समाचार
सामाजिक उत्तरदायित्वलाई तोडमोड गरेर धार्मिक कटुताको सिर्जना गर्ने प्रयास : ईसाई समाज
प्रशासक | २०८१ पौस ९ गते १२:५५ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की, स्थित श्री शहिद स्मृति माध्यामिक विद्यालयमा केही दिन अघि विद्यार्थीलाई झोला वितरण तथा राखिएको मन्व्तव्यका विषयमा आएका समाचारलाई इसाई समाजले सामाजिक उत्तरदायित्वलाई तोडमोड गरेर धार्मिक कटुताको सिर्जना गर्ने प्रयास भनेको छ । र, यसमा समाजले खेद प्रकट समेत गरेको छ ।
मंगलबार लम्कीको शान्ति होटलमा नेपाल राष्ट्रिय ईसाई समाज, लम्कीचुहा नगर ईसाई समाज, लम्कीचुहा नगर जवान समितिले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिइएको हो ।
‘हालै विभिन्न सञ्चारमाध्यममा “कैलालीको लम्कीचुहाका विद्यालयमा झोला वितरण गर्ने नाममा बाइबलको प्रचार“ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा प्रस्तुत तथ्यहरूले हाम्रो समुदायको सामाजिक उत्तरदायित्वलाई तोडमोड गरेर धार्मिक कटुता सिर्जना गर्ने प्रयास गरेकोप्रति हामी खेद प्रकट गर्न चाहन्छौं ।, ’ पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘लामो समयदेखि उपहारको पर्व वडादिन खिष्टमसको अवसरमा, लम्कीचुहा क्षेत्रका विपन्न बालबालिकाहरूलाई शैक्षिक संस्था को औपचारीक पत्रचार र आग्रहमा शैक्षिक सामग्री र अन्य सहयोग प्रदान गर्दै आएको छ । यस कार्यको उद्देश्य मात्र समाजमा आर्थिक रूपमा कमजोर वर्गलाई सहयोग पुर्याउने रहेको छ। तर, यसलाई धार्मिक प्रचारको रूपमा चित्रण गर्नु गलत र भ्रामक छ ।’
आफ्ना कार्यक्रमहरू मानव सेवा सेवा गर्ने उदेश्य रहेको र ति कार्यक्रमहरूले धार्मिक मत प्रचार गर्ने वा आस्था परिर्वतन गर्ने उदेश्य नराख्ने कुरा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै स्थानीय पास्टर जन्मजय भट्टराईमाथि लगाइएका आरोपहरू पूर्णतः असत्य र आधारहीन छन् शैक्षिक सामग्री वितरण कार्यक्रमको क्रममा कुनै पनि धार्मिक प्रवचन वा बाइबलको प्रचार गरिएको छैन धार्मिक भावनामा चोट पुर्याउने तथा समुदायबीच विद्वेष फैलाउने कुनै पनि गतिविधिलाई निरुत्साहित गर्न हामी सबै जिम्मेवार नागरिकलाई आग्रह गर्दै मेलमिलाप, सहिष्णुता, र आपसी सम्मानको भावना विकास गर्न आह्वान गरिएको छ ।