समाचार
लम्कीचुहाको नीति तथा कार्यक्रम हाम्रै पालाकै : पूर्व नगर प्रमुख बजगाई
कैलाली संवाददाता | २०७९ आषाढ़ ११ गते १३:४३ मा प्रकाशित
अक्षर सारथी
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार लम्कीचुहा नगरपालिकाको नबौँ नगर सभामा नगर प्रमुख सुशीला शाहीको अनुमतिमा नगर सभा सदस्य तथा वडा नं ३ का वडा अध्यक्ष लब बहादुर शाहीले प्रस्तुत गरेका हुन् । नगरपालिकाले सबल स्थानीय सरकार: समुन्नत, सुखी र समृद्ध नगर नारा लिएको छ ।
तर, लम्कीचुहाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई पूर्व नगर नगर प्रमुख महादेव बजगाईले आफ्नो पालाका कार्यक्रमहरुको निरन्तरता भएको प्रक्रिया दिएका छन् ।‘नगर पालिकाले आज (शुक्रबार)सार्वजनिक गरेको नीति कार्यक्रममा अधिकांश मेरो पालाका नीति तथा कार्यक्रम हुन् । कृषि क्षेत्रका, पर्यटन तर्फका, शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रका अधिकांश कार्यक्रमहरु मेरो पाला हामीले ल्याएका कार्यक्रम हुन्, पूर्व नगर प्रमुख बजगाईले भने, ‘नीति तथा कार्यक्रमबाट नगरपालिकाले के नीति लिन खोजेको स्पष्ट भएको छैन् । गठबन्धले चुनावका बेला सार्वजनिक गरेको घोषणा पत्रको प्रथामिकतामा परेका बुँदा अहिलेको नीति तथा कार्यक्रममा हराएका छन् ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का लम्कीचुहा नगर अध्यक्ष लाल बहादुर कुमालले महादेव बजगाईकै नीति तथा कार्यक्रम हुबहु नक्कल गरिएको बताए । ‘महादेव बजगाईले सर्वपक्षिय तथा विज्ञ सहितको टोली राखेर बनाएका नीति तथा कार्यक्रमहरु नक्कल गरिएको छ, नगर अध्यक्ष कुमालले भने, ‘नयाँ आउनु पर्ने नीति तथा कार्यक्रममा भने महादेव बजगाईकै नीति तथा कार्यक्रमहरुको नक्कल गरिएको छ ।’
तर, नेपाली कांग्रेसका नगर सभापति ईन्द्र कुवंरले भने अहिलेको नीति तथा कार्यक्रम सबै क्षेत्रलाई समेटेर आएको सन्तुलित नीति तथा कार्यक्रम भएको बताएका छन् । ‘दीगो विकासका लागि सबै क्षेत्रलाई समेटेर सन्तुलित नीति तथा कार्यक्रमहरु आएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा परिर्वतनकारी कार्यक्रमहरु रहेका छन्, सभापति कुवंरले भने, ‘पहिला सिधै अनुदानको व्यवस्था थियो अहिले उत्पादनको आधारमा अनुदानका कुराहरु आएका छन् । नीति तथा कार्यक्रममा छुट भएका कुराहरुलाई बजेटबाट सम्बोधन गरिने छ ।’