जनकल्याण सामुदायिक वनको १९ औं वार्षिक साधारणसभा सम्पन्न
प्रशासक | २०८१ माघ ८ गते ११:५१ मा प्रकाशित
अक्षर साथी
कैलालीको लम्कीचुहा–१ स्थित श्री जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा सोमबार भुरुवामा सम्पन्न भएको छ। लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही, लम्कीचुहा वडा नं १ का अध्यक्ष नेत्र प्रसाद खनाल, इलाका वन कार्यालय शेर बहादुर भण्डारी लगायतको सहभागीता रहेको थियो ।
साधारणसभामा समूहका अध्यक्ष भेभुराम चौधरीले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै दीगो वन व्यवस्थापन जैविक विविधताको संरक्षण सामुदायिक विकासमा सुशासन स्थापना गरि १४ लाख ४० हजार रुपैयाँ बराबरको भकारो सुधार कार्यक्रम, १२ सय घरधुरीलाई नि:शुल्क घाँस दाउरा वितरण, २५ लाख बराबरको ग्यान्टीफाँटामा भौतिक संरचना निर्माण र वन संरक्षणका विभिन्न कार्य गरिएको जानकारी दिए । यसैगरि अध्यक्ष भेभुराम चौधरीले ग्यान्टीफाँटालाई पर्यटकीय क्षेत्रको रुपमा थप विस्तार गर्न प्रदेश सरकार र स्थानीय सरकारसँग पहल गर्ने जानकारी दिदै चालू आर्थिक वर्ष ०८१/०८२ अनुमानित आवव्याय ५९ लाख ७४ हजार ८ सय रुपैयाँ रहने प्रस्ताव पेश गरेका थिए ।
त्यस्तै समूहकी कोषाध्यक्ष कलावती चौधरीले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत गर्दै ७८ लाख ३७ हजार ७७७ रुपैयाँको कारोबार भएको जानकारी दिईन । प्रतिवेदनमा उल्लेख भएअनुसार वन पैदावरबाट आम्दानी भएको रकम समुदायको विकास गतिविधि, वन संरक्षण तथा सामुदायिक कार्यमा खर्च गरिएको कोषाध्यक्ष कलावती चौधरीले जनाइन् ।
कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले सामुदायिक वनले नगरपालिकालाई बुझाउनु पर्ने आम्दानीको १० प्रतिशत कर अनिवार्य बुझाउनु पर्ने बताइन् । नगर प्रमुख शाहीले विकासको माग भइ आएको पत्रको बारेमा जानकारी दिदै वनको विकास भने आफै वन समूहले गर्नु पर्ने बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि तथा लम्कीचुहा वडा नं. १ वडा अध्यक्ष नेत्रपसाद खनालले सामुदायिक वनले समुदायको विकासमा ठूलो योगदान पुगाएको बताउँदै अब बनलाई पर्यटनसँग जोड्दै लैजानु पर्ने बताए ।
सभामा सहभागीहरुले वन संरक्षणलाई प्राथमिकता दिँदै वन पैदावरबाट हुने आम्दानीलाई समाज र समुदायको हितमा लगाउनुपर्नेमा जोड दिए। उनीहरुले वन संरक्षणका लागि वन उपभोक्ताबीच सचेतना अभिवृद्धि गर्न र कानूनी रूपले वन क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्नेमा पनि आग्रह गरेका छन्।
सभामा समितिको कार्यशैली, सुशासनको दाबी, काठ दाउरा वितरण प्रणाली र खर्चका केही शीर्षक प्रती समूहका उपभोक्ताहरूले प्रश्न उठाएका थिए । उपभोक्ता जवाफ दिदै समिति वैधानिक र पारदर्शीरूपमा संस्थाले समितिले काम गरेको जवाफ दिदै प्रतिवेदन पासको लागि अनुरोध गरेका थिए । त्यसपछि सभाले प्रतिवेदन पास गरेको थियो ।
कार्यक्रममा समूहका सदस्य, स्थानीय उपभोक्ता र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।