ऐतिहासिक सडक शिलान्यास : सांसद रावल
कैलाली संवाददाता | २०७९ श्रावण २४ गते ०८:३९ मा प्रकाशित
अक्षर सारथी
लम्की/साउन २३
कैलाली क्षेत्र नं २ का संघीय सांसद झपट बहादुर रावलले ऐतिहासिक बाटोको शिलान्यास भएको बताएका छन् ।
सोमबार कैलालीको लम्कीचुहा–३ चिसापानीमा रणनैतिक महत्वको ‘चिसापनी–खिमडी’ बाटोको शिलान्यास गर्दै सांसद रावलले सो कुरा बताएका हुन् । ‘नुन बोक्ने बाटोको रुपमा इतिहास भएको बाटो अहिले आएर शिलान्यास भएको छ, काम सुरु भएको छ ।,’सासंद रावलले भने, ‘कयौं व्यक्तिले यस बाटोमा यात्राको क्रममा ज्यान गुमाउनु भएको छ । ३०÷३१ वर्ष पहिले ‘गाडी’ पुगेको बाटोको अवस्था हाल सम्म दयनीय रहेको थियो । आज यो ऐतिहासिक सडकको शिलान्यास भएको छ ।’
स्थानीय तथा जनप्रतिनिधिले शिलान्यास भएको ‘चिसापनी–खिमडी’ सडकको सुरुवाती बिन्दु चिसापानी बजार नौ सय मिटर उत्तरतर्फ हो की भन्ने जिज्ञासामा सांसद रावलले सडकको सुरुवाती बिन्दु चिसानपानी बजारनै हुने भएकाले यसमा शंका गर्नुपर्ने कुरै नहुने बताए ।
त्यस्तै रावलले अबको दुई हप्तामा देशकै लामो झोलुंगे पुलको ठेक्का हुने बताएका छन् । ‘म निर्वाचित भएपछि थुप्रै कामहरु गरेको छु । जनताका माझमा बोलको कुराहरु क्रमश रुपमा पूरा गर्दै आएको छु । कर्णाली चिसापानी क्षेत्रको पर्यटन विकासको लागि पनि काम गरिरहेको छु ।,’ सांसद रावलले भने, ‘देशकै लामो झोलुंगे पुल यहि लम्कीचुहा–३ मा बल्चौरमा निर्माण हुँदैछ । निर्माण कार्य सुरु गर्नु पूर्वका काम सम्पन्न भएका छन् । नदि, बालुवा र जङ्गलको माथिबाट बन्ने रमणीय चार किमि लामो झोलुंगे पुलको अबको दुई हप्तामा ठेक्का हुने सूचना मलाई प्राप्त भएको छ ।’
त्यस्तै पूर्व राष्ट्रिय सभा सदस्य कमला कुमारी ओलीले सरकारको पालामा शिलान्यास, उद्घाटन कार्यक्रमहरु हुने गरेको तर, गठबन्धन सरकार भागवण्डामै भुलेको आरोप लगाइन् । ‘जनता भन्दा ठूलो कोही हुँदैनन् । सासंद रावलले त्यही अनुसार काम गरिरहनु भएको छ ।’ ओलीले भनिन्, ‘ओली सरकारको पालमा देशभरीमा विभिन्न योजनाको शिलान्यास तथा उद्घाटनका कार्यक्रमहरु भईरहेका हुन्थे तर, आज भोलिको गठबन्धनको सरकार भने भागबन्डामा भुलेको छ । जनताको काममा ध्यान छैन् ।’ ओलीले विकास निर्माणका काममा आफूहरु सत्ता वा सडकमा भएपनि सहयोग गर्ने बताइन् ।
जिल्ला समन्वय समिति कैलालीका पूर्व प्रमुख सुर्य बहादुर थापाले विकास निर्माणको कार्यको लागि एमालेको नै प्रतिनिधिको आवश्यक रहेको पुष्टि भएको बताए । ‘२०÷३० बर्ष देखिको यो बाटो बनाउने अभियान थालिएको हो । लम्की चिसापानी धैरै राजनीतिक दलको प्रयास भएको थियो ।,’ पूर्व प्रमुख थापाले भने, ‘सुशीला स्वार, मोहनसिंह राठौर लगायतका माननीय भए पनि आखिर यो बाटोको निर्माणको काम माननीय झपट बहादुर रावलबाट भयो । विकास निर्माणका लागि एमालेको नै आवश्यक हो ।’ त्यस्तै पूर्व प्रमुख थापाले असोज कार्तिकमा चिसापानीमा केवलकारको निर्माणको लागि आवश्यक कामहरु अघि बढ्ने बताए ।
त्यसैगरि लम्कीचुहा वडा नं ३ का अध्यक्ष लव बहादुर शाहीले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको चिसापनीको पर्यटनको विकासको प्रतिक्षामा रहेको बताए । ‘आजको ‘चिसापनी–खिमडी’ बाटोको शिलान्यास भएको छ यसका लागि माननीय झपट रावललाई हार्दिक धन्यवाद छ । यसको निर्माणमा आवश्यक सहयोग हामी गर्ने छौं ।,’ वडा अध्यक्ष शाहीले भने, ‘सुदूरपश्चिम प्रवेशद्वारको रुप रहेको भनेर चिसापानी प्रति गर्व त गर्छाै तर, यहि चिसापानी पर्यटन विकासको प्रतिक्षामा छ ।
स्थानीय तथा चिसापानी बजार व्यवस्थापनका अध्यक्ष जनक बहादुर शाहीले ७ मिटर चौडाइ कालोपत्रे हुनपर्नेमा कस्को रणनीतिमा साढे पाँच मिटरमा मात्र कालोपत्रे हुने भएको भन्दै प्रश्न गरे । ‘चिसापानीको लागि खुशीको दिन हो । भुल्न नसकिने दिन हो । व्यवस्था, राजनीति परिर्वतन भएपनि बाटोको अवस्था परिर्वतन भएको थिएन् । सासंद रावलका कारण आज यो सम्भव भएको छ । उहाँ धन्यवाद ज्ञापन गर्दछौं ।,’ समितिका अध्यक्ष शाहीले भने, ‘पहिले कुरा सडकको सात मिटरसम्म कालोपत्रे गर्ने भनिएको थियो । पछि किन र कस्को रणनीतिमा साढे पाँच किलोमिटरमा मात्र कालोपत्रे हुने गरि यो काम भएको छ ?’
‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक महत्वको बाटो’ योजना अनुसार संघीय साँसद झपट बहादुर रावलले अत्यावश्यक बाटोको रुपमा रहेको चिसापानी–खिमडी रोजेका थिए । चिसानी–कुईने–सोल्टा, ताम्चा कोल्तडी हुँदै खिमडी सडकको लम्बाई करिब ६५ किमि रहेको छ । अहिले भने पहिलो साढे सात किमिबाटो कालोपत्रे हुँदैछ । ९ मिटर चौडाइको बाटोमा साढे पाँच मिटर चौडाइमा कालोपत्रे हुने छ भने बाँकी रहेको भागमा फुटपाथ र साईड वाल रहने सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । २५ करोड बजेट बिनियोजन भएको सडकको बाटोको ठेक्का चैतमा भएको थियो । गत असार ३ मा दिव्यज्योती–शाही जे.भी.संग मूल्य अभिबृद्धि कर सहित १२ करोड ८० लाख ८१ हजार ३ सय ५७ रुपैया दुई पैसामा ठेक्का भएको थियो । योजना सम्पन्न गर्नुपर्ने मिति वि.सं २०८१ असार ३ गते रहेको छ ।
अछामका तत्कालीन जिल्ला पञ्चायत सभापति हरि भण्डारीले २०२५ स नेपालगन्जबाट एउटा जिप किनेर चिसापानी–जंगलघाटकै बाटो हुँदै बोकाएर अछाम सदरमुकाम मंगलसेनसम्म पु¥याए । बोकेर मोटर पु¥याएको ५४ वर्ष बितिसक्यो, तर यो बाटोमा पूर्णरुपले अझै गुडेर मोटर पुगेको छैन ।