सुदुरपश्चिम प्रदेश
घोडाघोडीमा मातृभाषामा पढाइको पहल
एजेन्सी | २०७५ फाल्गुन २७ गते १५:५० मा प्रकाशित
सुखड, २७ फागुन ।
कैलालीको घोडाघोडी नगरपालिकामा मातृभाषा (थारू) मा पढाइ सञ्चालनका लागि पहल थालिएको छ ।
नगरपालिकाले नेपालको संविधान २०७२ ले दिएको भाषागत मौलिक अधिकारलाई ध्यानमा राखेर मातृभाषा पढाइको पहल थालेको हो । नगरपालिकाले थारू भाषिक सम्मेलन गरिसकेको छ । सम्मेलनमा आएका सुझाव र सल्लाहका आधारमा पाठ्यक्रम बनाएर अगाडि बढ्ने योजना छ ।
नगरप्रमुख ममताप्रसाद चौधरीले भाषाका कारण विद्यार्थीको पढाइ कमजोर भएर पछाडि पर्नुपर्ने बाध्यता हटाउन पहल थालिएको बताए । ‘साना बालबालिका बिरामी हुँदा कि मुखबाट औषधि खुवाउनुपर्छ कि सुईद्वारा उपचार गर्नुपर्छ । मुखबाट औषधि खुवाउँदा ओकल्छन्,’ उनले भने, ‘त्यस्तै बालबालिकाले उनीहरूकै भाषामा सुई लगाए जस्तै गरी शिक्षित बनाउने योजनाअनुरूप मातृभाषामा शिक्षा दिने योजना बनाएका हौं ।’
नगरपालिकाले जुन विद्यालयमा बहुसंख्यक विद्यार्थी एकल भाषी छन् । त्यहाँ त्यही भाषामा पढाइ सञ्चालन गर्ने जनाएको छ । नगरप्रमुख चौधरीले भने, ‘माध्यमका रूपमा र शिक्षाका रूपमा मातृभाषा प्रयोगमा ल्याउने योजना छ । ५० प्रतिशत बढी एकल भाषी विद्यार्थी भएको ठाउँमा उनीहरूकै भाषामा पढाउने योजना बनाइरहेका छौं ।’ संविधानमै आधारभूत तहसम्म मातृभाषामा शिक्षा लिने हक हुनेछ भन्ने उल्लेख छ ।