रो राष्ट्रियता माथि भारतले हस्तक्षेप गरेको छ । देशलाई संकट परेको बेलामा देशको रक्षा गर्न स्रष्टाहरुले आन्दोदन गर्नु परेको अविरल बताउँछन । देश रहेपछि मात्र हामी रहन्छौं देश भन्दा ठूलो कोही हुनै सक्दैन् । भारतले पटक पटक अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता गर्नुपर्छ । जनताको आन्दोलनको बलमा नेपाल सरकारले भारतले कब्जा गरेको लिपुलेक सहितको भूमि प्राप्तिको लागि भूमिका खेल्नुपर्ने भन्दै भारतले नक्सा नसच्याए सम्म स्रष्टाहरुको आन्दोदन जारी रहने अविरलले बताए ।
स्रष्टाहरुले रचना मार्फत भारतको दादागिरीको चर्को विरोध गरेका थिए । देशका निम्ती मर्न तयार छौं तर भारतको अन्याय र अत्याचार नस्वीकार्ने बताए । भारतले हस्तक्षेपकारी भूमिका बन्द गर्नुपर्छ । छिमेकीले छिमेकी जस्तै ब्यवहार गर्ने हो दबाउने होईन भन्दै स्रष्टाहरु रचना मार्फत आर्कोशित बनेका थिए । कालापानी,सुस्ता, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भन्दै देशका निम्ती रगत बगाउन तयार छौं नेपालको भूमि अतिक्रमण हुन नदिनेमा स्रष्टाहरुले जोड दिए ।
स्रष्टा बिपि खनालले नेपालै हाम्र्रो रहेन भने के हामी नेपाली, हिडौं सीमानाको रक्षार्थ खकुरी उचाली भन्ने मुक्तकका हरफ सुनाई रहदा दर्शकहरुले हाम्रो नेपाल जिन्दाबाद भनेर नारा लगाएका थिए । जन गायक बिस्ना बिसी सपनाले “भारतले चँुडी लैगो कठै मेरा देश, उठौं अब नेपाली हो बरु मर्नै बेश” भन्ने देउडा गीत गाउँदा आन्दोलनका सहभागीहरुले भारतीय बिस्तारवाद हाम्रो जमिन फिर्ता गर भन्दै आवाज उठाएका थिए । गीतमा भने जस्तै देशका लागि मर्न तयार हुनुपर्ने आन्दोलनका सहभागी हरीचन्द्र चँदाराले बताए । साह्त्यिकारको आन्दोलन फरक रहेको र आफूलाई मन परेको उनले बताए ।
करिब ५० जना स्रष्टाहरुले देउडा गीत, गजल, कविता मुक्तक मार्फत भारतको बिरोध गरेका थिए । स्रष्टाहरुले देशको सीमा बेचिएको हो या भारतले अतिक्रमण गरेको हो आधिकारिक रुपमा जनताले जान्न पाउनुपर्ने विचार राखेका थिए ।
जन गायक बिस्ना बिसी सपना, स्रष्टा रोशन बोहरा, आर्त अकूलिन, धनराज अविरल, बिपी खनाल, तुल्सी संज्याल,मदन प्यासी, एच डी अविरल, जेनी बोहरा, हर्क बिक, रमेश आँशु, कुष्ण उपाध्याय हिरा खनाल, लगायतका स्रष्टाहरुले रचना मार्फत भारतको बिरोध गरेको थिए । देशप्रेमी आन्दोलनमा कुष्ण थापा, दल बहादुर रावल, कृष्ण बटाला, टेकराज कठायत र तिलक प्रसाद गड्तौलालले मन्तब्य राख्दै भारतीय विस्तारवादले नेपालको भूमि जवरजस्ती कब्जा गर्न खाजेको बताए ।