समाचार
मोहनलाल सामुदायिक वनले गर्याे बादरको स्थानान्तरण, किसान खुशी
प्रशासक | २०८१ माघ १३ गते १५:१५ मा प्रकाशित
कैलालीको बघनियाँमा रहेको नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहले बादरहरूलाई स्थानान्तरण गरेको छ ।
वन क्षेत्र आसपासका किसानहरूको कृषि उपज खाने, नष्ट गर्नेका साथै घरका सामान पनि उठाएर बादरहरूले आतंकित गर्न थालेपछि बादरहरूको स्थानान्तरण गरिएको हो । ‘हाम्रो वन क्षेत्र आसपासका किसानका घरमा गएर उनीहरूका खेतीबाली नष्ट गर्ने, घर बाहिर राखेका सामान उठाएर लैजाने काम बादरले गरेर आतंक सिर्जना गरेका थिए ।’ सामुदायिक वनका अध्यक्ष बखत बहादुर बिष्टले भने, ‘अहिले हाम्रो सामुदायिक वनमा रहेका बादरलाई राष्ट्रिय वन क्षेत्रमा स्थानान्तरण गरिएको छ ।
पुस ११ गतेदेखि हालसम्म वनले ५५ बादरलाई स्थानान्तरण गरिएको नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव पदम बहादुर तिरुवाले बताए । ‘किसानलाई आतंकित गर्न थालेपछि समूहले बादरको स्थानान्तरण गर्ने निर्णय भएको थियो ।’ कार्यालय सचिव पदम तिरुवाले भने, ‘पुस ११ गतेदेखि हालसम्म ५५ वटा बादरलाई समातेर स्थानान्तरण गरिसकिएको छ ।’
बादरको स्थानान्तरण भएपछि वन क्षेत्र आसपासका किसान तथा उपभोक्ता खुशी भएका छन् । ‘बादर हाम्रो खेतमा आएर हामीले दुःख गरेर लगाएका खेतीबाली खाईदिने, नष्ट गरेर हैरान गरेका थिए । हामीले मेहनत गरि लगाएका आलु राम्रोसँग खान पाएका छैनौ, मकै खान पाएका छैनौ ।’ किसान विशाले तिरुवाले भने, ‘अहिले सामुदायिक वनले बादरलाई समातेर अर्को ठाउँमा लगरे राखेको छ । अहिले बादर हाम्रो खेतमा आएको देखिएको छैन् । अब भने हामीलाई आफ्ना खेती खान पाउने आश जागेको छ । हामी खुशी भएका छौं ।’
खोरमा केरा, स्याउ, सुन्तला, भुजा लगायतका खानेकुरा राखेर खोरलाई जंगलमा राखेर नियण्त्रणमा लिने र खोरमा हुलिएका बादरलाई राष्ट्रिय वनमा लिएर छोडिएको छ । खोरमा हुलिएका बादर पहिचनका लागि रंग पोतेर ट्याक्टर तथा रिक्सामार्फत राष्ट्रिय वन क्षेत्रमा छाडिएको हो ।