किसानको ३० औं वार्षिक साधारण सभा सम्पन्न
प्रशासक | २०८१ पौस ५ गते १५:०७ मा प्रकाशित
अक्षर साथी
देशकै नमूना सहकारीमध्ये एक लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार लम्की जेसिज हलमा ३० औं वार्षिक साधारण सभा निर्णय प्रमाणिकरण भेला कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले देश-विदेशमा हुँदा आफूहरूले किसानको नाम गर्वका साथ लिएको बताइन्। ‘देशभरिमा रहँदा तथा विदेशमा आफ्नो ठाउँलाई चिनाउँदा किसान बहुउद्देश्यीय सहकारी संस्थाको नाम गर्वका साथ लिएको छौं,’ नगर प्रमुख शाहीले भनिन्, ‘इतिहास लामो भएको संस्था हो। केही व्यक्तिबाट सुरु भएको संस्था आज देशकै नमूना सहकारीको रूपमा रहेको छ। किसान सहकारी लम्कीचुहाको भनेर परिचय दिन पाउँदा आफूलाई गर्व महसुस हुने गरेको छ।’
त्यसैगरी किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्मरबहादुर शाहले संस्थालाई आज यो स्थानसम्म पुर्याउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिदै पछिल्लो समयमा २९ वटा सहकारीलाई देखाएर देशभरका सहकारी खराब हुन् भन्ने प्रचारप्रति गुनासो व्यक्त गरे। ‘किसान सहकारी आज देशको नमूना सहकारीको रूपमा रहेको छ। सहकारीका हरेक सूचकमा हाम्रो बलियो उपस्थिति छ। संस्थालाई यहाँसम्म पुर्याउने सम्पूर्णलाई हार्दिक धन्यवाद छ,’ महाप्रबन्धक शाहले भने, ‘त्यस्तै पछिल्लो समयमा २९ वटा मात्र सहकारीलाई देखाएर देशभरका ३३ हजारभन्दा धेरै सहकारी खराब हुन् भन्ने जुन प्रचार गरिएको छ, यो ठिक काम भइरहेको छैन। राज्यलाई ठूलो मात्रामा कर तिर्ने र रोजगार प्रदान गरिरहेको सहकारी क्षेत्रलाई बदनाम गराउने कार्य गलत हो। यसमा मेरो गुनासो छ।’ त्यस्तै महाप्रबन्धक शाहले उपस्थित इकाइ प्रतिनिधिहरूलाई सहकारी क्षेत्रको योगदान र कामबारे वकालत गर्न समेत अनुरोध गरे।
लेखा सुपरीवेक्षण समितिका संयोजक निपृबहादुर कुँवरले किसान सहकारी संस्था सहकारी संस्था मात्र नभएर एक ब्राण्ड भएको बताए। सुशासनमा कुनै सम्झौता नगरेका कारण किसानले आज रजिष्ट्रर, ढड्डाबाट सुरु गरेको यात्रा कनेक्ट आइपीएससम्म पुर्याएको बताए।
कार्यक्रमका सभाध्यक्ष तथा किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले ०५२ सालमा प्रचलित ऐनअनुसार दर्ता भई सञ्चालनमा आएको र हाल ३ वटा व्यावसायिक युनिटमार्फत सेवा दिँदै आएको बताउँदै संस्थाको वित्तीय अवस्था सुदृढ भइरहे पनि केही ऋणी सदस्यहरूले संस्थालाई तिर्नुपर्ने साँवा-ब्याज समयमा भुक्तानी नगर्दा संस्थालाई व्ययभार थपिँदै गएकोले समयमै साँवा-ब्याज भुक्तानी गर्न अनुरोध समेत गरेका छन्।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव लोकराज तिमिल्सेनाले गरेका थिए भने स्वागत मन्तव्य संस्था सञ्चालक समिति सदस्य सरोजकुमार शाहले राखेका थिए।
किसान बहुउद्देश्यीय सहकारी संस्था देशका प्रमुख ५ सहकारीमध्ये एक सहकारी संस्था हो। ८६ हजार शेयर सदस्य रहेका यस संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ९४ लाख ५९ हजार ७६ रुपैयाँ खुद नाफा आर्जन गर्न समेत सफल भएको छ। वित्तीय युनिट, किसान कोप एग्रो र किसान कोप मार्ट गरी तीन युनिटबाट सेवा दिँदै आएको संस्थाका ५ इलाका कार्यालय, ७ जिल्लामा २० शाखा रहेका छन्।