समाचार
लम्की माध्यमिक विद्यालयमा कक्षा ११ को भर्ना खुल्यो, जापानी र कोरियन भाषा पनि पढाइने
प्रशासक | २०८२ कार्तिक ३ गते १०:३० मा प्रकाशित
अक्षर साथी
लम्की /कार्तिक २
कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसले सञ्चालन गरेको लम्की माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलेको छ । शनिवार क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कक्षा ११ को भर्ना सुरु भएको जानकारी दिइएको हो ।
नवनियुक्त कोअर्डिनेटर अमरबहादुर रावलका अनुसार, कक्षा ११ मा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा भर्ना लिइनेछ । नियमित विषयहरूका साथै जापानी र कोरियन भाषा पनि पढाइने तयारी छ । कार्तिक ११ गतेसम्म खुला भर्नाबाट ९० जनासम्म विद्यार्थीलाई भर्ना गर्ने योजना छ ।
कोअर्डिनेटर रावलले क्याम्पसको दीगो विकास र सुलभ गुणस्तरीय शिक्षाका लागि यो कदम चालिएको बताए । साथै, निकट भविष्यमा विज्ञान संकायमा पनि भर्ना लिने तयारी भइरहेको उनले जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका सदस्य दीपककुमार तिमिल्सेनाले निजी विद्यालयहरूको तुलनामा कम शुल्कमा शिक्षा दिने भएकाले यस क्षेत्रका अभिभावकहरूबाट सहयोग मिल्ने अपेक्षा गरेको बताए । अर्का सदस्य भद्र भण्डारीले निम्न वर्गका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा सहज पहुँच दिन यो विद्यालय सञ्चालन गरिएको उल्लेख गरे ।
क्याम्पसका अनुसार, लम्की माध्यमिक विद्यालयको शुल्क अन्य सामुदायिक विद्यालयहरू जस्तै हुनेछ । कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीहरूले कार्तिक ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।