लम्कीचुहाको नीति तथा कार्यक्रम : ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार देखि एक वर्षमा हातमा लाल पुर्जा सम्म
एजेन्सी | २०७९ आषाढ़ १० गते १६:२३ मा प्रकाशित
अक्षर सारथी
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार लम्कीचुहा नगरपालिकाको नबौँ नगर सभामा नगर प्रमुख सुशीला शाहीको अनुमतिमा नगर सभा सदस्य तथा वडा नं ३ का वडा अध्यक्ष लब बहादुर शाहीले प्रस्तुत गरेका हुन् । नगरपालिकाले सबल स्थानीय सरकार : समुन्नत, सुखी र समृद्ध नगर नारा लिएको छ ।
लम्कीचुहा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार देखि एक वर्षमा लालपूर्जा वितरण सम्मका कार्यक्रम रहेका छन् । नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा ‘ ज्येष्ठ नागरिक व्यक्तिलाई उपचारमा प्राथमिकता दिई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।’ जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार ‘‘जेष्ठ नागरिक’’ भन्नाले ६० वर्षको उमेर पूरा गरेको नेपाली नागरिकलाई सम्झनुपर्ने उल्लेख गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार अब लम्कीचुहामा जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य उपचारको सेवा पाउने भएका हुन् । त्यस्तै लगत सङ्कलनको काम सम्पन्न भएर रेखांकनको काम भइरहेको भूमिहीनलाई एक वर्षमा लालपूर्जा वितरण गर्ने नगरपालिकाको नीति रहेको छ । ‘स्थानीय सरकार जनताको साथमा एक वर्ष भित्र लाल पुर्जा हातमा नारालाई सार्थक बनाउन भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न लगत संकलन, प्रमाणीकरण, जग्गा नापी र पूर्जा वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गरिनेछ ।’ भनिएको छ ।
यसैगरी कृषि तर्फ एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यवसायी तरकारी, निजी सार्वजनिक साझेदारीमा कृषि थोक बजारको स्थापना, निजी क्षेत्रको साझेदारीमा आधुनिक वधशाला निर्माण, कृषि राहत कोषको स्थापना, कृषिमा अनुदान दिने लगायतको नीति रहेको छ । त्ययस्तै पर्यटन तर्फमा नगर गौरवको योजनाको रुपमा चिसापानी पुलमा विद्युतीय सजावट र पानीको फोहोरा सहितको बगैचा, ,चिसापानी, राजकाँडा, आमपानी, ढकने, बल्चौर, ग्याङ्टीफाँटा, रिठाई ताल र मोहनलाल नगर पार्कलाई जोडेर पर्यटन सर्किट निर्माण गरी पूर्वाधार विकास र प्रवर्द्धनलाई जोड दिने, नगर पर्यटन विकास समितिको गठन लगायतका कार्यक्रमहरु रहेका छन् । हेर्नुहोस् नीति तथा कार्यक्रम (पूर्णपाठ)
लम्कीचुहा नगरपालिका कैलाली
लम्कीचुहा नगरपालिकाको नवौँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम
नगरसभाका उपाध्यक्षज्यू,
नगरसभाका सम्पूर्ण नवनिर्वाचित सदस्यज्यूहरु, उपस्थित अतिथिज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरु, नगरवासी आमा-बुबा, दिदीबहिनी तथा दाजुभाइहरु, उपस्थित महानुभावहरु तथा पत्रकार मित्रहरु,
- संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् प्राप्त उपलब्धिका रुपमा २०७९ वैशाख ३० गते निर्वाचन सम्पन्न भई दोस्रो स्थानीय सरकार गठन भए पश्चात् यस लम्कीचुहा नगरपालिकाको नवौँ नगरसभा सञ्चालन गर्न र आ. व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न यहाँहरु सामु नगरसभाको अध्यक्षको हैसियतले उपस्थित भएकी छु । म यस गरिमामय सभामा लम्कीचुहा नगरवासी सम्पूर्ण आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरुको अमूल्य अभिमतबाट निर्वाचित भएर आउनुभएका नगरसभाका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाइ दिन चाहन्छु र सम्पूर्ण नगरवासी जनताले आफ्ना प्रतिनिधिको रुपमा हामी माथि विश्वास प्रकट गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्न चाहन्छु । तदनुरुप हामी स्थानीय सरकार लोकतन्त्रको लाभलाई जनतासामु वितरण गर्दै राज्यको उपस्थितिलाई जनताको घरदैलोमा पुर्याउन सदैव प्रतिबद्ध रहने कुरा जानकारी गराउन चाहन्छु ।
- नेपालको सार्वभौम सत्ता, स्वाधीन भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र गणतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । तत् तत् आन्दोलनको नेतृत्व गर्नुहुने आदरणीय अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु र नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पुर्याउनुभएको उच्च योगदानको पुनः स्मरण गर्न चाहन्छु । यसै गरी विगतका सशस्त्र क्रान्तिका वेपत्ता नागरिक, घाइतेतथा अपाङ्ग योद्धाहरुप्रति सम्मान र सहानुभूति व्यक्त गर्न चाहन्छु ।
- विगतमा कोभिड-१९ जस्तो महामारीको जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा जनप्रतिनिधि लगायत राष्ट्रसेवकहरुको उच्च सम्मान गर्दछु र महामारीमा आफ्नो ज्यान गुमाउनु हुने लम्कीचुहा नगरवासी नागरिकहरुको स्मरण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु,
- नेपालको संविधान अनुसार स्थानीय सरकार स्थापनाको कालखण्डमा नीतिप्रवाह, विधिनिर्माण, नागरिक सेवा वितरणमा क्रियाशील हुँदै संघीयता र लोकतन्त्रलाई संस्थागत तथा मजबूत बनाउन योगदान पुर्याउने हाम्रा पूर्ववर्ती नगरप्रमुख लगायत जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
- २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा लम्कीचुहा नगरवासीले मप्रति व्यक्त गर्नुभएको अपार माया, ममता र विश्वासको म सदैव ऋणी रहने छु । नगरवासीले आफ्नो अमूल्य मतका माध्यमले जनाएको गौरवपूर्ण सौहार्दतालाई म सधैँ उच्च सम्मान गर्दै जनताको सेवामा सदैव प्रतिबद्ध रहने छु । अझ समग्रमा भन्नुपर्दा सम्पूर्ण नगरवासीको सुझबुझपूर्ण निर्णयबाट नगरप्रमुख र उपप्रमुख हामी दुबै महिलालाई नेतृत्व सुम्पनुभएकोमा सम्पूर्ण नगरवासीको लैङ्गिक समभावको उच्च कदर गर्दछु ।
- लम्कीचुहा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यस गरिमामय सभामा पेस गर्न पाउँदा म गौरवान्वित भएकी छु ।
- स्थानीय सरकार नेपाली जनताको त्याग, बलिदान र लामो सङ्घर्षको उच्चतम उपलब्धि हो । बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त र ऐतिहासिक संविधान सभाबाट जारी भएको नेपालको संविधान अनुसार स्थापित स्थानीय तहका अधिकारहरुलाई अभ्यास गर्ने क्रममा लम्कीचुहा नगरपालिका लोकतन्त्रका आधारभूत मूल्य र मान्यता, बहुलवादी खुला समाज, आवधिक निर्वाचन, मानव अधिकार, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसात् गर्दै विधिको शासनप्रति पूर्ण प्रतिबद्ध छ । लोकतन्त्रलाई सामाजिक जीवनपद्धतिको रुपमा स्थापित गर्ने कुरामा नगरपालिका प्रतिबद्ध रहनेछ । शासकीय व्यवस्थामा आएको यस परिवर्तनलाई लम्कीचुहा नगरवासी आम जनताले महसुस गर्न सकून् भन्ने कुरामा हामीहरु अत्यन्त सचेत छौँ ।
नगरको भौगोलिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक विविधतालाई आत्मसात् गर्दे सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न लम्कीचुहा नगरपालिका कटीबद्ध छ । हामीहरु स्थानीय आवश्यकताका आधारमा योजनाबद्ध रुपमा नगरको विकास हुनुपर्छ भन्ने कुरामा विश्वस्त छौँ । हामी मालिक होइनौँ, सेवक हौँ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, सेवामुखी र सहयोगी संयन्त्रबाट नगरको समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई हाम्रो मार्गदर्शनका रुपमा ग्रहण गर्दछौँ ।
- आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको लक्ष्य सबल स्थानीय सरकार : समुन्नत, सुखी र समृद्ध नगर रहेको छ । प्रस्तुत नीति तथा कार्यक्रम लम्कीचुहा नगरपालिकाको समृद्धि र सन्तुलित विकासलाई अघि बढाउन र सिंहदरवारको अधिकार जनताको बीचमा पुर्याउन कोशेढुङ्गा सावित हुने कुरामा विश्वस्त छु ।
अब म चालु आर्थिक वर्षमा सम्पादन भइरहेका क्रियाकलापको रुपरेखा बुँदागत रुपमा पेस गर्ने अनुमति चाहन्छु ।
चालु आ. व. २०७८/०७९ मा १ अर्ब १६ करोड २९ लाख ९२ हजार (१,१६,२९,९२,०००/००) को बजेट-
- यस नगरपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब १६ करोड २९ लाख ९२ हजारको बजेट सार्वजनिक गरिएकोमा यस आर्थिक वर्षको अन्तसम्म ६० प्रतिशत बजेट कार्यान्वयन हुने देखिएको छ ।
आगामी आर्थिक बर्ष २०७९/०८० को लागि १ अर्ब ४२ करोड १७ लाख ८० हजारको अनुमानित बजेट प्रस्तावितहुने भएको छ ।
- चालु आ. व. २०७८/०७९ मा२८ किलोमिटर सडक कालोपत्रे प्रस्ताव गरिएको छ ।
- लम्कीचुहा नगरपालिकाको वडा नं. १० मा निर्माणाधीन जनता असपतालको भवन निर्माण कार्य यस वर्ष सम्पन्न हुने अवस्थामा छ ।
- शिक्षाक्षेत्रलाई बढावा दिन नगरक्षेत्रका विद्यालयका भवनहरु निर्माण गर्ने कार्य सञ्चालन भएको छ ।
- आधारभूत तहसम्म शिक्षण गर्ने निजी स्रोतका १०४ जना शिक्षकहरुलाई विद्यालयको शैक्षणिक पक्ष सुधारका लागि नगरपालिकाबाट अनुदान व्यवस्था गरी विद्यालयको शिक्षणलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ ।
- नगर गौरवको योजनाको रुपमा नगर उद्यान मोहनलाल पार्क निर्माण कार्य संघ, प्रदेश र नगरपालिकाको आर्थिक अनुदानमा पूर्वाधार निर्माण कार्य चालु आ. व. मा जारी छ ।
- नगर अस्पतालको निर्माण र व्यवस्थापन गरी एम वी वी एस डाक्टर २ जना र स्त्रीरोग विशेषज्ञ १ जना नियुक्त गरी आम नागरिकको स्वास्थ्य परीक्षण र उपचार सुनिश्चित गरिएको छ ।
- दलित, भूमिहीन, सुकुम्वासी, अव्यवस्थित वसोवासलाई नियमानुसार जग्गा उपलब्ध गराउन नाप नक्शाङ्कन कार्य अघि बढेको छ ।
- फोहरमेला व्यवस्थापनको लागि धोबिनियाँ खोलामा डम्पिङ साइटको व्यवस्था गरिएको र ७ जना कर्मचारी र २ वटा साधनद्वारा दैनिक रुपमा फोहर व्यवस्थापन कार्य भइरहेको छ ।
- छाडा चौपाया बलचौर क्षेत्रमा व्यवस्थापन गर्न ३ जना कर्मचारी भर्ना गरी नियमित रुपमा छाडा चौपाया नियन्त्रण गर्ने कार्य निरन्तर भइरह्को छ ।
- न्यायसम्बन्धि जनचेतना अभिवृद्धिका लागि न्यायिक समितिर बडघर अगुवाहरुलाई न्यायिक निरुपणसम्बन्धि तालिमको व्यवस्था गरिएको छ ।
- सुरक्षित वसोवास कार्यक्रम अन्तरगत बलचौर वादीवस्तीका १७१ घरमध्ये १०३ घर निर्माण कार्य सुचारु भएको छ ।
- जनता आवास कार्यक्रम अन्तरगत वडा न. १० को तिघरीमा मुस्लिम समुदायका १४ वटा घर निर्माण गर्नुपर्नेमा ८ वटा घर यस आर्थिक बर्षमा निर्माण सम्पन्न हुनेछन् ।
- कृषि क्षेत्रमा बैज्ञानिक विकास र कृषि क्षेत्रको समग्र विकासका लागि पकेट क्षेत्र निर्धारण गरी कृषक तालिम, कृषक पाठशाला र कृषक गोष्ठीहरु संचालन गरी कृषि औजार र बिउबिजन वितरण गरिएको छ ।
- नगरपालिकामा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि गत आ.व. मा ऐन, नियमावली र कार्यविधि निर्माण गरी चालु आ.व.मा बाढीग्रस्त क्षेत्रका कृषकहरुलाई राहत वितरणको कार्यलाई अगाडि बढाइएको छ।
- वडा न २ को बघौरा गाउँलाई व्यवस्थित गाउँको रुपमा विकास गर्न यस बर्षदेखि कार्यक्रमअगाडि बढाइएको छ ।
- वडा न. ८ को डमरिया खानेपानी योजना यसै आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
- यस लम्कीचुहा नगरपालिकाको आगामी आ.व. २०७९/०८० को वार्षिक वजेट तथा कार्यक्रमले आगामी दिनमा नगरपालिकाको दिगो विकासको खाका निर्माण, स्थानीय रोजगारी र आयमूलक कार्यक्रममा विपन्न र सीमान्कृत समुदायको सहभागिता, महामारी नियन्त्रण, स्थानीय वातावरण संरक्षण, महिला, जनजाति, दलित, पिछडिएको तथा सीमान्तकृत वर्गको जीवनस्तर महसुस गर्न सकिने गरी परिवर्तन हुने अपेक्षा गरिएको छ । यसका लागि उपलब्ध साधन, स्रोतको सीमाभित्र रहेरमात्र योजना तर्जुमा हुनु आवश्यक देखिएकोले नगरपालिकामा उपलब्ध साधन–स्रोतलाई दृष्टिगत गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयास गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहको योजना तथा बजेटतर्जुमा दिग्दर्शन, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट योजना तर्जुमा कार्यतालिका तय गरी सोही मार्गदर्शन बमोजिम निम्न प्रक्रियाहरु अपनाइएको छ :
- वडा स्तरबाट योजना छनोट तथा प्राथमिकीकरण गर्ने ।
- योजनाको विषयक्षेत्रगत वर्गीकरण गर्ने ।
- सबै वडाहरुमा जनसंख्या र भूगोलको आधारमा न्यायोचित बजेट बाँडफाँड गर्ने ।
- लक्षितवर्गको उत्थान तथा विकासमा जोड दिई समावेशी हुने गरी बजेट तथा कार्यक्रमको बाँडफाँट एवं प्राथमिकीकरण ।
- बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकबाट योजना छनोट ।
- नगर कार्यपालिकामा नीति तथा कार्यक्रममाथि छलफल ।
नीति तथा कार्यक्रमका आधारहरु :
- नेपालको संविधानको अनुसुची ८ र ९ ले निर्दिष्ट गरेका स्थानीय तहका एकल तथा साझा अधिकारहरु, मौलिक हकहरु, राज्यका नीति तथा निर्देशक सिद्धान्तहरु ।
- संघीय सरकारले अङ्गीकार गरेको पन्ध्रौँ आवधिक योजनाले निर्धारण गरेका लक्ष्य, नीति तथा प्राथमिकताहरु ।
- संघीय सरकारले अङ्गीकार गरेका आर्थिक तथा वित्तीय नीतिहरु ।
- सुदूरपश्चिम प्रदेश सरकारले अङ्गीकार गरेका आर्थिक तथा वित्तीय नीतिहरु ।
- स्थानीय सरकार सञ्चालन ऐन २०७४ (संशोधन सहित) ।
- संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट र सो को साथमा प्राप्त बजेट तर्जुमा गर्दा लिनुपर्ने आधारहरु ।
- राजनीतिक दलहरुबाट प्राप्त सुझावहरु ।
- सहभागितामूलक योजना तर्जुमा प्रक्रिया मार्फत प्राप्त सुझावहरु ।
- राजस्व परामर्श समितिको सिफारिस ।
- स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको स्रोत तथा बजेट अनुमानहरु ।
- स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले दिएका सुझाव र सिफारिसहरु ।
- नगरपालिकाका विभिन्न विषयगत समितिका सिफरिसहरु ।
- नगरकार्यपालिकाले निर्णय गरी तोकेका आधारहरु ।
- विभिन्न विषयगत विज्ञहरुसँग छलफल गर्दा प्राप्त सुझावहरु ।
- नेपाल सरकारले प्रतिबद्धता जनाएका दिगो विकासका लक्ष्यहरु ।
- नगरपालिकाबाट विगतमा स्वीकृत भएका नीति, कार्यविधि, ऐन र नियमावलीहरु ।
- विकास साझेदार संघसंस्थाका राय, सल्लाह र सुझावहरु ।
नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरु :
- स्वास्थ्य तथा मानव सामर्थ्य विकास ।
- कोभिड विरुद्ध खोप व्यवस्थापन तथा स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन ।
- कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम ।
- शिक्षा, युवा तथा रोजगारी ।
- पूर्वाधार निर्माण तथा दिगो विकास ।
- उद्यम, स्वरोजगारी र सहकारिता ।
- सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास ।
- मानव संसाधन, जनशक्ति परिचालन तथा सुशासन ।
- संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन ।
- सामाजिक विकास तथा गरिबी निवारण ।
- वन तथा वातारण, पर्यावरणको रक्षा, खानीजन्य पदार्थको संरक्षण र सामुदायिक वनहरुको दिगो विकास ।
- प्राकृतिक विपद, व्यवस्थापन, पुनर्स्थापना, पुनर्निर्माण तथा पूर्वतयारी ।
- अशक्त, असहाय, गरिब, अतिविपन्न, अपाङ्ग, गर्भवती महिला, ज्येष्ठ नागरिक, जस्ता व्यक्तिहरुलाई राहतका कार्यक्रम ।
- अब म यस लम्कीचुहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि विषयगत समितहरुबाट अनुमोदन भई आएका क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
लम्कीचुहा नगरपालिका नीति तथा कार्यक्रम २०७९/०८०
कृषि तथा सहकारी
- कृषकको पहिचान, कृषिमा आधारित ज्ञान : उत्पादन अनुसारको अनुदान नीति लिई वास्तविक किसानको पहिचान गरी कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, औद्योगीकरण तथा बजारीकरणको कार्यक्रमलाई विषेश प्राथमिकता दिइनेछ ।
- प्रत्येक वडामा कृषि पकेट क्षेत्रको स्थापना गरिनेछ।
- एक घर एक करेसाबारी, पकेट क्षेत्रमा व्यावसायिक तरकारी भन्ने नारालाई सार्थक तुल्याउन तरकारी उत्पादनको प्रशस्त सम्भावना रहेको क्षेत्रहरुलाई समेटी तरकारी पकेट क्षेत्र विस्तार गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
- कृषि र कृषि उद्यमी : लम्कीचुहाका सारथी भन्ने नारालाई साकार पार्न कृषि योग्य भूमिको पूर्ण उपयोग गरी सघन खेतीप्रणालीका माध्यमबाट कृषि उत्पादन बढोत्तरी गर्ने नीति कार्यान्वयन गरिनेछ ।
- किसानहरुलाई मल, उन्नत बिउ-बिजन तथा आधुनिक कृषि औजार समूहगत तथा व्यक्तिगतरूपमा सर्वसुलभ रुपमा उपलब्ध गराइनेछ ।
- नगर गौरवको योजनाको रुपमा निजी सार्वजनिक साझेदारी(Public Private Partnership) अन्तर्गत कृषि थोक बजार स्थापना गरी गोदाम घर, शीत-गृह जस्ता पूर्वाधारको निर्माणसँगै कृषि उत्पादनको खरिद, भण्डारण, विक्री वितरण तथा वजारीकरण गर्ने व्यवस्था गरिनेछ ।
- रैथाने बिउ विजनको उत्पादन तथा संरक्षणलाई जोड दिइनेछ ।
- कृषकको सहभागिता र नगरपालिकाको साझेदारीमा आधुनिक कृषि औजारको व्यापक रुपमा वितरणको नीति अवलम्वन गरिनेछ ।
- साना तथा निर्वाहमुखी पशुपालन गर्ने किसानलाई दाना, घास, गोठ, खोर निर्माणमा अनुदान दिने व्यवस्था मिलाइने छ ।
- दुग्धजन्य पदार्थको आपूर्तिका लागि उन्नत जातका गाई तथा भैंसीहरु आर्थिक स्तर कमजोर रहेका पशुपालक किसानहरुलाई वितरण गरिनेछ ।
- मासु उत्पादनको लागि उन्नत जातको बाख्रा, राँगा, बोका, बंगुर, कुखुरा लगायत पशुपंक्षी पालन गर्न कृषकहरुलाई अनुदान दिई प्रोत्साहित गरिने छ ।
- पशुपंक्षीको रोग निवारण तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिको लागि खोपको व्यवस्था गरिनेछ ।
- निजी क्षेत्रको साझेदारीमा आधुनिक वधशाला निर्माण गरी शहरी क्षेत्रमा वातावरणीय सुधारमा जोड दिइनेछ ।
- उपयुक्त बजार केन्द्रमा हाटबजारको निर्माण तथा व्यवस्थापन गरिनेछ।
- खोलाको बगर क्षेत्रमा बगर खेतीलाई प्रोत्साहित गर्दै खरबुजा, तरबुजा, बयर खेती, बेतबाँस खेती गर्न कृषकहरुलाई प्रोत्साहित गरिनेछ र निजी तथा बाँझो जग्गामा फलफूल तथा अन्य विरुवा लगाउन कृषकलाई अभिप्रेरित गरिनेछ ।
- कृषि तथा पशुविकास केन्द्रको स्थापना गरी प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गरिनेछ।
- पशुपंछीमा लाग्ने रोग पहिचान तथा रोग नियन्त्रणका लागि पशु स्वास्थ्य प्रयोगशाला स्थापना गरिनेछ ।
- सहज रुपमा कृषि तथा पशु स्वास्थ्य परामर्श सेवामा किसानको पहुँच वृद्धिका लागि घुम्ती कृषि तथा पशु स्वास्थ्य सेवा कार्यक्रम लागू गरिनेछ ।
- कृषकहरुलाई माटोको प्रकार र गुणस्तर पहिचान गर्न, वातावरण अनुकूल खेती गर्न मल, बिउ र प्राविधिक सेवा उपलब्ध गराइनेछ ।
- चैते धान र चैते मकै बालीमा अनुदानको व्यवस्था गरिनेछ ।
- खुर्सानी, आलु, प्याज, लसुन, हल्दी र धनिया पकेट क्षेत्र तोकी साधन स्रोत उपलव्ध गराई उत्पादित बस्तुको बजारको व्यवस्थाको लागि समन्वय गरिनेछ ।
- कृषि राहतकोषको स्थापना गरिनेछ।
- साना कृषि तथा मझौला कृषि उद्यमीको बैंक तथा वितिय संस्थाबाट प्रदान गरिने सहुलियत कर्जालाई लक्षित वर्ग सम्म पुर्याउन वैंक तथा वित्तीय संस्थासँग समन्वय गरिनेछ ।
- माछापालक किसानलाई भुरा खरिद गर्न ५० प्रतिशत अनुदान प्रदान गरिनेछ साथै पोखरी ममर्त सम्भार तथा व्यवस्थानका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
- विदेशमा गई कृषि क्षेत्रमा काम गरी स्वदेश फर्केका यूवा कृषकलाई आफूले सिकेको सीपको आधारमा विजनेस प्लानको मूल्याङ्कन गरी बिउ पूँजीको व्यवस्था गरिनेछ ।
- प्रांगारिक खेती प्रवर्द्धन, विषादी न्यूनीकरणका लागि एकिकृत सत्रुजीव व्यवस्थापन(IPM), कृषि पाठशाला तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
- कृषि तथा पशु विमा कार्यक्रम लागू गरिनेछ।
- नश्ल सुधार, पशु सुरक्षा एंव प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी दुग्ध उत्पादनमा वृद्धि गर्दै बजारीकरणको सुलभ व्यवस्था गरिनेछ र जलवायु परिवर्तन, रोगको प्रकोप एंव प्राकृतिक विपदबाट कृषि क्षेत्रमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न कृषकहरुलाई बालि विमा गर्न प्रोत्साहित गरिनेछ ।
- जलवायु परिवर्तनको अध्ययन गरी अनुकुलनका कार्यक्रमहरु सञ्चालन गरी कृषक लगानी सुनिश्चित गरिनेछ ।
- रानीजमरा कुलरिया सिचाइँ आयोजना अन्तर्गतका कार्यक्रमहरु आयोजनासँग समन्वय गरी भरपूर लाभ लिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिनेछ ।
- तरकारी खेतीका लागि हरितगृह निर्माण, थोपा सिचाइँ प्रणाली र प्लास्टिक पोखरी निर्माण गर्न अनुदानको व्यवस्था गरिनेछ ।
- सिचाइँ सुविधाको आवश्यक स्थानमा डिपबोरिङ्ग र स्यालो ट्युवेल अनुदानमा वितरण गरिनेछ।
- कम जग्गा भएका किसानहरुलाई च्याउ खेती, कौसीखेती रमौरीपालन आदि गर्ने किसानलाई तालिम र बिउ-बिजन सहित थप अनुदान प्रदान गरिनेछ।
- फूलखेती तथा नर्सरी व्यवसाय प्रवर्धन गर्न प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
- नगर क्षेत्रभित्र रहेको जमिनलाई उपयोगिताको आधारमा वर्गीकरण गरी खेतीयोग्य जमिनको प्लटिङ्गमा रोक लगाइनेछ ।
- नगरपालिका भित्रका सहकारी तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न विशेष नीति ल्याइनेछ। कृषि क्षेत्रका सरोकारवालाहरुसँग कृषि क्षेत्रको विकासका लागि आवश्यक अध्ययन भ्रमण, गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- सहकारीलाई उत्पादनशील बनाउदै गरिबी निवारण गर्ने उद्देश्यले सबै प्रकारका सहकारीलाई उत्पादन तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
- सहकारी मार्फतयुवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लाभ लिने व्यक्ति वा समूहलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
- प्रत्येक सहकारीको लेखा प्रणालीमा एकरुपता ल्याउन प्रविधिमैत्री लेखा प्रणाली तालिमको व्यवस्था गरिनेछ ।
- नगरपालिका मातहतमा रहेका सहकारीको अवस्था र आवश्यकता हेरी मर्जरको नीति अवलम्वन गरिनेछ ।
- सहकारी संस्थाहरुको सुदृढीकरण, विकास र प्रवर्द्धनका लागि अनुगमन, निरीक्षण, नियमन र नियन्त्रण गरिनेछ ।
संस्कृति तथा पर्यटन
- हाम्रो संस्कृति, हाम्रो पर्यटन : हाम्रो सम्पदा, हाम्रै संरक्षण नारालाई सार्थक बनाउननगरपालिका क्षेत्र भित्र रहेका समस्त जातजाती, भाषा, धर्म, कला, संस्कृतिको संरक्षण र प्रतिनिधित्व हुने गरी वीपी सांस्कृतिक सङ्ग्रहालयको स्थापना गरिनेछ ।
- चिसापानीमा बहुउपयोगी पर्यटन सूचना केन्द्रको निर्माण गरिनेछ ।
- चिसापानी पुलमाविद्युतिय सजावट र पानी फोहरा सहितको बगैँचाको योजनालाई नगर गौरवको आयोजनाको रुपमा विकास गर्न प्रदेश सरकार, संघिय सरकार र सरोकारवाला निकायको समन्वयमा अघि बढाइनेछ ।
- चिसापानी, राजकाँडा, आमपानी, ढकने, बल्चौर, ग्याङ्टीफाँटा, रिठाई ताल र मोहनलाल नगरपार्कलाई जोडेर पर्यटन सर्किट निर्माण गरी पूर्वाधार विकास र प्रवर्द्धनलाई जोड दिइनेछ ।
- राजकाँडा र चिसापानीको पर्यटन सम्बन्ध विकास गर्न पैदलमार्ग, भ्यू प्वाईन्ट, बौद्ध गुम्बा/ स्तुपा, शालिक, आराम गृह, खानेपानी, सार्वजनिक शौचालय निर्माणका लागि मोहन्याल गा.पा. संग समन्वय गरिनेछ।
- मिलन खोलामा पिकनिक स्पोट निर्माणका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ ।
- नगरपालिकामा रहेका पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माण, होमस्टे सञ्चालन, ध्यान केन्द्र, योग केन्द्र, सांस्कृतिक अध्ययन केन्द्र र कला केन्द्र आदिको विकासमा जोड दिइनेछ ।
- स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गरिने छ र सो क्षेत्रमा संलग्न व्यक्तिहरुलाई विशेष प्रोत्साहनको व्यवस्था गरिनेछ।
- नगर भित्रका मठ-मन्दिर, बौद्ध विहार, गुम्बा, मस्जिद र चर्च तथा सबै जात-जाति तथा धर्मका धार्मिक क्षेत्रलाई पर्यटन आकर्षण केन्द्रका रुपमा विकास गरिनेछ ।
- नगरपालिकाभित्र रहेका धार्मिक संस्थाहरुको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक व्यवस्थापन गरिनेछ ।
- धार्मिक धरोहरहरुको अभिलेखीकरण गरी संरक्षण गर्ने र गीत संगीत सम्बन्धि प्रशिक्षण सञ्चालन गरिनेछ ।
- थारु जातीको पूजा गर्ने देउथान/मरुवाको व्यवस्थापन गर्न आवश्यक पूर्वाधार विकास गरिनेछ ।
- प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको विकासमा जोड दिइनेछ ।
- नगर पर्यटन विकास समितिको गठन गरिनेछ ।
- समुदायमा आधारित पर्यटन क्रियाकलापलाई प्रवर्द्धन गरिनेछ ।
- पर्यटन प्रवर्द्धनका लागि पर्यटक गाइड तालिम लगायतका विभिन्न तालिमहरु सञ्चालन गरिनेछ ।
- प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटन स्थलसम्म जाने सडक सञ्जालको विकास गरिनेछ ।
- कर्णाली नदीमा र्याफ्टिङ सञ्चालनलाई व्यवस्थित गरिनेछ ।
- पशुपालन, मत्स्यपालन फर्महरुलाई पर्यटनमैत्री रुपमा विकास गरिनेछ ।
- बसेरा होमस्टेमा बहुउपयोगी सामुदायिक भवन निर्माणका लागि अनुदान दिइनेछ ।
- मगर होमस्टे संचालनमा ल्याइनेछ ।
- डंगरपुर (उदयपुर) थारु होमस्टे निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
- पूर्वाधार सहज भएका गाउँहरुलाई नमूना गाँउको रुपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
- धार्मिक संस्था वा व्यक्तिले बहुउद्देश्यीय गौशाला स्थापना गर्न चाहेमा पूर्वाधार विकासका लागि अनुदान दिने व्यवस्था मिलाइनेछ र सोको लागि आवश्यक पर्ने उपकरणको सहयोग गरिनेछ ।
- लम्कीचुहा वडा न.१ स्थित लम्की वहुमुखी क्याम्पसको उत्तर तर्फ वीपी साहित्यिक बाटिका निर्माणलाई नगर गौरवको योजनाको रुपमा अगाडि बढाइनेछ ।
- निजी क्षेत्रको सहकार्यमा पर्यटकीय भौतिक संरचनाको निर्माण गरी नगरको आय वृद्धि गर्ने नीति अवलम्बन गरिनेछ।
- संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि मेला तथा महोत्सव आयोजना गरिनेछ ।
उद्योग तथा रोजगार
- उद्यमशीलता र उद्योगको विकास : नगरमा रोजगारी सिर्जनाको आधार नीति अवलम्वन गरी नगरभित्र उद्यमको विकास, उद्यमीको लगानी सुरक्षा र थप रोजगारीका अवसरहरु सृजना गरिनेछ ।
- संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधीनमा रही सबै प्रकारका उद्योगहरुको व्यवस्थापनका लागि एकीकृत नीति तर्जुमा गरी उद्योगीहरुलाई व्यवस्थित गरिनेछ।
- न्यूनतम १० जना नगरबासीलाई रोजगार दिने उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहनको नीति अवलम्वन गरिनेछ।
- लम्कीचुहा नगरपालिकाभित्र औद्योगिक ग्रामको विकास गर्नका लागिनिश्चित क्षेत्रको पहिचान गरी आवश्यक पूर्वाधार विकास गरिनेछ ।
- लघु उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप बेरोजगार युवा, महिला र अपाङ्गहरुको आर्थिक स्तर सुधार्न लघु उद्यम सञ्चालनका लागि अनुदान प्रोत्साहनको व्यवस्था गरिनेछ।
- लक्षित वर्गलाई सामुहिक लघु उत्पादनमा जोड दिदैँसीप विकास तालिम र रोजगारी एव आय आर्जन सम्बन्धि विशेष कार्यक्रममा समावेश गरिनेछ ।
- घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनमा जोड दिई परम्परागत प्रविधिलाई प्रवर्द्धन गरिनेछ ।
- समुदाय तथा स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्यम स्थापनाकालागि अनुदान प्रोत्साहनको व्यवस्था गरिनेछ ।
- नगरमा रहेको बेरोजगारको तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन गरीसिप, श्रम र दक्षताका आधारमा काममा परिचालित गरिनेछ ।
- निजी सार्वजनिक साझेदारी मोडलमा उद्योग व्यवसायका क्षेत्रहरुको पहिचान गरी उद्योगहरुको सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।
- स्थानीय रुपमा लगानी सम्मेलन गरी पर्याप्त लगानी भित्र्याउने नीति अवलम्बनसँगै लगानी प्रवर्द्धनका लागि कर छूट तथा सहुलियतको व्यवस्था गरिनेछ ।
- सीपमूलक तालिमको व्यवस्था गर्न सीपमूलक तालिम केन्द्र स्थापना गरिनेछ ।
- आयआर्जन तथा सीपमूलक तालिमहरु जस्तै ग्रिल निर्माण, मोबाइल मर्मत, मोटरसाईकल मर्मत, अचार बनाउने, कुकिङ्ग तथा अतिथि सत्कार आदिसम्बन्धि तालिम सञ्चालन गरिनेछ ।
- व्यावसायिक कृषि तथा पशुपछी कर्जा, युवा स्वरोजगार कर्जा, दलित व्यवसाय विकास कर्जा, विना धितो सरल सहज रुपमा कर्जा तथा व्याज अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गरिने छ।
- प्रधानमन्त्री युवास्वरोजगार कार्यक्रमलाई व्यवस्थित गरिने छ ।
- युवा प्रतिभा उद्यमीको खोजी कार्यक्रम सञ्चालन गरिनेछ र अनुसन्धानमूलक युवा उद्यमशीलता कार्यक्रमको प्रबन्ध गरिनेछ ।
- श्रमिक वर्गको पहिचान तथा सुरक्षाको लागि श्रमिक कार्डको वितरण गरिनेछ र श्रमिक सुरक्षा किड उपलव्ध गराउन पहल गरिनेछ ।
राजश्व परिचालन सम्बन्धि नीति
- आन्तरिक आयलाई सबल बनाउन राजश्वमा सुधार गर्न, राजश्व सुधार कार्ययोजनाको प्रतिवेदनको आधारमा राजश्व तथा करका विभिन्न क्षेत्रहरुको पहिचान कार्यमा जोड दिइनेछ ।
- राजश्व तथा कर सम्बन्धि नीति एवं कानुन निर्माण गर्दा निजी व्यवसायी, उद्यमी, नागरिक समाज सहित सरोकारवालाहरुसँग व्यापक छलफल गरिनेछ ।
- यस आर्थिक बर्षलाई कर सहभागिता बर्षको रुपमा अगाडि बढाई नगरपालिका भित्रका सम्पूर्ण करयोग्य व्यवसायलाई करको दायरामा ल्याइनेछ ।
- नगरभित्रका नागरिकहरुलाई स्वयं करघोषणा कार्यक्रमतर्फ प्रेरित गरी प्रोत्साहित गरिनेछ ।
- व्यवसायको आम्दानी कम स्वघोषणा हुने जोखिम न्यूनीकरण गर्न सहरी क्षेत्रलाई जोनिङ गर्ने र प्रविधिमार्फत सूचना अद्यावधिक गर्ने र यससम्बन्धि क्षमता अभिवृद्धि गरिनेछ ।
- घर बहाल तथा बहाल बिटौरी कर सम्बन्धि व्यवस्थालाई पुनर्व्यवस्थित गरी लागू गरिनेछ ।
- सबै भन्दा धेरै कर दाखिला गर्ने करदातादाई उत्कृष्ट करदाताको रुपमा पुरुष्कृत गरिनेछ । सबै आर्थिक तथा व्यापारिक क्रियाकलापहरुलाई करको दायरामा ल्याई आन्तरिक आम्दानीको दायरा फराकिलो बनाइनेछ ।
- सङ्घीय र प्रदेश सरकारबाट प्राप्त गर्ने राजस्व बाँडफाँट र समानीकरण अनुदानको रकम न्यायसंगत ढङ्गले समयमै प्राप्त गर्न संघीय सरकार, प्रदेश सरकार र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सक्रिय सहकार्य गरिनेछ ।
- आम करदाता र कर प्रशासन दुवै पक्षको ईमान्दारिता, पारदर्शिता, स्वच्छता र सदाचारिता कायम गर्दै कर कानुनको पालना गर्न कारदाता साक्षरता अभियान सञ्चालन गरिनेछ ।
- सङ्घीय सरकारबाट राजस्व बाँडफाँट र समानीकरण अनुदानबाट प्राप्त हुने रकम स्थानीय सरकारले संविधानले दिएको जिम्मेवारी बहन गर्न शिक्षा, स्वास्थ्य, स्थानीय पूर्वाधार र आर्थिक उपार्जनका क्षेत्र लगायतका जनसरोकार र विकासका कार्यक्रमहरुमा प्राथमिकताका आधारमा विनियोजन गरिनेछ ।
- राष्ट्रिय र स्थानीय आर्थिक स्थिति र बजारको आधारमा मूल्य निर्धारण समिति बनाई आवधिक कर पुनरावलोकन गरिनेछ ।
- भूमिकर(मालपोत) जमीनको स्थान, प्रयोग र गुणस्तरको आधारमा लागू गरिनेछ ।
- ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदी तथा खानीका स्रोतमा आधारित निर्माणजन्य प्राकृतिक स्रोतको उत्खन्न्, सङ्कलन, प्रशोधन र बिक्री वितरण सम्बन्धमा छुट्टै नीति तय गरिनेछ ।
- कानूनले व्यवस्था गरे बमोजिम स्थानीय तहको लेखा समिति निर्माण र सबलीकरण गरिनेछ ।
- सार्वजनिक खरिद कानूनको पालनाको लागि स्थानीय तहमा नियमावली तयार गरी खरिद कानूनको मर्मबमोजिम कार्य गर्ने गराइनेछ ।
- लम्कीचुहा नगरपालिका भित्रका सम्पुर्ण उद्योगी तथा व्यवसायीलाई करको दायरामा ल्याउन अनिवार्य रुपमा नगरपालिकामा दर्ता तथा नवीकरण गर्ने व्यवस्था गरिनेछ ।
शिक्षा
- गुणस्तरीय शिक्षा : सीपयुक्त जनशक्ति नीति लिई शिक्षण प्रणाली, प्रविधि र पूर्वाधार सुधार गर्दै नेतृत्वलाई सक्षम र जवाफदेही, शिक्षकलाई उत्प्रेरित र अभिभावकलाई जागरुक बनाई विद्यालयलाई सिकाइ केन्द्रको रुपमा विकास गरी शिक्षित र सीपयुक्त जनशक्ति उत्पादन गरिनेछ ।
- बालविकास शिक्षकहरुलाई विशेष तालिमको व्यवस्थासँगै पारिश्रमिक वृद्धि गरिनेछ ।
- माध्यामिक शिक्षामा प्राविधिक शिक्षालाई जोड दिन पहल गरिनेछ ।
- प्राविधिक धारका माध्यमिक विद्यालयहरुलाई विद्यार्थी संख्या र दूरीका आधारमा यातायातको साधन उपलव्ध गराउन सकिनेछ ।
- टिनको छाना भएका विद्यालयहरुमा फल्स सिलिङ्गको व्यवस्था गरिनेछ ।
- लम्की बहुमुखी क्याम्पसको विकासको लागि आवश्यक अनुदानको व्यवस्थापन गरिनेछ ।
- गणित, अंग्रेजी र विज्ञान विषयमा उच्च शैक्षिक उपलब्धी दिन सफल शिक्षकहरुलाई प्रोत्साहनका अतिरिक्त थप सेवा सुविधा प्रदान गरिनेछ ।
- संस्थागत विद्यालयहरुको मापदण्ड निर्धारण, वर्गिकरण, शुल्क निर्धारण तथा उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने र न्युनतम मापदण्ड पूरा नभएका तथा अनुमति नै नलिएका कक्षा सञ्चालन गरेका विद्यालयहरुको अनुमति खारेजी तथा तह घटाउने नीति लिइने छ ।
- भौतिक पूर्वाधार अपुग भएका सामुदायिक विद्यालयको पूर्वाधार (भवन, शौचालय, पुस्तकालय, वाचानालय, शुद्ध खानेपानी, हाता घेरबार-पर्खाल, ICT Programme) विकास गर्नुका साथै सामुदियक विद्यालयमा आवश्यकता अनुसार विभिन्न साधन तथा उपकरण उपलब्ध गराइने छ ।
- लम्कीचुहा नगरपालिकाको वडा नं. १ लम्कीमा पुष्पलाल सामुदायिक पुस्तकालयको स्थापना गरिनेछ ।
- उत्कृष्ट शैक्षिक गुणस्तर कायम गरेको तथा व्यवस्थापकीय पक्षमा उल्लेखनीय सुधार भएका संस्थागत विद्यालयलाई प्रोत्साहित गर्नुका साथै उक्त विद्यालयको सिकाइ तथा व्यवस्थापकीय अनुभवलाई नगर भित्रका अन्य विद्यालयहरुमा आदान प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
- नगर भित्रका विद्यालयहरुको वार्षिक योजना निर्माण गरी स्वीकृतिका लागि नगरमा पेश गर्ने, पेश गरिएका योजनाको मूल्याङ्कनका आधारमा अनुदान प्रोत्साहन र अन्य कार्यक्रम दिइनेछ ।
- अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकूदका कार्यक्रमहरुमा संस्थागत विद्यालयको पनि सहभागिता गराइने छ ।
- Friday No Bag Dayअभियान सञ्चालन गरी आत्मरक्षा तालिम, विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, नैतिक शिक्षा, सांस्कृतिक क्रियाकलाप, ध्यान, योग साधना, खेलकुद विकास तथा विविध प्रतियोगिता लगायत विभिन्न क्षेत्रमा सफल व्यक्तिका अनुभवहरुलाई विद्यार्थी माझ राख्ने वातावरण तयार गरी विद्यार्थीमा ज्ञान र सीप हस्तान्तरण तथा क्षमता अभिवृद्धिमूलक अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
- पूर्वप्राथमिक तहमा संस्थागता विद्यालयका केही कक्षाहरुमा Bag Less Program अन्तरगत विद्यालय छनौट गरी लागू गरिनेछ ।
- विद्यालयलाई जंक फुडबाट मुक्त क्षेत्र बनाइनेछ साथै जंक फुडको प्रयोग नगर्न नगराउन च
- विद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढीकरण गर्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि विद्यालयलाई प्रविधिमैत्री बनाउने, विज्ञान प्रयोगशाला, पुस्तकालय र स्मार्ट कक्षा कोठाको व्यवस्था गर्ने ।
- सामुदायिक विद्यालयमा छात्राहरुको सेनिटरी प्याडको प्रयोग मनोभावना, व्यवहार, ज्ञान र सीपको आदान प्रदान गर्न छात्रा संग नगर प्रमुख कार्यक्रमसञ्चालन गरिनेछ र छात्राहरुको सेनिटरी प्याड संस्थागत विद्यालयमा पनि उपलब्ध गराइने छ ।
- सामुदायिक विद्यालयहरुमा प्राथमिक उपचार कक्षको निर्माण संगै क्रमश: विद्यालयहरुमा विद्यार्थीहरुको स्वास्थ्य उपचार र शिक्षाका लागि स्कुल नर्सको व्यवस्था गरिनेछ ।
- नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थीको अनुपात हेरी शिक्षकको दरबन्दी मिलानका साथै तोकेको मापदण्ड भन्दा न्यून विद्यार्थी संख्या भएका विद्यालयलाई मर्ज गरिनेछ ।
- नगर भित्र रहेका मावि तहका सामुदायिक विद्यालयहरुमा क्रमश: पढदै कमाउँदै कार्यक्रमलाई सुचारु गर्ने नीति लिइने छ ।
- आमा-बुबा वा संरक्षण दिने अभिभावक दृष्टि विहीन वा पूर्ण अपाङ्गता भएकाहरु पहिचान गरी उनीहरुका बालबालिकाको पठनपाठनको जिम्मा नगरपालिकाले लिनेछ ।
- शहिद लोकराज ढकाल स्मृति छात्रवृति कोष स्थापना गरी नगर भित्रका सामुदायिकविद्यालयमा अध्ययनरत महिला, दलित र जनजातिपरिवारका गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिनेछ ।
- अपाङ्ग, अल्पसंख्यक, जनयुद्ध, जनआन्दोलनका घाईते, वेपत्ता र घाईते परिवारका गरिब जेहेन्दार विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिनेछ ।
- नगर प्रमुख छात्रवृत्ति कोष स्थापना गरी उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइने छ।
- लम्की बहुमुखी क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा हासिल गर्ने विवाहित छात्रालाई नगर प्रमुख छात्रवृत्ति पुरस्कार प्रदान गरिनेछ ।
- सामुदायिक विद्यालय तर्फ SEE परिक्षामा सर्वोउत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिनेछ ।
- आधारभूत तह सम्मका सामुदायिक विद्यालयका अध्यापनरत शिक्षकहरुको व्यवस्थापनको लागि नगरपालिकाबाट एकमुष्ट प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिई पारिश्रमिकमा वृद्धि गरिनेछ ।
- लम्कीचुहा नगरपालिकाको गौरव संस्कृति, सभ्यता, मूल्य र मान्यता एवं एकताको सम्वर्द्धनका साथै नागरिक कर्तव्यको विषय समावेश गरी आधारभूत तहको स्थानीय पाठ्यक्रम तयार गरिनेछ ।
- नगर क्षेत्र भित्रका सामुदायिक माध्यमिक विद्यालयहरुमा उपयुक्तता हेरी प्राविधिक धारका कक्षाहरु सञ्चालन गर्न जोड दिइनेछ । संस्थागत विद्यालयहरुलाई समेत प्राविधिक धारका कक्षाहरु सञ्चालन गर्न प्रेरित गरिनेछ ।
- सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनौट लागि नगरमा योग्यता सूची तयार गरी विज्ञ द्वारा परीक्षा लिई प्रधानाध्यापकको नियुक्ति गरिनेछ ।
- माध्यमिक तहमा कार्यरत निजी स्रोतका शिक्षकहरुलाई क्रमश: नगरपालिकाबाट परिश्रमिक दिने व्यवस्था मिलाइनेछ र आवश्यकता हेरी थप बिषय शिक्षकको प्रबन्ध गरिनेछ ।
- प्रत्येक दुई दुई महिनामा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठक नगरपालिकामा बस्ने व्यवस्था मिलाइनेछ ।
- शिक्षण सीप आदान प्रदानका लागि सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षकहरु विच शिक्षण सीप आदान प्रदान गर्ने व्यवस्था मिलाइने छ।
- शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिहरुलाई जिम्मेवार बनाउन विशेष कार्यक्रम ल्याइनेछ ।
- विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइने र टिकाइराख्ने व्यवस्था मिलाइने छ ।
- थारु बाहुल्यता भएको क्षेत्रमा स्थानीय विषय अन्तरगत मातृ भाषाको पाठयक्रम तयार गरी कक्षा ५ सम्म पठनपाठन गराउन पहल गरिनेछ ।
- पन्ध्र बर्ष माथि र साठी बर्ष मुनिका नागरिकहरुलाई साक्षर बनाई साक्षर नगरपालिका घोषणा गरिनेछ ।
- नगरको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय भूमिका निभाएका सेवा निवृत्त शिक्षक, शिक्षा प्रेमी समाजसेवी व्यक्तिहरुलाई सम्मान गरिनेछ।
- लम्कीचुहा भित्र सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्रहरुलाई प्रवर्द्धन गर्ने, अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न जिम्मा दिने तथा थप अध्ययन केन्द्रको स्थापनाको लागि पहल गरिनेछ ।
- विद्यार्थीहरुले आफूले निर्माण गरेका र सिकेका कुराको प्रदर्शन गर्ने अवसर पाउने गरी बार्षिक सिकाइ मेलाको आयोजना गरिनेछ ।
- शैक्षिक पूर्वाधारहरु निर्माण गर्दा लैङ्गिकमैत्री र अपाङ्गमैत्री संरचना हुनेगरी निर्माण गरिनेछ ।
- अभिभावकसंग सम्बन्ध बिस्तार गर्न प्रत्येक विद्यालयले टोल भेला र मासिक घरदैलो गर्ने व्यवस्था मिलाइने छ ।
- दरबन्दी नपुग भएका विद्यालयहरुमा स्नातक अध्ययन गरेका योग्य युवालाई उत्प्रेरित गरी स्वयमसेवक शिक्षकको रुपमा परिचालन गर्ने व्यवस्था मिलाइने छ ।
- सामुदायिक विद्यालय अन्तर्गत मावि तहमाप्रविधिमैत्री शिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
- शिक्षकको व्यवसायिक विकासमा ट्रेड युनियनमा संगठित हुने अधिकारलाई सुनिश्चित गर्दै दलगत राजनीतिमा हुने आवद्धतालाई निरुत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।
- विद्यार्थीको पठनपाठनलाई दृष्टिगत गरी विभिन्न समयमा हुने बन्द हडताल सभा सम्मेलन आदिमा विद्यालय बन्द गरी त्यस्ता कार्यक्रममा विद्यार्थी प्रयोग प्रवृतिलाई निरुत्साहित गरिनेछ ।
- स्थानीय शिक्षा समिति, शिक्षा शाखा र नगरपालिकाले खटाएको प्रतिनिधिद्वारा विद्यालयको समग्र गतिविधिको अनुगमन र सुपरिवेक्षण मासिक रुपमा गर्ने व्यवस्था मिलाईने छ ।
- जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासी रहेको विद्यालय सहयोगी समूह स्थापना गरी नियमित अनुगमन र सहयोगीको संयन्त्र बनाउने व्यवस्था गरिनेछ ।
- गुरुकुल, मदरसा जस्ता परम्परागत धार्मिक विद्यालयको अनुमति निशुल्क हुने र दिँदै आएको पटके अनुदानलाई वृद्धि गरिनेछ ।
- गुरुकुल, मदरसा जस्ता परम्परागत धार्मिक विद्यालयको भौतिक संरचना विकास र परम्परागत धार्मिक विद्यालयका शिक्षकहरुको तालिम तथा पेशागत विकासमा ध्यान दिइनेछ ।
- संस्थागत विद्यालयमा भइरहेका राम्रा प्रयास, उत्कृष्ट व्यवस्थापकीय अभ्यासलाई सामुदायिक विद्यालहरुको सुधारमा योगदान दिन सक्ने वातावरण निर्माण गरिनेछ ।
- सामुदायिक विद्यालको सबलीकरणको लागि गैर-सरकारी संस्थासंग सहकार्य गर्न प्रेरित गरिनेछ ।
- सम्भाव्यता अध्ययन गरी नगरक्षेत्रभित्र सहकारी विद्यालय सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
- शिक्षा क्षेत्रका सरोकारवालाहरु संग समन्वय गरी शिक्षक तथा कर्मचारीको वृत्ति विकास तथा अभिवृद्धिका लागि आवश्यक गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचलान गरिनेछ ।
- निजी स्रोतमा कार्यरत अवकाश लिन इच्छुक शिक्षक तथा कर्मचारीहरुलाई न्यूनतम सुविधा दिइ अवकाश दिने व्यवस्था मिलाइनेछ ।
- विद्यालय परिसरमा फलफूल तथा छायाँदार बोटविरुवा वृक्षारोपण गर्ने व्यवस्था गरिने छ ।
- विद्यालयको सरसफाइको लागि प्रत्येक सामुदायिक विद्यालयलाई रु २०००/- प्रतिमहिना दिँदै आएकोमा आगामी आ. व. देखि रु. ३०००/- प्रतिमहिना दिइनेछ ।
स्वास्थ्य
- नगरबासीको स्वास्थ्य : नगरको जिम्मेवारीको नीति लिई सरल र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति, प्रविधि र उपकरणको व्यवस्था गरिनेछ ।
- लम्कीचुहा नगर अस्पताल भल्कालाई स्तरउन्नती गरी विशेषज्ञ चिकित्सक द्वारा सघन उपचार(ICU) सहितको आकस्मिक सेवा सञ्चालन गर्ने र बालरोग विशेषज्ञ डाक्टरको व्यवस्था गरी नवजात शिशु सघन उपचार केन्द्र(NICU) सञ्चालनमा ल्याइनेछ।
- नगर गौरवको योजना अन्तर्गत रहेकोचुहा स्थित निर्माणाधिन सामुदायिक जनता अस्पताललाई क्रमागत योजनाको आधारमा निर्माण अघि बढाइनेछ ।
- नगरप्रमुख संग मातृशिशु स्वास्थ्य तथा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती आमाको लागि पोषण प्याकेजको व्यवस्था गर्ने। नगर भित्र छोरी जन्माएका आमाहरुलाई रु २०००/- छोरी स्याहार भत्ताको व्यवस्थागरिनेछ।
- नगरका सम्पूर्ण नागरिकलाई स्वास्थ्य विमा कार्यक्रममा जोड्न व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्न गोष्ठी तथा अभिमुखीकरण तालिम सञ्चालन गर्ने र गरिब तथा अतिविपन्न दलित तथा अन्य परिवारको पहिचान गरी स्वास्थ्य विमाका लागि लाग्ने रकमको ५० प्रतिशत रकम अनुदान दिने नीति लागू गरिनेछ ।
- भलमन्सा र चौकिदारको विमामा लाग्ने रकममा ५०% अनुदान तथा सोनाह र बादी जाति, जनआन्दोलन तथा जनयुद्धका घाईते, निलो कार्ड प्राप्त अपाङ्गलाई शतप्रतिशत विमा प्रदान गरिनेछ ।
- नगरस्तरीय रक्त संचार सेवा (ब्लड बैंक) सञ्चालन गरिनेछ ।
- नेपाली सेना, निजी तथा सामुदायिक अस्पतालको सहकार्यमा सर्पदंश उपचार केन्द्र स्थापना गर्नका लागि पहल गरिनेछ ।
- लम्कीचुहा स्थित आँखा उपचार केन्द्रको स्तरोन्नती गरी सेवा विस्तार गर्न पहल गरिनेछ ।
- आयुर्वेद चिकित्सालयको स्थापनाका लागि आवश्यक पहल गरिनेछ ।
- वडा न. ३ को बल्चौरमा एकाई स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा सुचारु गरिनेछ ।
- लम्कीचुहा नगरपालिका भित्र बर्थिङ्ग सेन्टरहरु स्थापना सगै स्तरोन्नती गरिनेछ ।
- सरकारी तथा सामुदायिक अस्पतालमा रहेका प्रयोगशालालाई स्तरोन्नती गर्ने तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला सेवाका लागि पहल गरिनेछ ।
- लम्कीचुहा अस्पतालमा मृगौलाका विरामीको डायलिसिस उपचार सेवाका लागि पहल गरिनेछ ।
- वडाका आधारभूत स्वास्थ्य केन्द्रमा एक एक वटा एम्बुलेन्सको व्यवस्था गर्न पहल गरिनेछ ।
- खोप केन्द्र तथा गाउँघर किलिनिकका लागि आवश्यक पूर्वाधार सहित स्रोत साधनको व्यवस्थापन गरिनेछ ।
- सरकारी अस्पतालले निशुल्क रुपमा वितरण हुने औषधीको व्यवस्थापन गरिनेछ ।
- गरिव तथा विपन्न परिवारका सुत्केरीको सुविधाका लागि घरदेखि अस्पतालसम्म ल्याउन र पुर्याउन निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ ।
- गरिव तथा विपन्न परिवारका ६८ बर्ष उमेर भएका नागरीकहरुलाई नगर अस्पतालसम्म पुग्न एम्बुलेन्सको निशुल्क व्यवस्था गरिनेछ ।
- जेष्ठ नागरिक व्यक्तिलाई उपचारमा प्राथमिकता दिई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।
- स्वयमसेविकाहरुको क्षमता अभिवृद्धि गरी एकमुष्ट प्रोत्साहन अनुदानका साथै प्रत्येक स्वयम सेविकालाई साईकल र मोबाईल दिईनेछ तथा सुनौलो अनिवार्य अवकास योजना लागू गरी कार्यान्वयन गरिनेछ ।
- स्वास्थ्य विपद तथा महामारी नियन्त्रण र व्यवस्थापनका लागि वहुपक्षीय सहकार्य, आपतकालीन स्वास्थ्य संयन्त्र तथा द्रुत प्रतिकार्य टोली बनाईने छ ।
- स्वास्थ्य क्षेत्रका वेरोजगार जनशक्तिलाई समूह र क्लबमा जोडेर स्वास्थ्य शिविरहरु तथा किशोर किशोरी प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
- थारु जातिमा मात्र देखिने सिकलसेल्स रोगको उपचारको लागि शिविर सञ्चालनगरी पहिचान भएका विरामीको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।
- स्वास्थ्य संस्थाबाट नियमित भइरहेका मातृशिशु पोषण, खोप, स्वास्थ्य परिक्षण, गर्भवती महिला स्वास्थ्य परिक्षण तथा पोषण, सुत्केरी महिलाको हेरचाह र परिवार नियोजन कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
- विद्यालय तथा अस्पताल क्षेत्रको निश्चित दुरीमा सुर्तिजन्य, मदिराजन्य तथा अस्वस्थकर खाना प्रयोग र विक्री वितरण निषेध गरिनेछ ।
- स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु संग स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरु आदि संचलान गरिनेछ ।
- नगर अस्पतालको मातहतमा शव वाहनको व्यवस्था गरिनेछ ।
- स्वास्थ्य सेवा र संरचनालाई बालमैत्री, लैङ्गिकमैत्री, ज्येष्ठ नागरिक मैत्री र अपाङ्गमैत्री बनाइनेछ ।
- लम्कीचुहामा खुलेका सामुदायिक अस्पताललाई आवश्यक सहयोग जुटाउन पहल गरिनेछ ।
- लम्कीचुहा नगरपालिका भित्र संचालन भएका निजी क्लिनिकहरुको ऐन तथा मापदण्ड अनुसार सञ्चालन भए नभएको अनुगमन गरी व्यवस्थित गरिनेछ ।
खानेपानी तथा सरसफाइ
- स्वस्थ नगरका लागि शुद्ध खानेपानी नीति लिई नगरका सञ्चालनमा रहेका आयोजनाको सुदृढीकरण, निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्ने तथा थप आवश्यक योजनाहरुको निर्माण गरी एक घर एक धारा को व्यवस्था गरिनेछ ।
- लम्की साना शहरी खानेपानी मार्फत कर्णाली नदीको पानी पाइपलाइन मार्फत न.पा.का वडा न. १,२,४,५ का दश हजार घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराउन यस लम्कीचुहा नगरपालिका र लम्की साना सहरी खानेपानीको सहलगानीमा आयोजना सुचारु गरिनेछ ।
- लम्कीचुहा वडा न. १० मा रहेको तिघरी खानेपानी आयोजनालाई स्थानीय, प्रदेश र संघको साझेदारीमा आगामी दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइनेछ ।
- लम्कीचुहा वडा न. ८ मा रहेको डमरीया बचेला खानेपानी आयोजनाकलाई यसै आर्थिक बर्ष भित्र सम्पन्न गरी जनताको घरमा खानेपानीको धारा जडान गरिनेछ ।
- लम्कीचुहा वडा न. ६ मा रहेको चुहा खानेपानी तथा सरसफाई समिति(ढाडेखोला)लाई पूर्वाधार मर्मत तथा सम्भारका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
- लम्कीचुहा वडा न. ४ मा रहेको बौद्ध गुम्वा खानेपानी आयोजनाको पूर्वाधार मर्मत तथा सम्भारका लागिआवश्यक व्यवस्था मिलाइनेछ ।
- वडा न. ३ को चिसापानी खानेपानी आयोजना निर्माण कार्यलाई सुचारु गरी आगामी आर्थिक बर्षमा निर्माण कार्य सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ ।
- लम्कीचुहा नगर क्षेत्र भित्रकावडा न. ५ चौरी, वडा न. ४ को बलिया, वडा न. को २ बघिनिया, वडा न. ७को खरौला र हरैयापुर तथा वडा न. ९ को प्रतापपुर खानेपानी आयोजनाहरुको मर्मत तथा सम्भारका लागिआवश्यक व्यवस्था मिलाइनेछ ।
- नगर क्षेत्र भित्रका ह्यान्ड पम्पहरुमा आउने खानेपानीको परिक्षण गरी स्वच्छ खानेपानीको व्यवस्थामा मिलाइनेछ ।
- सम्पूर्ण नगरबासीलाई ५ बर्ष भित्र स्वच्छ खानेपानीको प्रबन्ध गर्न प्रदेश र संघीय सरकारसँग समन्वय गरिनेछ ।
- नगर क्षेत्र भित्र हुने खानेपानी आयोजनाहरुको पाईपहरु बिछ्याउँदा सडकको दबै तर्फ बिछाउने प्रबन्ध गरिनेछ । सडक कालोपत्रे भईसकेका ठाउँमा खानेपानी संस्थालाई सडक सुरक्षित हुने गरी खानीपानी पाईप विछयाउँन निर्देशित गरिनेछ।
- प्रत्येक वडामै फोहोर व्यवस्थापन गर्न साधन उपलब्ध गराइने छ ।
- लम्कीचुहा न.पा. वडा न.१ धोविनिया खोलामा तयार पारिएको ल्यान्डफिल साइटमा फोहर व्यवस्थापन गर्न आधुनिक प्रविधिको प्रयोग गरी फोहर प्रशोधन मार्फत फोहरबाट मोहर आर्जन गर्ने नीति लागू गरिनेछ।
- समुदायसँगको सहकार्यमा स्थानीय सार्वजनिक क्षेत्र, सडक, धार्मिक स्थल, पुरातात्विक तथा पर्यटकीय स्थल, पानीको मुहान, नदीनाला एवं ताल तलाउको नियमित सरसफाइ गरिनेछ ।
- बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण सँगै घुम्ती शौचालयको पनि व्यवस्था गरिनेछ ।
- खानेपानी तथा सरसफाई डिभिजन एवं लम्की खानेपानीको समन्वयमा खानेपानी सेवा प्रवाह क्षेत्रमा नगरको सहकार्यमा पानीढल निकासको व्यवस्थापन गरिनेछ ।
- सरसफाई तथा खानेपानीको विकासका लागि आवश्यक गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
सामाजिक सुरक्षा
- एकिकृत सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न कोखदेखि शोकसम्म एकिकृत कार्यक्रम नीति अवलम्वन गरिनेछ ।
- कमलरी तथा मुक्त कमैया संग उपमेयर कार्यक्रमसञ्चालन गरी कमलरी तथा मुकत कमैयाहरुलाई शिक्षा, सीप र रोजगारमुलक कार्यक्रममा सहभागि गराइने छ ।
- बडघर, भलमन्सा, चिराकी प्रथाको नियम बनाई संरक्षण तथा सम्बर्द्धन गरिनेछ ।
- ज्येष्ठ नागरिक र अपाङ्गलाइ घरमै भत्ता, घरमै स्वास्थ्योपचार कार्यक्रम लागू गरिनेछ ।
- आवश्यक स्थानमा ज्येष्ठ नागरिक दिवा मिलन केन्द्र स्थापना गरिनेछ र खुलेका ज्येष्ठ नागरिक दिवा मिल्न केन्द्रहरुलाई व्यवस्थित गर्न एकमुष्ट अनुदान दिने नीति लिइनेछ।
- प्रत्येक वर्ष १० जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्मान गरिनेछ ।
- राजी, सोनाहा जस्ता लोपोन्मुख जातिको संरक्षण तथा बस्ती व्यवस्थापन गरिनेछ ।
- मुक्त कमैया, वादी र सोनाहा जातीका +२ र उच्च शिक्षा पढने छोरी बुहारीलाई प्रोत्साहन गर्न साईकल वितरण गरिनेछ ।
- नागरिक साहायता कोष निर्माण गरेका संस्थासँग समन्वय गरीकार्यक्रमहरु सञ्चालनको लागि सहयोग उपलब्ध गराइनेछ ।
- नगरपालिकाभित्र गठित प्रतिष्ठानहरुलाई उचित व्यवस्थापन तथा कार्यक्रम संचालनका लागि आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।
- चेलिवेटी वेचविखन, योन शोषण तथा घरेलु हिंसाबाट पिडित महिलाको सहायताका लागि सेफ हाउस निर्माणका लागि निजी क्षेत्रसँग समन्वय गरिनेछ ।
- जातीय विभेद, लैङ्गिक विभेद र वर्गीय विभेदको अन्त्य गर्न विशेष पहल गरिने छ।
- छुवाछुत प्रथा, छाउपडी प्रथा, बालविवाह, बहुविवाह, अनमेल विवाह विरुद्ध व्यापक जनचेतना तथा जागरणका लागि कार्यक्रम लागू गरिनेछ ।
- गरिव तथा अति विपन्न वर्गलाई कानुनी परामर्शमा लाग्ने शुल्क छुट गरिनेछ ।
- महिला सशक्तीकरणका लागि विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गरिनेछ ।
- लैङ्गिक हिंसाविरुद्ध चेतना अभवृद्धि तथा महिला हक, अधिकारको संरक्षण गरिने छ ।
- एकल महिलालाई दिइने सहुलियतमा वृद्धि गरिने छ ।
- हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधलाई कडाइका साथ नियन्त्रण गरिने छ।
- मृतकहरुको अन्तिम सस्कार धर्म परम्परा अनुसार गर्न चिताघाटको व्यवस्था तथा विद्युतीय शवदाह–गृहको निर्माणका पहल गरिने छ ।
- ईसाइ धर्मालम्वी, बौद्ध धर्मालम्वी, दसनामीसन्यासी र मुस्लिम जातिको शव संस्कारको लागि क्षेत्र निर्धारण गरी व्यवस्थापन गरिनेछ ।
- निम्न आय स्तरका मृतकका परिवारलाई मृत्यु संस्कार खर्च उपलब्ध गराइने छ ।
- लम्कीचुहाक्षेत्रभित्रका रातो कार्ड प्राप्त अपाङ्गता, निलो कार्ड प्राप्त दृष्टिविहिन अपाङ्गलाई मासिक प्रोत्साहन भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
महिला तथा बालबालिका
- बाल पोषण, बाल शिक्षा : दुर्व्यवहारमुक्त महिला तथा बालबालिका, समान ज्याला समान सुरक्षा नीति अबलम्वन गरी बाल अधिकार तथा महिला अधिकारको रक्षा र सुनिश्चितता गरिनेछ ।
- बाल क्लब तथा बालसंजालहरु गठन गरी बालबलिकाको सर्वाङ्गिण विकासमा टेवा पुग्ने गरी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- नगरस्तरीय महिला संजाल समुहको गठन गरी महिलाहरुको सशक्तिकरण, सामाजिक सुरक्षा र रोजगारका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- शिक्षा तथा रोजगारीमा समान अवसर प्रदान गर्ने, घरेलु हिंसाको अन्त्य गराइने, महिलाको सामाजिक सहभागितामा विशेष जोड दिइने छ ।
- महिला अधिकारको रक्षा र कानुनी उपचार एवं मौलिक हक उपयोगमा वाधा आउन दिइने छैन । बाल अधिकारको संरक्षण गरिने छ ।
- बाल मजदुर राख्न नदिइने र बालशिक्षा र पोषणको अधिकार सुरक्षित गरिने छ । एक टोल एक शिशु विकास केन्द्रको स्थापनाको नीति लिइने छ ।
- बालबालिकाका लागि बालप्रतिभा पुरस्कारको स्थापना गरिनेछ । बालहिंसा दुर्व्यवहार र शोषण विरुद्धका कार्यक्रमहरु सञ्चालन गरिनेछ । बालविवाह तथा बाल यौन दुराचारलाई निरुत्साहित गरिने छ ।
- महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग आवश्यक गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचलान गरिनेछ ।
आदिबासी, जनजाति तथा दलित
- दलित तथा जनजाति संग स्थानीय सरकार कार्यक्रमसञ्चालन गरी आर्थिक रुपमा आत्मनिर्भर, सामाजीक कार्यमा सम्मानजनक सहभागिता, राजनैतिक रुपमा नेतृत्व क्षमता विकास, सांस्कृति र परम्परागत सीप तथा प्रचलनको सम्मान तथा संरक्षण र कानूनी रुपमा न्यायमा पहुँच अभिवृद्धि गरिनेछ ।
- आर्थिक अवस्था न्यून भएका दलित तथा जनजातिलाई विना धितो ऋण तथा सहुलियत कर्जामा पहुँच अभिवृद्धि गरी रोजगारी सृजना गरी गरिवी निवारणमा टेवा पुर्याईने छ ।
- जातिय छुवाछुत र विभेदलाई सामाजिक अपराधको रुपमा लिदै शून्य सहनशीलताको नीतिको अवलम्वन गरी सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न पहल गरिने छ ।
- आदिबासी, दलित तथा जनजातिहरुको भाषा, धर्म, संस्कृति, कला र परम्परालाई प्रवर्द्धन तथा सम्वर्द्धन गरिनेछ।
- आदिबासी, दलित तथा जनजातिहरुको शिक्षा, सीप, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच वृद्धि गरिनेछ ।
फरक क्षमता नागरिक
- पूर्णरुपमा अपाङ्गता भएका व्यक्तिलाई उपचारमा प्राथमिकता दिई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।
- अपाङ्गहरुको लागि आवश्यक स्रोत साधन(कृतिम अंग, फोल्डिङ्ग ह्वाईट स्टिक, हुवीलचेयर, श्रवण यन्त्र आदि) सरोकारवाला संघसस्थाको समन्वयमा उपलव्ध गराइनेछ ।
- फरक क्षमता भएका विद्यार्थीहरुलाई विशेष विद्यालय र आवासीय छात्रवृत्तिको व्यवस्था मिलाइने छ।
- आपाङ्गता भएका नागरिकको क्षमता तथा सिप विकासका लागि छुटै तालिमको व्यवस्थापन गरिनेछ ।
- जनआन्दोलन तथा सशस्त्र क्रान्तिमा घाइते भई अपाङ्ग भएका व्यक्तिको जटिल रोगको उपचारमा सहयोग गरिनुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइनेछ।
खेलकूद, युवा तथा स्वरोजगार
- अनुशासित तथा सीपयुक्त युवाशक्ति : नगरमै रोजगार, विकासमा क्रान्ति नारालाई आत्मसात गर्दै युवाहरुको अनुशासित र व्यवसायिक खेल जीवनको विकास, रोजगारीको सृजना एवं युवाहरुको सर्वाङ्गीण विकासमा जोड दिइनेछ ।
- स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारालाई आत्मसात गर्दै विद्यालयतहदेखि नै बालबालिकालाई खेलकूदका क्रियाकलापमा अघि बढाइने छ ।
- नगर खेलकूद एकेडेमीको स्थापना गरिनेछ ।
- नगर स्तरिय खेलकूद रङ्गशालाको निर्माण गरिनेछ ।
- एक वडा एक खेलकुद प्रशिक्षकको व्यवस्था गरिनेछ ।
- प्रत्येक वडामा सहज पहुँच हुने गरी खेलमैदान र व्यायामशालाको व्यवस्था गरिनेछ ।
- प्रत्येक बर्ष प्रत्येक वडाहरुमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगितासञ्चालन गरिनेछ ।
- प्रत्येक बर्ष नगर स्तरीय मेयर कप खेलकुद प्रतियोगितासञ्चालन गरिनेछ ।
- उपमेयर कप विच फुटबल र विच भलिबल प्रतियोगितासञ्चालन गरिनेछ ।
- जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट भई छानिएका खेलाडीहरुलाई भत्ता तथा पारिश्रमिकको व्यवस्था गरिने छ ।
- खेलाडी तथा खेल प्रशिक्षकको सामाजिक सुरक्षा र प्रोत्साहनको व्यवस्था गरिनेछ ।
- व्यवस्थितनगरमा रहेको खेलमैदानलाई क्रिकेट मैदानको रुपमा विकास गरिनेछ ।
- विच भुरुवा स्थित पंचकोशी खेलमैदानलाई फुटवल मैदानको रुपमा विकास गरिनेछ ।
- थपालीपुर दिपेन्द्र मा.वि.को उत्तर तर्फको खेलमैदानलाई थपालीपुर नगर खेलग्रामयोजनालाई नगर गौरवको योजनाको रुपमा अघि बढाइनेछ ।
- खेलकुद सामाजिक विकास, वातावरण संरक्षण, विपद तथा प्रकोप व्यवस्थापन, आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा युवाहरुलाई स्वयमं सेवकको रुपमा परिचालन गरिनेछ। यसका लागि स्वयमसेवक समूह खडा गरी कार्यविधि समेत तयार पारिनेछ ।
- युवा स्वयंसेवक परिचालन गर्दा नगरप्रमुखको नेतृत्वमा परिचालन गर्ने रणनीति तयार गरिनेछ र स्वयंसेवाको क्षेत्रलाई फराकिलो र व्यवहारिक बनाउन नीतिगत खाका तयार गरिनेछ ।
- नगर खेलकुद विकास समिति र प्रत्येक वडामा वडा खेलकुद विकास समिति गठन गरिनेछ ।
- लैङ्गिक समानता र सशक्तिकरण, लागूपदार्थ दुर्वेयसन, सकारात्मक सोच, मनोसामाजीक परामर्श, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम जस्ता युवा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ ।
- गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई सहज हुने गरी लोकसेवा तयारी कक्षा, जङ्गी तथा प्रहरी सेवा कक्षा तथा भाषा शिक्षा कक्षा सञ्चालनको व्यवस्था गरिनेछ ।
- युवाको साहस, सृजनशीलता, आत्मविश्वास, उद्यमशिलताको उच्च मूल्यांकन गर्दै शिक्षित सीप युक्त उद्यमशील युवाशक्तिलाई नगरको मानवीय पूँजीको रुपमा स्वीकार गर्दै नगरको समग्र विकासमा परिचालन गरिनेछ ।
- युवाहरुको क्षमता प्रष्फुटनका लागि युवा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ ।
लागूपदार्थ दुर्व्यसन नियन्त्रण
- दुर्व्यसनमुक्त समाज : सुरक्षित भविष्यको आधार नीतिलाई अवलम्वन गरी युवाहरुमा फैलिएको लागू पदार्थ दुर्व्यसन, असहज र हिंसात्मक गतिविधि नियन्त्रण गर्न कार्यक्रम संचालन गरिनेछ छ ।
- निजीक्षेत्रका पुनर्स्थापना केन्द्रको संचालनका लागि मापदण्ड निर्धारण गरिनेछ र स्थापना भएका पुनर्स्थापना केन्द्रमा सीपमूलक एवं रोजगारमूलक तालिम संचालन गर्न तथा पूर्वाधार विकासका लागि अनुदान दिने व्यवस्था मिलाइने छ ।
- लागू पदार्थ दुर्व्यसन विरुद्ध जनचेतना जगाउने र स्थानीय पाठ्यक्रममा समेत सो सम्बन्धमा विषयवस्तु समावेश गरिनेछ ।
- अभिभावकको आजको चाहना दुर्व्यसन मुक्त समाजको कामना नारा आत्मसात गर्दै अभिभावकमुखी लागूऔषध दुर्व्यसनी सम्बन्धिसचेतना कार्यक्रम सञ्चालनगरिनेछ ।
- लागूपदार्थ दुर्व्यसनी नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम, गोष्ठी, तालिम र अभियानहरु सञ्चालन गर्न स्थानीय सरोकारवालाहरु संग समन्वय गरिनेछ ।
बस्तु उत्पादन तथा मूल्य नियन्त्रण
- बजारको नियमित अनुगमन गरी कृतिम मूल्य वृर्द्धि गर्ने प्रवृतीलाई निरुषाहित गरिनेछ ।
- उपभोक्ताको हितलाई ध्यानमा राखी सुलभ र सस्तो दरमा आपूर्ति हुने व्यवस्था मिलाई उपभोक्ता अधिकार सुनिश्चत गरिनेछ।
- पेसागत तथा राजनीतिक अभीष्ट प्राप्तिका लागि हुने बन्द, हडताल रोक्न पहल गरिने छ ।
यातायात तथा पूर्वाधार
- गुणस्तरीय पूर्वाधार : नगरको दिगो विकासको आधार को मूल नीति सहित नगर क्षेत्रको पूर्वाधार विकासलाई सेवामूलक, उत्पादनमूलक र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने गरी निर्माण गरिनेछ ।
- लम्कीचुहा नगरपालिका भित्र यातायात सेवालाई सहज बनाउन नगरबस सेवा संचालन गरी ज्येष्ठ नागरिक र अपाङ्ग यात्रुलाई बसभाडा पूर्ण छूट गरिनेछ ।
- लम्कीचुहा नगरपालिका क्षेत्रमा यातायात व्यवस्था कार्यालयको एकाई स्थापनाका लागि पहल गरिनेछ ।
- लम्कीचुहा नगरपालिकाको चिसापानीदेखि पश्चिमी सीमासम्म पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन पहल गरिनेछ ।
- आगामी आर्थिक बर्षमा संघ, प्रदेश र नगरपालिकाको लगानीमा ३० किलोमिटर सडक कालोपत्रे गरिनेछ ।
- चालु आ.व २०७८/०७९ मा कालोपत्रे गर्न प्रस्ताव गरिएका सडकहरुलाई कालोपत्रे गरिनेछ ।
- भौतिक पूर्वाधार निर्माणका लागि भौतिक साधनको मर्मत सम्भार गरी परिचालन गरिनेछ ।
- ट्राफिक व्यावस्थापनका लागि बजार क्षेत्रमा पार्किङ्गको व्यवस्थापन गरिनेछ ।
- लम्कीचुहा वडा न.१ मा स्थित लम्की बसपार्कलाई सुव्यवस्थित रुपले सञ्चालन गरिनेछ ।
- स्थानीय क्षेत्रका सार्वजनिक यातायातका साधनहरुको व्यवस्थापनका लागि नियमन तथा नियन्त्रण गरिनेछ ।
- शहरी तथा ग्रामीण क्षेत्रमा सडक तथा यातायातको पहुँच विस्तार गर्दा पानीका स्रोत, बनजंगल, प्राकृतिक स्रोत तथा धार्मिक क्षेत्रको प्रतिकुल असर नपर्ने गरी विस्तार गरिनेछ ।
- पाँच बर्षे सडक रणनीतिक योजना तयार गरी नगर क्षेत्र भित्रका सडकहरुलाई सुदृढिकरण गर्दै कालोपत्रे गर्न जोड दिइनेछ ।
- वातावरणमैत्री ग्रामीण सडक विस्तार, सडकहरुको कालोपत्रे र पक्की नाली निर्माणका साथै सडकको दुबैतर्फ छायाँदार वृक्षारोपण गरिनेछ ।
- नगरपालिकामा निर्माण हुने सडक, खानेपानी, सिचाइँ, अस्पताल भवन, विद्यालय भवन जस्ता पूर्वाधार निर्माण गर्दा नगर स्तरीय, प्रदेश स्तरीय र संघ स्तरीय योजनाको रुपमा संयुक्त लगानीमा निर्माण गरिनेछ ।
- डुवान क्षेत्रको पहिचान गरी नाला निर्माणलाई प्राथमिकता दिईनेछ ।
- वडा न.९ को वडा कार्यालयलाई मर्मत सम्भार सहित थप तला निर्माण गरिनेछ ।
- सबै सामुदायिक विद्यालयका भवन, पुस्तकालय, शौचालय निर्माण तथा कम्पाउन्डमा पक्की पर्खाल निर्माण गरिनेछ, खानेपानीका पूर्वाधार निर्माण गरिनेछ ।
- नगर उद्यान मोहनलाल पार्क मोहनलाल सामुदायिक वन उपभोक्ता समुह ल.चु.२,५,७ लाई स्वीकृत भएको डिपिआरको आधारमा नगर गौरवको योजनाकोरुपमा क्रमागत विकास गरिनेछ ।
- नगरपालिकाका विभिन्न खोला नदीहरु जस्तै धोबिनिया खोला, रोरा खोला, चोरी खोला, चरेला खोला, पथरिया खोलाका र भल्का नालाका आवश्यक ठाउँहरुमा तटबन्धन, झोलुङ्गे पुल र पक्की पुल निर्माण गरिनेछ ।
- भौतिक संरचनाको गुणस्तर मापनको लागि प्राविधिक प्रयोगशाला स्थापना गरिनेछ ।
सहरी विकास
- सुन्दर, स्वस्थ, सुरक्षित र सुसंस्कृत शहर निर्माणका लागि एकिकृत शहरी विकास योजना निर्माण गरी पूर्वाधार विकास निर्माण गरिनेछ ।
- स्थानीय सरकारहरु, प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा नगर गौरव योजनाको रुपमाअत्याधुनिक नगर सभागृह(सिटि हल)निर्माण गरिनेछ ।
- नगरपालिकाको आवश्यकता अनुसार थप एउटा दमकलको व्यवस्थापन गरिनेछ ।
- अतिविपन्न र बादीबस्तीका परिवारका लागि मेयर आवास कार्यक्रम सञ्चालन गरिनेछ ।
- सबै वडाका मुख्य बस्ती जोडने गरी पक्की नाला सहितको सहरी विकास योजना अनुसार चक्रपथ निर्माण गरिनेछ ।
- नेपाल प्रहरीको समन्वयमा मुख्य चोकहरु तथा सम्वेदनशील क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरिनेछ ।
- विद्युत सहकारीसंग समन्वय गरी सडकबत्तीको व्यवस्था गर्ने, सडकमा रहेका सोलार बत्तीको मर्मत सम्भार गर्ने तथा सडकबत्तीको व्यवस्थापनका लागि संयन्त्रको निर्माण गरिनेछ ।
- नगर क्षेत्र भित्र रहेका नालाहरुको अतिक्रमण हटाई ढल निकास सहितको सडकको व्यवस्था गरिनेछ ।
- बहुउपयोगी यात्रु प्रतीक्षालय र ग्रामिण चोकमा चौतारीहरुको निर्माण गरिनेछ ।
- खरको छानालाई विस्थापित गरी टिनको छाना दिने व्यवस्था गरिनेछ ।
- सार्वजनिक तथा निजी भवनहरुको निर्माण गर्दा राष्ट्रिय भवन संहिताको पालनामा जोड दिई निरन्तर अनुगमन गरिनेछ ।
- सडक सौन्दर्यकरण गर्न फूलफुल्ने विरुवाको वृक्षारोपण गरिनेछ ।
- सुन्दर बजार निर्माणका लागि आवश्यकता अनुसार पसलहरुको वर्गीकरण गरी व्यवस्थापन गर्न सम्बन्धित उद्योगी, व्यवसायी तथा सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरी क्षेत्रगत रुपमा बजार व्यवस्थापन गरिनेछ ।
- लम्कीचुहा नगरपालिकाकाको क्षेत्रको स्पष्ट सीमांकन गरी छिमेकी पालिकाहरु सँगको सिमा विवाद समाधान गर्नुका साथै वडा तहको सीमालाई पनि अध्यावधिक गरिनेछ ।
भूमि व्यवस्थापन
- स्थानीय सरकार जनताको साथमा एक बर्ष भित्र लाल पुर्जा हातमा नारालाई सार्थक बनाउन भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न लगत संकलन, प्रमाणीकरण, जग्गा नापी र पूर्जा वितरण कार्यलाई यथाशीघ्र सम्पन्न गरिनेछ ।
- घरबास विहीन नगरबासीको पहिचान गरी आवासको व्यवस्था गरिनेछ।
- भूमि प्रशासनको स्थानीयकरण गर्न नगरपालिकामा मालपोत तथा नापी सेवा प्रदायक कार्यालयको स्थापना गर्न पहल गरिनेछ ।
- कृषि, आवास, व्यवसाय, औद्योगिक, खानी तथा खनीज, साँस्कृतिक तथा पुरातात्विक, वन, सार्वजनिक उपयोग तथा खुल्ला र अन्य क्षेत्र सहित विभिन्न भागमा वर्गीकरण गरी नगरमा भू-उपयोग नीति लागू गरिनेछ।
- नगर भित्रको सार्वजनिक तथा पर्ती जग्गाको खोजी गरी नगरको मातहतमा ल्याउने व्यवस्था मिलाइने छ ।
- भूमि बैंक स्थापना गरी स्थानीय सरकारलाई आवश्यक पर्न सक्ने भूमिको संचित गर्ने तथा आवश्यक संरचनाहरु निर्माणका लागि भूमिको उपयोग गरिनेछ ।
वन, वातावरण तथा उर्जा
- हरियो वन प्रकृतिको उपहार : वातावरणीय अनुकूलता अक्षय जलाधार भन्ने मान्यतामा रही प्राकृतिक स्रोधनको उपयोग, संरक्षण तथा व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिनेछ ।
- जलाधार क्षेत्र, खानी तथा खनिज पदार्थ, वन्यजन्तु संरक्षण, खानीजन्य वस्तु तथा ढुङ्गा, वालुवा, गिट्टी, माटोको अनियन्त्रित दोहनलाई नियमन र नियन्त्रण गरिनेछ ।
- सामुदायिक, साझेदारी, निजी, कबुलियती र राष्ट्रिय वनमा जडीबूटी खेती र मसला खेती गरिनेछ ।
- खुल्ला क्षेत्रमा वृक्षारोपणमा जोड दिइनेछ।
- एक सामुदायिक बन एक जडीबूटी उत्पादन कार्यक्रमलाई लागू गरिनेछ ।
- स्थानीय सरकार र सामुदायिक वनको समन्वयमा योजना निर्माण, सामुदायिक वनको सेवाप्रवाहमा सहकार्य, कर तथा शुल्क निर्धारणमा समन्वय, वनपैदावार माथि उपभोक्ताको अधिकार र दायित्व सुनिश्चित गरिनेछ ।
- नगर क्षेत्रका ३ वटा सामुदायिक बन समुहमा नर्सरी निर्माण गर्न नर्सरी नाईके तालिम दिई, बिउँ, मल, सिचाइँको व्यवस्था गर्न आवश्यक अनुदान प्रदान गरिनेछ ।
- बाल उद्यानहरु निर्माण गरिनेछ ।
- नगर भित्र रहेका बन तथा वातावरणसँग सम्बन्धित संघसस्था र क वर्गका बैंकले विद्यालय हाता तथा सडकका छेउछाउँमा ट्रीगार्ड सहितको वृक्षारोपण गर्न आवश्यक समन्वय गरिनेछ ।
- धोबिनिया खोला, रोरा खोला, चोरी खोला, चरेला खोला र पथरिया खोला किनारमा तटबन्धन गरी बेतबाँस, बाँस, डाले घाँस लगायतका बोटविरुवा वृक्षारोपण गर्ने र खोला किनारका खाली जग्गामा बृक्षारोपण गरिनेछ ।
- एक व्यक्ति एक वृक्षरोपण अभियान सञ्चालन गर्न प्रत्येक व्यक्तिलाई फलफूल र डालेघाँसका वोटविरुवा निशुल्क उपलव्ध गराइनेछ ।
- उच्च मूल्य भएका बोटबिरुवाको उत्पादन गर्नका लागि सरकारी तथा गैर सरकारी क्षेत्रसँग साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।
- वन तथा वातावरण क्षेत्रका सरोकारवालाहरुसँग वन तथा वातावरण क्षेत्रको विकासका लागि आवश्यक भ्रमण, गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरु संचलान गरिनेछ ।
- बैकल्पिक उर्जामा आधारित आर्थिक गतिविधि र उद्यमशीलतालाई बढावा दिइनेछ ।
- पेट्रोलियम पदार्थको न्यूनीकरण गर्दै नवीकरणीय उर्जा मार्फत दिगो हरित अर्थतन्त्र निर्माणमा जोड दिइनेछ ।
- विद्युतिय सवारी साधन खरिद तथा चार्जिङंग स्टेसन सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।
- विद्युतिय चुलो जनतालाई निशुल्क वितरणका लागि संघीय सरकारसँग पहल गरिनेछ ।
पशुचौपाया र गौशाला व्यवस्थापन
- छाडा पशु-चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिनेछ।
- सामुदायिक बनहरु संग समन्वय गरी गौचरणको व्यवस्थापन गरिनेछ ।
- नश्ल सुधार गरी पशु विमा कार्यक्रम लागू गरिनेछ ।
- भुसिया कुकुरको नियन्त्रण तथा सुरक्षाको लागि लक्षित कार्यक्रम संचालनका पहल गरिनेछ ।
विपद व्यवस्थापन
- स्थानीय विपद व्यवस्थापनको पूर्वतयारी स्थानीय सरकारको जिम्मेवारी नीति अवलम्वन गरी विपदको पूर्व तयारी र न्यूनिकरण, विपदको समयमा राहत र उद्धार तथा विपद पछिको पुननिर्माणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
- विपद व्यवस्थापन कोष खडा गरिने छ ।
- पूर्व तयारीका सम्पूर्ण गतिविधि, मानव संसाधन व्यवस्था, तालिम तथा क्षमता विकास, उद्धार केन्द्रहरुको स्थापना र औजार, साधन, स्रोतको व्यवस्था, स्वयंसेवक लगायत द्रुत उद्धार टोलीको व्यवस्था, सरोकारवालाको समन्वय र सहजीकरण लगायतका कार्यसम्पादन गर्न तयारी अवस्थामा राख्न आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरिनेछ ।
- विपदको पूर्व तयारी र न्यूनीकरण, विपदको समयमा राहत र उद्धार तथा विपद पछिको कार्य आपतकालीन कार्यसञ्चालन केन्द्र मार्फत गरिनेछ ।
सुशासन
- नगरपालिका तथा वडा कार्यलयहरुमा नागरिक सहायता केन्द्रलाई व्यवस्थित गरी सरल र सहज रुपमा सेवा प्रवाह गरिनेछ ।
- आगामी आर्थिक बर्षमा आयोजनामा छुटाईएको ७०% रकम चैत्र मसान्त भित्र खर्च सुनिश्चितताका लागि नगरपालिकाको आन्तरिक नियन्त्रण परिचालन गरिनेछ ।
- खर्चको विवरण नगरपालिकाको वेवसाईट मार्फत सार्वजनिकीरण गर्ने प्रणालीको विकास गरिनेछ र आन्तरिक लेखा परिक्षणलाई प्रभावकारी बनाइनेछ ।
- योजनाको अनुगमन प्रणालीमा स्थानीय सरोकारवालाहरुको सहभागितालाई सुनिश्चित गरिनेछ ।
- सम्पुर्ण सरकारी कार्यलयहरुमा नागरिक बडापत्रको व्यवस्था गरिनेछ ।
- नगरपालिकाबाट संचालित गतिविधि, विकास कार्यक्रम र सेवा प्रवाहको अधिकतम सार्वजनिकीकरण गरी पारदर्शिता र जवाफदेहितामा अभिवृद्धि गरिनेछ ।
- नगरको नियमनकारी भूमिकालाई प्रभावकारी बनाई बजार, बालश्रम, विद्यालय, व्यवसाय दर्ता र सञ्चालन, मदिरा बिक्रि वितरण र सेवन, घर निर्माण, सार्बजनिक जग्गाको साँध, सिमाना, ईन्धन डिपो, होटल, दुध डेरी, मासु पसल, औषधी पसल लगायतका नागरिक जनजिविका संग समबन्धित विषयहरुलाई प्रचलित कानुनको अधिनमा कडाईको साथ अनुगमन गरी स्थानीय सरकारको अनुभुति गराइनेछ ।
- सवारी साधन लगायत अनुत्पादक खर्चमा नियन्त्रण गर्ने नीति लिइनेछ ।
- प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई परिणाममूखी हुने गरी लागू गरिनेछ ।
- व्यवसायको आम्दानी कम स्वघोषणा हुने जोखिम न्यूनीकरण गर्न सहरी क्षेत्रलाई जोनिङ गर्ने र प्रविधिमार्फत् सूचना अद्यावधिक गर्ने र यससम्बन्धि क्षमता अभिवृद्धि गरिनेछ ।
योजना तर्जुमा, तथ्याङ्क प्रणाली, अनुगमन तथा अनुसन्धान र विकास
- नगरको समग्र विकासको खाका कोर्नका लागि नगरप्रमुखको अध्यक्षतामा नगर योजना आयोगको निर्माण गरिनेछ ।
- वडा केन्द्रित बजेट वितरण गरिने छ ।
- लक्षित वर्गको लागि विनियोजन गरिएकोबजेट सोही वर्गको हितमा खर्च गरिनेछ ।
- बिषय विज्ञहरुको लिष्ट तयार गरीविज्ञ सल्लाहाकार समुह (Think Tank)को गठन गरिनेछ ।
- नगरपालिकाको डिजिटल प्रोफाईल तयार गरिनेछ ।
- यातायात गुरुयोजना, पर्यटन विकास योजना तथा आवधिक योजना निर्माण गर्ने व्यवस्था मिलाइने छ ।
- नगरवासीको सामाजीक तथा आर्थिक स्तर अध्ययन गरी परिचय पत्र वितरण गरिनेछ।
- समाजका विभिन्न आयाममा खोज तथा अनुसन्धान गर्न चाहनेहरुका लागि अनुदान व्यवस्था मिलाइने छ।
- नगरबासीको स्थानीय सरकार प्रतिको बढ्दो आकांक्षा एवम् जनविश्वास र बदलिंदो परिवेशसँगै नगरपालिका भित्र निर्माण/सञ्चालन हुने सबै प्रकारका योजना, कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको दरिलो आधार निर्माण गर्दै यस पालिकालाई पूर्वाधारको हिसावले सक्षम, सामाजिक सूरक्षाको हिसावले समतामूलक र सेवा प्रवाहको हिसाबले सुशासनयुक्त बनाउनसबै खाले योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्दा त्यसको गुणस्तरीयता, वातावरणीय अनुकूलता, सामाजिक न्यायर दिगो एवम् सन्तुलित विकासलाई प्रथम प्राथमिकतामा राखि अधिकतम प्रतिफल दिने योजना/कार्यक्रमकाई छनौट गर्ने नीति अबलम्बन गरिनेछ । साथै नगरपालिकाले सञ्चालन गरेका अधुरा योजनालाई प्राथमिकता राखी कार्यान्वयनमा ल्याईनेछ । साथै, योजनामा दोहोरोपननहुँने गरी कार्यान्वयन हुने व्यवस्था मिलाइनेछ।
- सार्वजनिक खरिद योजनालाई पारदर्शी, मितव्ययी र प्रतिस्पर्धात्मक बनाउँदै संस्थागत सुशासन कायम गर्न निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरुको प्राविधिक तथा आर्थिक क्षमता, पूर्व कार्यसम्पादन स्थिति, कामको गुणस्तर र समयावधि, कार्यान्वयनमा रहेका योजनाहरुको ठेक्का सम्झौता र कार्यान्वयनको स्थिति सहितको विद्युतीय प्रोफाइल तयार गरीसञ्चालनमा ल्याइनेछ ।
- नगरपालिकाको आवश्यकता र प्राथमिकताको आधारमा सङ्घीय कानून बमोजिमका मापदण्ड पुरा गरी आन्तरिक तथा वैदेशिक सहायता लिने नीति अवलम्बन गरिने छ । साथै, विदेशी नगरका शहरहरुसँग भगिनी सम्बन्ध स्थापना तथा विस्तार गर्ने, अनुभव आदान प्रदान गर्ने र सो को माध्यमबाट वैदेशिक लगानी आकर्षण गर्ने नीति अबलम्बन गरिने छ ।
- नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै विषयगत तथा क्षेत्रगत योजना/परियोजना/कार्यक्रमहरूको निर्धारित गुणस्तर, मापदण्ड र समय सिमाको सुनिश्चितता गर्न, सम्भावित जोखिम र त्यसले पार्न सक्ने प्रभाव लेखाजोखा गरी समयमा नै क्षती न्यूनिकरण पूर्व तयारी गर्न, विकास निर्माणसँग सम्बन्धित सबै सरोकारवालालाई अनुशासित, मर्यादित, जिम्मेवार र कर्तब्यनिष्ठ बनाउन, आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम राख्दै बढीभन्दा बढी लागत प्रभाकारिता कायम गर्न योजनाको ल्याब परीक्षणरअनुगमन तथा मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
- आर्थिक वर्षको अन्त्य र मध्यतिर योजना/कार्यक्रम परिवर्तन गर्ने तथा बजेट रकमान्तर गर्ने कार्यलाई निरुत्साहीत गरिने छ । साथै, योजना/कार्यक्रम परिवर्तन/संशोधन गर्दा साविकको योजना/कार्यक्रमको प्रभावकारीता भन्दा कम प्रतिफल दिने योजना/कार्यक्रमहरुलाई परिवर्तन गर्न नपाईने नीति अवलम्बन गरिने छ ।
- भुक्तानी प्रकिया तथा योजनाको गुणस्तर अभिवृद्धि गर्न उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिमलाई निरन्तरता दिईनेछ ।
न्यायिक समिति तथा कानुनी मामिला सम्बन्धमा
- स्थानीय तहको न्यायिक अधिकार अन्तर्गत लम्कीचुहा नगरपालिकाको न्याय प्रणालीलाई स्वतन्त्र, पार्दर्शी, पहुँच योग्य, सक्षम एवं विश्वसनीय बनाइने छ।
- विवाद समाधानका वैकल्पिक उपाय एवं मेलमिलाप सम्बन्धि विद्यमान प्रक्रियालाई थप स्पष्टताका साथ अगाडी बढाउनका लागि नयाँ मापदण्डको अध्ययन, अनुसन्धान एवं मष्यौदा तयार गरी कानुन तथा कार्यविधि निर्माणगरिनेछ।
- न्यायमा सहज पहुँच अभिवृद्धिका लागि न्यायिक समिति क्षमता विकास गरिने गरी न्यायमा सहज पहुँच स्थापित गर्न कानुनी ज्ञान एवं सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ एवं न्यायमा पहँच अभिवृद्धि गर्न वडा स्तरमै मेलमिलाप केन्द्र स्थापना गरी थप व्यवस्थित गर्ने व्यवस्था मिलाइने छ ।
मानव पुँजी विकास तथा संस्थागत क्षमता विकास सम्बन्धि नितीहरु
- सुशासन तथा सस्थागत विकासका लागि आवश्यक कानुन ऐन, नियम, नियमावली, कार्यविधिर निर्देशिका आदि निर्माण गरी संस्थागत आदेश प्रति प्रतिवद्ध बनाइने छ।
- नगरपालिकाको प्रशासनिक तथा सांगठनिक संरचना र संस्थागत प्रणालीलाई चुष्त द्रुष्त विश्वसनिय क्षमतायुक्त एवं प्रभावकारी बनाउदै अतिआवश्यक रिक्त दरबन्दीमा उपयुक्त प्रक्रियाबाट पदपूर्ति गरिनेछ ।
- नगरपालिकालाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन र दरबन्दी सृजना संस्थागत विकासको आवश्यकताको आधारमा गरिनेछ ।
- नगर र वडाका सबै कर्मचारीहरुको कार्यविवरण बनाई लागू गरिनेछ र मासिक रुपमा कार्यप्रगतिको प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाइनेछ ।
- उत्कृष्ट कार्य गर्ने नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, फोहरमैला व्यवस्थापन समिति, टोल विकास समिति तथा संचारकर्मीलाई पुरस्कृत गर्ने पद्धतिको थालनी गरिनेछ ।
- सार्वजनिक कार्यालयहरुमा सहज सेवा प्रवाह गर्न, संघसस्थाहरुमा लाइन लाग्ने प्रणाली अन्त्य गर्न टोकन सेवा प्रणाली लागु गरिनेछ ।
टोल विकास संस्था
- टोल विकास संस्थालाई नगर विकासमा सहभागि गराउन र संस्थाको क्षमता बढाउन निश्चित रकम छुट्याइने छ ।
- स्थानीय आमा समुह, बाल क्लव, यूवा क्लव, सांस्कृतिक क्लव, किशोर किशोरी समुह, ज्येष्ठ नागरिक संग समन्वय गरी समुदायबाट आवश्यकता र योजनाको पहिचान गरी जनसहभागिता मार्फत योजनाको कार्यन्वयन गरिनेछ ।
सूचना तथा सञ्चार
- सार्वजनिक संघसंस्थाहरुमा सरल र सहज रुपमा सेवा प्रवाह गर्न फ्री वाइफाइसेवा दिइनेछ ।
- सबै टोल र गाउँमा इन्टरनेटको सुबिधा पुर्याइने छ ।
- वडास्तरमा डिजिटल सूचना कक्षको स्थापना गरिने छ ।
- सूचनाको हकलाई पूर्णरुपमा सुनिश्चित गरिनेछ ।
- युवाहरुलाई रेडियो उदघोषण तथा पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरी जनशक्ति उत्पादन तथा समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- नगरभित्रका संलाचलनमा रहेका सामुदायिक रेडियोहरुलाई अनुदान प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिनेछ ।
- नगरभित्रका संचारका माध्यमहरुलाई प्रोत्साहन अनुदानको व्यवस्था गरिनेछ ।
- संचार माध्यम तथा संचारकर्मीहरुलाई आवश्यक संचार सहायक, संचार उपकरण र संचार उद्यमका समाग्री तथा प्रविधी खरिदका लागि सहुलियत कर्जाका लागि पहल गरिनेछ ।
- नगरभित्र रहेका सार्वजनिक कार्यालयहरुमा Degital Payment सेवाको थालनी गरिनेछ ।
- महिनाको दुइ पटक जनता संग मेयर कार्यक्रम संचालन गरी नगरबासीहरुका जनगुनासो सम्बोधन गरिनेछ ।
- नगरपालिकाले गर्नु पर्ने नियमित सार्वजनिक सुनुवाइ कार्यक्रम मापदण्ड पुरा गरेका यस क्षेत्रका संचार माध्यम र संचारकर्मीहरुलाई प्राथमिकता दिईनेछ ।
शान्ति सुरक्षा
- नगर प्रहरीको गठन गरिनेछ ।
- सामुदायिक प्रहरी सेवा केन्द्रलाई सक्रिय बनाइने छ ।
- प्रतापपुर र चौरीमा स्थाई प्रहरी चौकी स्थापनाका लागि पहल गरिनेछ ।
- बलचैर र बलिया बजारमा अस्थाई प्रहरी चौकी स्थापनाका लागि पहल गरिनेछ ।
- चुहा बजार स्थायी प्रहरी बिट, गुलरा चोक, पंचकोशी चोक, नगर उद्यान मोहनलाल पार्कमा अस्थायी प्रहरी बिट स्थापनाको पहल गरिनेछ ।
- वडा न. ९ को प्रतापपुर बजारमा प्रहरी कार्यलयको भवन निर्माण तथा सवारी साधनको व्यवस्थाका लागि आवश्यक पहल गरिनेछ ।
- नगर भित्रका मुख्य चोक तथा संवेदनशील क्षेत्रहरुमा स्थाई तथा अस्थाई प्रहरी पोष्ट/बिटको स्थापनाका लागि पहल गरिनेछ ।
- बजार क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि उद्यमी व्यापरी संग समन्वय गरी चौकिदारको व्यवस्था गरिनेछ ।
अन्य नीतिहरु :
- स्थानीय विवादहरुलाई आफै समाधान गर्ने मेलमिलापको माध्यमलाई प्राथमिकता दिइने छ ।
- प्राकृतिक न्यायको सिद्धान्तमा आधारित रही स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ मा तवकिएको क्षेत्राधिकारभित्र रही न्यायसम्पादन कार्य गरिने र न्यायिक समितिको काम कारबाहीलाई सर्वसाधारणको पहुँचमा ल्याइने छ ।
- लम्कीचुहाका उद्यमीहरुलाई उद्यमशीलतामा प्रेरित गर्न डुँडेझारी औद्योगिक क्षेत्रको स्थापनाका लागि आवश्यक पहल गरिने छ ।
- बन्द अवस्थामा रहेको बासुलिङ चिनी मिललाई सुचारु गर्न पहल गरिनेछ ।
- संघ, प्रदेश र नगर स्तरीय कार्यक्रम र योजना निर्माण तथा पूर्वाधार विकासका लागि आवश्यक पर्ने जग्गाको खरिद तथा व्यवस्था प्रचलित कानुन बमोजिम नगरपालिकाले गर्नेछ ।
- लम्कीचुहा नगरपालिका भित्रका मुख्य मुख्य भित्री सडकहरुको यस नगर क्षेत्रको सामाजिक, साँस्कृतिक, पर्यटकीय, ऐतिहासिक र राष्ट्रिय भाव तथा विशेषता झल्किने गरी नामाकरण गरिनेछ।
- सोनाहा जाति संरक्षण प्रतिष्ठान गठन गरी सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक र संस्थागत क्षेत्रको विकासमा सहयोग गरिनेछ ।
- सहिद लोकराज ढकाल स्मृति प्रतिष्ठान गठन गरी सामाजिक क्षेत्रको विकासमा सहयोग गरिनेछ ।
- थारु समुदायको खानाका परिकार र पेय पदार्थका परिकारलाई राष्ट्रिय स्तरमा ब्राण्डिङ्ग गरी प्रवर्द्धन गरिनेछ ।
- सहकारीहरुको वृद्धि विकासका तथा पूर्वाधार निर्माणमा विशेष पहल गरिनेछ ।
- ऐन र नियमले अनुबन्धित बाहेक लम्कीचुहा नगरपालिका मातहतका संस्थाहरु जस्तैखानेपानी, समुदायिक बन, शिक्षण संस्था, सहकारी संस्था, क्लव, आदि लगायतका व्यवस्थापन समितिको प्रमुखमा दुई भन्दा बढी पटक दोहरिन नपाउने व्यवस्था गरिनेछ ।
- लम्कीचुहा नगरपालिका भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुका कार्यक्रमहरु एक द्वार प्रणालीबाट संचालन गर्न आवश्यक समन्वय गरिनेछ ।
- लम्कीचुहा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुको अभिमुखीकरण, स्थानीय तहका लागि आवश्यक पर्ने नीति, ऐन, नियमावली, कार्यविधि तथा अन्य कानून तर्जुमा सम्बन्धि तालिम प्रविधिमैत्री सेवा प्रवाहका लागि योजना प्रणाली पञ्जीकरण, सिफारिस, राजश्व र लेखा प्रणालीलाई व्यवस्थित सफ्टवेयर प्रणालीमा राख्ने तालिम, सुशासन सम्बन्धि तालिम, सार्वजनिक सुनुवाइ, सामाजिक लेखा परिक्षण सम्बन्धि तालिम, स्थानीय तह वित्त व्यवस्थापन तालिम, अनुगमन तथा मूल्याकंन सम्बन्धि तालिम र स्थानीय न्यायिक समितिलाई कार्यविधि तथा मेलमिलाप सम्बन्धि तालिम समय सापेक्ष संचालन गरी प्रशासनिक प्रणालीलाई चुस्त दुरुस्त बनाइने छ ।
- प्रस्तुत नीति तथा कार्यक्रम लम्कीचुहा नगरपालिकालाई समृद्ध नगर बनाउने मार्गदशर्क दस्तावेज हो ।यस नगरपालिकालाई सुन्दर र समृद्ध बनाउन सबै नगरवासीको आ-आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण भूमिका र दायित्व छ । यो नीति तथा कार्यक्रम सरकारी गैरसरकारी निजी सहकारी लगायत विकासका सबै साझेदार तथा पक्षधरहरुको साझा मार्गचित्र हो । नगरको विकास सबैको विकास हो । यसकारण विकास निर्माणका काममा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन र रचनात्मक सहयोग सुझाव तथा सल्लाह दिन म नगरवासीलाई हार्दिक आग्रह गर्दछु । नगरवासीबाट प्राप्त सुझाव तथा सल्लाहलाई सदैव आत्मसात गरिने छ । विकास निर्माणका काममा हामी सबैको एउटै दृष्टिकोण हुनुपर्छ भन्ने मेरो बुझाइ हो । केन्द्रीय, प्रादेशिक र स्थानीय योजनाबीच तादात्म्यता कायम गरी नगरको सर्वाङ्गीण विकास र समृद्धिको स्पष्ट दृष्टिकोण अघि सार्न सबैको सहयोग लिइनेछ ।
- प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट उच्च दरको आर्थिक वृद्धि तथा सामाजिक आर्थिक क्षेत्र गतिशील भई पारस्पारिक सम्मान र अवसर सहित सामाजिक न्याय कायम हुनेछ । यस नीति कार्यक्रम कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग हुने विश्वास लिएको छु ।
सम्मानित नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु,
- उल्लिखित नीति तथा कार्यक्रममा सामान्य भाषिक त्रुटिहरु हुन सक्छन् । यसका लागि सम्मानित नगरसभा समक्ष क्षमायाचना गर्दै यदि त्यसो हुन गएमा सच्याउनका लागि नगरकार्यपालिका मार्फत सम्मानित नगरसभा समक्ष सादर अनुमति माग्न चाहन्छु । साथै नगरपालिकाले पेश गरेका आ.व. ०७९/०८० का नीति तथाकार्यक्रम स्वीकृतीका लागि पेश गरेको छु ।
अन्तमा यस लम्कीचुहा नगरपालिकाको विकासमा योगदान दिने सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सञ्चारजगत लगायत सम्पूर्ण आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा विकास साझेदार संस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
साथै प्रस्तुत नीति तथा कार्यक्रम २०७९/०८० निर्माण गर्ने प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने नगरसभाका सदस्यज्यूहरु, सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलका मित्रहरु,अन्य राजनीतिक दलका प्रतिनिधिहरु, तत् तत् क्षेत्रका विज्ञहरु, नगरपालिकाका कर्मचारीहरु विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु सबैमा हार्दिक धन्यवाद । जय नेपाल !
सुशीला शाही नगरप्रमुख |