समाचार
लम्कीचुहाको नीति तथा कार्यक्रम : महादेवकै कपी–मओवादी केन्द्र
एजेन्सी | २०७९ आषाढ़ ११ गते १४:१४ मा प्रकाशित
अक्षर सारथी
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार लम्कीचुहा नगरपालिकाको नबौँ नगर सभामा नगर प्रमुख सुशीला शाहीको अनुमतिमा नगर सभा सदस्य तथा वडा नं ३ का वडा अध्यक्ष लब बहादुर शाहीले प्रस्तुत गरेका हुन् । नगरपालिकाले सबल स्थानीय सरकार : समुन्नत, सुखी र समृद्ध नगर नारा लिएको छ ।
तर, नेकपा माओवादी केन्द्र लम्कीचुहाले भने नगरपालिकाको नीति तथा कार्यक्रमलाई महादेव बजगाईकै कपी(नक्कल) भनेको छ ।
कैलाली पोष्टलाई लम्कीचुहाको नीति तथा कार्यक्रमको बारेमा प्रतिक्रिया दिदै नेकपा माओवादी केन्द्रका लम्कीचुहा नगर अध्यक्ष लाल बहादुर कुमालले महादेव बजगाईका कार्यक्रमका हुबहु नक्कल भएको बताएका हुन् । ‘महादेव बजगाईले सर्वपक्षिय तथा विज्ञ सहितको टोली राखेर बनाएका नीति तथा कार्यक्रमहरु नक्कल गरिएको छ, नगर अध्यक्ष कुमालले भने, ‘नयाँ आउनु पर्ने नीति तथा कार्यक्रममा भने महादेव बजगाईकै नीति तथा कार्यक्रमहरुको नक्कल गरिएको छ ।’
तर, नेपाली कांग्रेसका नगर सभापति ईन्द्र कुवँरले भने अहिलेको नीति तथा कार्यक्रम सबै क्षेत्रलाई समेटेर आएको सन्तुलित नीति तथा कार्यक्रम भएको बताएका छन् । ‘दीगो विकासका लागि सबै क्षेत्रलाई समेटेर सन्तुलित नीति तथा कार्यक्रमहरु आएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा परिर्वतनकारी कार्यक्रमहरु रहेका छन्, सभापति कुवंरले भने, ‘पहिला सिधै अनुदानको व्यवस्था थियो अहिले उत्पादनको आधारमा अनुदानका कुराहरु आएका छन् । नीति तथा कार्यक्रममा छुट भएका कुराहरुलाई बजेटबाट सम्बोधन गरिने छ ।’
नगर प्रमुख सुशीला शाही सत्तारुढ दल नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी दलको संयुक्त गठबन्धनबाट नगर प्रमुखमा विजयी भएकी हुन् ।