आफ्नै क्षेत्रको कार्यक्रममा आखिर मुख्यमन्त्री शाहले आक्रोश हुँदै किन भनेः यस्तो क्रियाकलापहरू आइन्दा नगर्नु होला ?
प्रशासक | २०८१ कार्तिक २६ गते ०९:५५ मा प्रकाशित
अक्षर साथी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह आक्रोशित भएका छन् ।
आफ्नै निर्वाचन क्षेत्र कैलाली–२(क) मा आइतबार लम्कीचुहा नगरपालिकाद्वारा आयोजित नगर स्तरिय खेलकुद प्रतियोगिताको कार्यक्रममा मुख्यमन्त्री शाह ‘आइन्दा यस्तो क्रियाकलाप नगर्नु होला’ भन्दै आक्रोशित भएका हुन् ।
समय व्यस्तताका कारण अन्य वक्ताले बोल्न बाँकी रहँदै प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री शाहले आफ्नो मन्तव्यको सुरुवात नै असन्तुष्टिबाट गरेका थिए । शाहले भनेका थिए ‘लम्कीचुहा नगरपालिका विद्यालय स्तरिय राष्ट्रपति तथा नगर प्रमुख खेलकुद प्रतियोगिता रहेको छ । यसमा स्पष्टता भएन ।’
यसरी असन्तुष्टिबाटै आफ्नो भाषणको सुरुवात गरेका मुख्यमन्त्री शाहले सुदूरपश्चिम, यस क्षेत्रमा भएका काम र आगामी योजनाका बारेमा बोली दिनुपर्ने लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपानेको आग्रहलाई समेत अस्वीकार गरेका थिए । ‘मलाई यहाँका आर.पि. सर (अहिले शिक्षा शाखा प्रमुख)ले सुदूरपश्चिमको अभिभावक भएकाले, यहाँले गरेका कामका बारेमा भन्नुहोला, सुदूरपश्चिमका लागि के गर्नु बताउनुहोला, आगामी प्लानहरू के छन् भन्नुहोला भन्ने आग्रह गर्नुभएकोे थियो ।’, मुख्यमन्त्री शाहले भने, ‘आर.पि सरसँग क्षमा माग्न चाहान्छु । आज त्यो कुनै पनि कुरा गर्ने परिस्तथीमा म यो मञ्चमा छैन् ।’
लम्कीचुहा नगरपालिकाको कार्यक्रममा लम्कीचुहाकै नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत समेतको अनुपस्थिती बनेपछि मुख्यमन्त्री शाह आक्रोशित भएका थिए । ‘आज मैले मञ्चमा भन्नै पर्छ । आज यो मञ्चमा पालिकाको प्रमुख छ्रन्, यो मञ्चमा पालिकाको उप प्रमुख छैन्, प्रमुख प्रशासकीय अधिकृत छैन् । अनि तपाईहरूको भाइ छोरा हुँ, भाइ भतिजो भएका कारण जुन सुकै समयमा पनि तपाईँको घरद्वारमा आउन सक्छु । तपाईको मतको उच्च समान गर्ने दायित्वबाट विचलित हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘तर आयोजकहरू (लम्कीचुहा नगरपालिका)ले बुझ्न जरुरी छ, सबैको समान हुन्छ । हरेकलाई सम्मान चाहेको हुन्छ । चाहे त्यो सानो होस वा ठूलो ।अहिलेको आवश्यकता सबैको सहकार्यको हो । सबैलाई जोडेर अगाडि बढ्नुपर्ने, विकास निर्माणका कार्यक्रमहरू, समाज रुपान्तरणका कामहरू हामीले एक अर्काको अस्त्वि स्वीकार गरेर अगाडी बढ्न आवश्यक छ । व्यक्ती सानो, ठूलो सबैको सम्मान हुन्छ चाहेको हुन्छ , त्यसैले यस्ता क्रियाकलापहरू आइन्दा नगर्नुहोला ।’
आफ्नै क्षेत्रको मुख्यमन्त्री, त्यस्तै एउटै पार्टीबाट निर्वाचित मुख्यमन्त्री भएको कार्यक्रममा नगर प्रमुखको उपस्थिति नबनेपछि मुख्यमन्त्री शाह असन्तुष्ट भएका हुन् । मुख्यमन्त्री शाह र लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने, उप प्रमुख जुना चौधरी नेकपा(एमाले)बाट निर्वाचित बनेकी भएकी हुन् । नगर प्रमुख सुशीला शाही विदेश भ्रमणबाट फर्कदै गरेको र नगर उप्र प्रमुख जुना चौधरी धनगढी भएको जानकारी दिइएको छ भने, प्रमुख प्रशासकीय अधिकृत सुषमा महत के.सी. भने यहीँ रहेको जानकारी प्राप्त भएको छ ।
राष्ट्रिय माध्यामिक विद्यालय, बल्चौर व्यवस्थितनगरमा हुने खेलकुद यो प्रतियोगिताका लागि लम्कीचुहा नगरपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
मुख्यमन्त्री शाहको यस आक्रोशले लम्कीचुहा नगरपालिकाको प्रशासनिक व्यवस्थापनलाई पुनर्विचार गर्न बाध्य बनाएको छ ।