ह्विलचेयरको आँखीझ्यालबाट निजामतीको सपना
प्रशासक | २०८१ असोज ७ गते १५:४३ मा प्रकाशित
अक्षर साथी
लम्की–२३ भदौ
तराईको चर्को गर्मीमा, जहाँ सूर्यका किरणहरू जमिनमा आगो झैँ झर्छन् , त्यहीँ एउटा युवा, जो हेर्दा २८–३० वर्षको देखिन्छन् उनी ह्विलचेयरमा पसिनाले निथु्रक्क भिज्दै गाउँका कच्ची बाटोमा समान बेच्दै हिँडिरहेका छन् । रुमाल, टोपी, बेल्ट, मालाले भरिएको ह्विलिचयरलाई कच्ची बाटोमा आफूसँगै तानिरहेका उनी आज ११ औं दिन लगाएर कैलालीको धनगढीबाट लम्कीचुहाको प्र्रतापपुर क्षेत्रमा पुगेका छन् । उनको नाम हो अजय चौधरी । उनले जीवनमा यति धेरै पीडा भोगेका छन् कि बिरलैले अरूले सोचेका पनि त्यति पीडा भागेका होलान् । बामे सर्दै गर्दा भर्खर आफै हिड्न सिकेका अजयले मात्र दुई वर्षको उमेरमा पोलियोको कारण उनले खुट्टा गुमाए, र जिन्दगीभरको लागि अपाङ्ग भए । तर, यो शारीरिक अपाङ्गता मात्र होइन, उनीमाथि लागेको समाजको हेला, गरिबीको पीडा, र अवसरको अभावले उनलाई कहिल्यै नछोड्ने घाउ समेत दिएको छ ।
अजयको जीवनको सुरुवात नै एक गम्भीर चुनौतीबाट भयो । जब उनी दुई वर्षका थिए, पोलियोले उनको जीवनलाई अमिट छाप लगायो । बाल्यकालको त्यो समय अजयका लागि केवल एउटा याद मात्र हो, जहाँ उनले आफ्ना दुई खुट्टालाई सधैँको लागि गुमाए । अपाङ्गतासँगै घरको आर्थिक अवस्थाले पनि उनको जीवनलाई थप सङ्घर्षमय बनाएको थियो । ०५२ सालमा कञ्चनपुरको बेलौरीमा जन्मिएका अजयका अभिभावक सामान्य किसान हुन् । खेतिपातीबाट हुने सीमित आम्दानीबीच पनि अजयका अभिभावकले उनलाई विद्यालय पठाए । भोलि आफू नहुँदा शिक्षाले नै अजयलाई बाच्न सजिलो बनाउन सक्ने कुरा बुझेका अजयका अभिभावकले आफूले कम खाए, कम लगाए पनि लेख्ने कलम र पढ्ने किताबको कमी हुन भने दिएनन् । यता अजय पनि मन लगाएर विद्यालय जान थाले । शिक्षा हासिल गर्दा पनि उनलाई कस्तो कठिनाइ भयो होला भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । विद्यालयको त्यो कष्टपूर्ण बाटो, साथीहरूको अपहेलना, र पढाइका सामग्रीहरू जुटाउन पनि उनले कति सङ्घर्ष गर्नुपरेको थियो । तर, यी सबै कठिनाइहरूको सामना गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिए । आज, अजय चौधरी स्नातक तहको चौथो वर्षमा अध्ययनरत छन्। उनले यो स्तरसम्म आइपुग्नका लागि जुन सङ्घर्ष गरे, त्यो उनको जीवनको एउटा ठूलो उपलब्धि हो । तर, अजयको यात्रा यहाँ समाप्त भएको छैन । उनको शारीरिक अवस्था र पारिवारिक स्थिति उनका लागि अझै पनि चुनौती बनेका छन् । बिवाहित अजयलाई आफ्नो परिवारको जिम्मेवारी पनि छ । अहिले एक छोरीका बाबु रहेका अजय धनगढीमा भाडामा बस्छन् । , कोठा भाडा, घर खर्च, छोरी र आफ्नो पढाई खर्च, औषधी मुलो, घरमा पाहुँना आउँदा हुने खर्चले अजयको जीवनलाई थप संघर्षमय बनाएपछि उनले आफ्नो जीवनको अर्को मार्ग खोजे—समान बेच्ने ।
अजयले आफू यता उता जाँदा प्रयोग गर्ने ह्विलचियरलाई नै एउटा व्यवसायिक साधनका रूपमा प्रयोग गर्न थालेका छन् । कठिन परिस्थितिमा पनि उनी आफ्नो जीविकोपार्जनका लागि आत्मनिर्भर बन्ने प्रयास गरिरहेका ह्विलचियरको सहाराले सडकमा समान बेच्दै, आफ्नो परिवारको लागि आर्थिक जोहो गर्न बाध्य छन् । हातको बलले चलाउने ह्विलचियरको कष्टपूर्ण यात्रा गर्दै कैलालीका १३ पालिका मध्य ११ पालिकाका गाउँगाउँ पुग्छन्, गर्मी, धुलो र पानीलाई आफ्नो बाटोको साथी बनाएका अजय ह्विलचियरमा टाँगेर राखेका रुमाल, टोपी, बेल्ट बेच्दै दैनिक ६÷७ सय जतिको व्यापार गर्छन् । लघुवित्तबाट कर्जा लगेर सामान राखेका अजयलाई त्यही कर्जाको मासिक किस्ता बुझाउन पनि हम्मे हम्मे हुन्छन् । कठोर परिश्रम गरेर पनि दुई छाँक टार्न धौंधौं हुँदा कहिले कहि अजय निक्कै निराश बन्छन्, र ह्विलचियरलाई रुखमुनीको छहरीमा लगेर निदाउन खोज्छन् तर, अजयलाई ‘एक’ सपनाले निदाउँनै दिदैन् । बेच्न राखिएको समानले भरिएको ह्विलचियरको आँखी झ्यालबाट उनले निजामति कर्मचारी बन्ने सपनाले नै न नदिउन दिन्छ, न थाक्न ।
ह्विलचेयरमा बसेर समान बेच्दा पनि उनको आँखा सधैं सपनाहरूको पछाडि लागिरहेको हुन्छ । लोकसेवाको तयारीमा जुटेका अजयले कहिल्यै हार मान्न चाहेका छैनन् । उनी दिनरात पढ्छन्, किनकि उनलाई थाहा छ, सफलताको लागि सङ्घर्ष आवश्यक छ । उनले आफ्नो जीवनलाई उदाहरणीय बनाउने प्रयास गरिरहेका छन् । उनलाई थाहा छ, समाजले उनलाई अपाङ्गताको दृष्टिले हेर्छ, तर उनी आफूलाई आत्मनिर्भर बनाउँदै समाजलाई गलत साबित गर्न चाहन्छन् ।
धनगढीको एक कोचिङ्ग सेन्टर नियमित लोकसेवाको कक्षा लगिरहेका छन् । समय मिलाएर जीविको पार्जनका लागि गाउँगाउँ सामान बेच्दै हिड्छन् । ह्विलचियरको आँखीझ्यालबाट उनी एक दिन नेपाल सरकारका निजामति कर्मचारी बन्ने ठूलो सपना देखिरहेका छन्। ‘मेरो शारीरिक अवस्था मेरो लागि एउटा अवरोध हो, तर मेरो मन र सपनाले कहिल्यै हार मान्दैन,’ अजय भन्छन् । उनका लागि यो सपना केवल एक कल्पना मात्र होइन, एउटा वास्तविकता हो जुन उनले आफ्नो साहस र संघर्षको बलमा हासिल गर्न सोचमा छन् र तयारी गरिरहेका छन् । तराईको कच्ची बाटोमा, जहाँ धुलो र घामले मानिसलाई थकित बनाउँछ, त्यहाँ अजय चौधरीको ह्विलचेयर अगाडि बढिरहेको छ । उनीसँग खुट्टा नभए पनि, उनीसँग इच्छाशक्ति छ, जुन कुनै पनि बाधा भन्दा ठूलो छ ।
अजयको यो साहस र संघर्षको कथा प्रेरणादायक छ । हाम्रो जस्तो समाजमा कहिलेकाहीं शारीरिक अपांगता भएका मानिसहरूलाई कमजोर र असक्षम ठानिन्छ । तर, अजयको जीवनले देखाउँछ कि शारीरिक अवस्था भन्दा पनि मानिसको इच्छाशक्ति, साहस र दृढता नै वास्तविक शक्ति हो । अजयले आफ्नो ह्विलचेयरलाई जीवनको गन्तव्यसम्म पुर्याउने एक साधन मात्र बनाएका छैनन्, उनले यसलाई आफ्नो आत्मविश्वास, संघर्ष, र इच्छाशक्तिको प्रतीक बनाएका छन् । अजय आफू एक न एक दिनसफल हुनेमा ढुक्क छन् । ‘मेरो सपना अनुसारकै मैले मेहनत गरिरहेको छुँ । म एक दिन अवश्य सफल हुन्छु र, बन्ने छु निजामति कर्मचारी,’ अजय भन्छन्, ‘फेरी हामीले(अपाङ्ग) त ४० वर्षको उमेरसम्म परीक्षा दिन पाउँछौं । कस्सो पास नगरिएला, म पक्कै पास हुन्छु ।’