३ दिनसम्म रस्साकस्सीपछि को बने विरेंद्र सामुदायिक वनको अध्यक्ष ?
अक्षर साथी | २०८१ माघ २१ गते १०:३० मा प्रकाशित
अक्षर साथी
लम्की, माघ २१
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. २ मा रहेको विरेंद्र सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष को भयो भन्ने जिज्ञासा तपाईँमा छ भने, जिज्ञासामै सीमित हुने भएको छ । शुक्रबारदेखि सुरु भएको नयाँ नेतृत्व चयनको विषयमा आजसम्म टुंगो लागेको छैन । अरू पदमा सहमति भए पनि मुख्य अध्यक्ष पदमा तीन जनाको दाबी कायमै छ ।
निर्वतमान अध्यक्ष उजिर सिंह सुनार, डिल्लीराज रावल र तिर्थराज ढकाल (रोहन) ले अध्यक्ष पदमा दाबी गरेपछि निर्वाचन समितिले तीनै जनालाई सहमतिका लागि पटक–पटक आग्रह गरिरहेको छ । शुक्रबार समूहको ११ औँ साधारण सभा सम्पन्न भए लगत्तै निर्वाचन प्रक्रिया सुरु गरिएको थियो । निर्वाचन समितिले शनिबार बिहान ८ बजे मतदाताको नाम सार्वजनिक गर्दै प्रक्रिया अघि बढाउने जानकारी दिए पनि हालसम्म सहमतिका लागि समय थप्दै गएको छ ।
निर्वाचन समितिका संयोजक विरेंद्र शाहीलाई हामीले पटक–पटक निर्वाचनका लागि समय किन दिइएको, किन लोकतान्त्रिक विधिद्वारा उपभोक्ताले आफ्नो नेतृत्व चयन गर्ने अधिकार प्रयोग गर्नबाट वञ्चित गरिँदै छ ? भन्ने प्रश्न गरेका थियौँ । जवाफमा निर्वाचन समितिका संयोजक विरेंद्र शाहीले भने, ‘निर्वाचन गराउन हामीलाई कुनै समस्या होइन तर संस्थाको आर्थिक अवस्थालाई पनि ध्यान दिन आवश्यक छ । निर्वाचन गराउँदा खर्च धेरै हुन्छ । खासै मौज्दात नरहेको संस्थामा २ देखि ढाई लाखसम्म खर्च गर्न ऋण काढेर नै गर्नुपर्छ । त्यो खर्चको भार यही संस्था र उपभोक्तामा पर्न जान्छ । त्यसैले सरोकारवाला सम्पूर्णको सहमतिका आधारमा छलफलका लागि समय उपलब्ध गराएको हौँ । नयाँ आउने कार्यसमितिलाई किन ऋणको भारी बोकाउने र संस्थालाई आर्थिक भारमा किन राख्ने भनेर नै हामीले चुनावभन्दा पनि सहमतिका लागि बढी जोड दिएका हौँ।’
अन्य पदाधिकारीमा सहमति भए पनि अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन । अध्यक्ष पदमा उजिर सिंह सुनार, डिल्लीराज रावल र तिर्थराज ढकाल (रोहन)को दाबी छ भने, उपाध्यक्षमा कमल ढुंगाना र गोरखबहादुर रावल रहेका छन्। सचिवमा रंगा भट्टराईलाई बनाउने सहमति भएको छ। त्यस्तै, कोषाध्यक्षमा कौशिला सोडारीले दाबी फिर्ता लिएपछि विरिन्द्रा तिमिल्सिनाको नाममा सहमति भएको छ ।
एमालेबाट दुईवटा उम्मेदवार भएपछि सहमति गर्न समस्या भइरहेको छ । उजिर सिंह सुनार र तिर्थराज ढकाल (रोहन) दुवै एमालेका उम्मेदवार हुन् । तर, उजिर सिंह सुनारलाई कांग्रेसको पनि समर्थन छ । कांग्रेस र एमाले दुवैले उजिर सिंहलाई उम्मेदवार बनाएपछि तिर्थराज ढकालले पनि उम्मेदवारी दिएका छन् । रोहनलाई एक पक्षले महिनौँ पहिलादेखि अध्यक्ष बनाउने आश्वासन दिएर नविकरण गर्न लगाएका थिए । अहिले आएर उनलाई बाइपास गर्दै कांग्रेस र एमालेले उजिर सिंह सुनारलाई अध्यक्ष पदका लागि अगाडि सारेपछि रोहनले पनि आफ्नो दाबी कायमै राखेका छन् ।
रोहनलाई उजिर सुनारको भन्दा कांग्रेसबाट ठूलो चुनौती छ । रोहनलाई कुनै पनि हालतमा अध्यक्ष हुनबाट रोक्ने अभियानमा कैलाली क्षेत्र नं. २ का क्षेत्रीय पदाधिकारी नै लागेको दाबी स्रोतको छ । अध्यक्ष बरु एमालेका उजिरलाई नै बनाउने तर रोहनलाई कुनै हालतमा नबनाउने भनेर रोहन केन्द्रित लबिङ हुँदा रोहनलाई चुनौती छ । निर्वाचन हुँदा एमाले समर्थक मतहरू बाडिँदा कांग्रेस समर्थक उपभोक्ता मत भने उजिर सिंह सुनारलाई जाने देखिन्छ । एमाले समर्थक उपभोक्ताका मत बाडफाँड हुँदा अध्यक्ष पड्काउने दाउमा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डिल्लीराज रावल छन्। एमाले एमाले लड्दा र कांग्रेस केही मत आफूतिर तान्दा, आफूलाई अध्यक्ष हुन कसैले रोक्न नसक्ने रणनीतिमा रावल छन् ।
यता, निर्वाचन समितिले पुनः सहमतिका लागि समय दिएको छ ।