लम्कीचुहामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु, ५ हजारलाई खोप लगाइने
प्रशासक | २०८१ माघ १७ गते १५:१९ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाइमा सञ्चालित यो अभियान अन्तर्गत करिब ५ हजार ७ सय बालिका तथा महिलाहरूलाई खोप लगाइने लक्ष्य राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सञ्चालित यस कार्यक्रमअन्तर्गत नगरपालिकाका विद्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा खोप वितरण भइरहेको छ। १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई प्राथमिकताका आधारमा खोप दिइनेछ । यस खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
नगर प्रमुख सुशीला शाहीले यो अभियानले नगरभित्रका किशोरी तथा युवतीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनाउन ठूलो भूमिका खेल्ने बताइन ।‘यो खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिमलाई न्यून पार्नेछ। विशेष गरी किशोरीहरूलाई यो खोप अनिवार्य रूपमा लगाउन अभिभावकहरूलाई आग्रह गरिएको छ।’
त्यस्तै मेयरले अभियानको शुभारम्भ गर्दै यो कार्यक्रम नगरपालिकाका लागि ऐतिहासिक उपलब्धि हुने बताइन् । उनले भनिन्, ‘हामीले नगरभित्रका बालिकाहरूको स्वास्थ्य सुरक्षाका लागि यो खोप अभियान सञ्चालन गरेका हौं। यस अभियानले नगरवासीको स्वास्थ्यस्तर सुधार गर्न योगदान पु¥याउनेछ।’
स्वास्थ्यकर्मी जयन्ती वि.सि.का अनुसार, पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरस (एचपीभी) का कारण हुने गर्छ। यो भाइरस मुख्य रूपमा असुरक्षित यौन सम्पर्कका कारण सर्ने भए पनि अन्य माध्यमबाट पनि फैलन सक्छ। खोप लगाउनाले शरीरमा प्रतिरोधी क्षमता विकास गर्ने भएकाले यो रोगबाट सुरक्षित रहन सकिन्छ ।
खोप अभियान अन्तर्गत नगरपालिकाका १० वटै वडामा रहेका विद्यालय तथा स्वास्थ्य चौकीहरूमा निःशुल्क खोप प्रदान गरिनेछ । स्वास्थ्यकर्मीहरूले विद्यार्थीहरूलाई खोपको महत्व र यसको दीर्घकालीन फाइदाबारे जानकारी गराइरहेका छन् । अभिभावक तथा शिक्षकहरूलाई पनि यस अभियानमा सहकार्य गर्न आग्रह गरिएको छ।
यस अभियानमा स्वास्थ्य स्वयंसेवक, नर्स तथा स्थानीय संघसंस्थाहरूको सहकार्य रहेको छ। स्वास्थ्यकर्मीहरूले खोप लगाउने व्यक्तिहरूको नामावली संकलन गरी उनीहरूलाई खोप केन्द्रसम्म ल्याउन सहयोग गरिरहेका छन्। अभियान प्रभावकारी बनाउन लम्कीचुहा नगरपालिकाले स्थानीय सञ्चारमाध्यम तथा सामुदायिक संस्थाहरूसँग समन्वय गरिरहेको छ।
खोप अभियानको प्रारम्भिक प्रतिक्रियाअनुसार स्थानीयहरू यस अभियानप्रति सकारात्मक देखिएका छन्। अभिभावकहरूले आफ्ना छोरीहरूलाई खोप लगाउन विद्यालय वा नजिकको स्वास्थ्य चौकीसम्म लैजाने गरेका छन्। केही अभिभावकले भने खोपका प्रभावकारिता तथा सम्भावित दुष्प्रभावबारे थप जानकारी चाहिने बताएका छन्। स्वास्थ्यकर्मीहरूले अभिभावकहरूको चासो सम्बोधन गर्न नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्।
खोप अभियान आगामी केही सातासम्म निरन्तर सञ्चालन गरिने छ। नगरपालिकाले अभियानको सफल कार्यान्वयनका लागि थप जनशक्ति परिचालन गर्ने जनाएको छ। यस अभियानको प्रभावकारिता मूल्याङ्कन गर्न स्वास्थ्य मन्त्रालय तथा स्थानीय स्वास्थ्य शाखाले अनुगमन गर्ने योजना बनाएका छन्।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानले लम्कीचुहा नगरपालिकाका किशोरी तथा महिलाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।