समाचार
लम्कीचुहा अस्पताल अब प्रादेशिक अस्पताल बन्दै: अस्पताल स्तरोन्नतिले के फाइदा ?
अक्षर साथी | २०८२ जेठ २० गते १३:३० मा प्रकाशित
अक्षर साथी
लम्की/जेठ १९
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेश तहको अस्पतालमा स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
नीति तथा कार्यक्रममा लम्कीचुहा अस्पतालसहित डडेलधुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी, र बाजुराको कोल्टी अस्पताललाई पनि क्रमशः प्रदेश तहमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।
यस्तै अछामको बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहत ल्याई प्रदेशस्तरको अस्पतालको रूपमा सञ्चालन गर्ने गरिने भएको छ ।
भल्कामा रहेको लम्कीचुहा अस्पताल र चुहाको निर्माणाधिन जनता अस्पताललाई गाभेर लम्कीचुहा अस्पताल भल्कालाई इमरजेन्सी उपचारका लागि र चुहामा सघन उपचार हुने गरि सुविधायुक्त अस्पताल सञ्चालन गर्ने आन्तरिक योजना छ । यसका लागि संघ सरकारसँग प्रादेशिक अस्पताल सञ्चालनका लागि अनुमतिको लागि मन्त्री परिषद्बाट निर्णय भएर पत्र पठाइएको छ । संघ सरकारबाट अनुमति आएपछि प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक कार्यहरू अघि बढाइने मुख्यमन्त्री कमल बहादुर शाहका स्वकीय सचिव राम बहादुर विष्टले जानकारी दिए ।
त्यस्तै प्रदेश तहको अस्पतालमा स्तरोन्नति भएपछि विशेषज्ञ चिकित्सक, सघन उपचार कक्ष (ICU), आधुनिक निदान सुविधा सिटी स्क्यान, अल्ट्रासाउन्ड, र २४सै घण्टा आपतकालीन सेवा उपलब्ध हुने छ । साथै, औषधि आपूर्ति, प्रशिक्षित स्वास्थ्यकर्मी, र पूर्वाधार विकासमा पनि सुधार हुने स्वकीय सचिव विष्टले जानकारी दिए ।
लम्कीचुहामा प्रादेशिक अस्पताल बनाउने कुराको स्वागत गर्दै लम्कीचुहा अस्पतालका कार्यवाहक अध्यक्ष पहिल बहादुर शाहीले ठोस कार्ययोजना सहित आवश्यक काम तिव्र गतिमा हुनुपर्ने बताए ।
‘लम्कीचुहा एउटा प्रादेशिक अस्पतालको खाँचो थियो । प्रदेश सरकारबाट लम्कीचुहामा सुविधायुक्त प्रादेशिक अस्पताल बनाउने कुरा आएको छ । यस कुराको हामी स्वागत गर्छौ ,’ कार्यवाहक अध्यक्ष शाहीले भने, ‘नीति तथा कार्यक्रममा आएको प्रादेशिक अस्पताल बनाउने कुरालाई ठोस कार्ययोजना सहित आवश्यक काम तिव्र गतिमा गरिनुपर्छ ।’
लम्कीचुहामा प्रादेशिक अस्पताल बनेमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै धनगढी वा अन्य सहरहरूमा रिफर गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा यहाँका स्थानीयको रहेको छ ।