समाचार
नगर उद्यान मोहनलालद्वारा घर हस्तान्तरण
प्रशासक | २०८१ चैत्र ६ गते १६:२१ मा प्रकाशित
अक्षर साथी
लम्की/चैत ६
कैलालीको लम्कीचुहा–२ मा रहेको नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहले विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ । वडा नं.५ का अध्यक्ष माया बिष्ट, वडा नं.२ का अध्यक्ष सन्तोष कुमार ओली, सव डिभिजन वन कार्यालय लम्कीका अधिकृत शेर बहादुर भण्डारी तथा सामुदायिक वनका पदाधिकारीको उपस्थितीमा बिहीबार एक कार्यक्रमकाबीच उनीहरूलाई घर हस्तान्तरण गरिएको हो ।
सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत वन क्षेत्रका विपन्न परिवारलाई ५८ हजारका दरले लागतमा निर्माण गरिएको घर हस्तान्तरण गरिएको समूहका कार्यालय सचिव पदम तिरुवाले जानकारी दिए ।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि तथा माया विष्टले सामुदायिक वनले आफ्ना उपभोक्ताको हितको लागि निक्कै राम्रो काम गरेको बताइन् । त्यस्तै वडा नं. २ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले सामुदायिक वनले धेरै राम्रो काम गरिरहेको र वडा सरकारले गर्न सक्ने काम गर्न आफू तयार रहेको बताए ।
नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बखत बहादुर बिष्टले गाँस बाँस तथा कुरा आधारभूत आवश्यक्ताका कुरा राज्यले पूरा गर्ने पनि दायित्व भएपनि यसको सुरुवात नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहले गरेको बताए । स्थानीय सरकारले विपन्न नागरिकलाई आवासको सुनिश्चतता गर्नु पर्ने कुरामा अध्यक्ष बिष्टले जोड दिएका थिए ।
घर पाएपछि आफूलाई ठूलो राहत भएको गगन नेपालीले प्रतिक्रिया दिए । ‘वर्षाको समयमा छाना चुहिएर रातभरी सुत्न पाइदैन थियो, सर्प किरा डर हुन्थ्यो । अहिले सामुदायिक वनले घर बनाएर दिएपछि खुशी लागेको छ, धन्यवाद छ नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहलाई ।
नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ताको आयआर्जनमा बृद्धि गराउने उदेश्यले १२ वटा बाख्रा समेत वितरण गरेको छ । वितरण गरिएका बाख्रा बीमा पनि सामुदायिक वनले ने गरिदिएको छ । बिहीबार बाख्राको आवस्था बारे अनुगमन समेत गरिएको छ ।