आज खग्रास चन्द्रग्रहण : राशिअनुसार प्रभाव र सावधानीहरू
प्रशासक | २०८२ भाद्र २२ गते ०८:४४ मा प्रकाशित
डेस्क
लम्की/भदौ, २२
आज आइतबार भाद्र शुक्ल पूर्णिमाका अवसरमा (सेप्टेम्बर ७–८) पूर्ण खग्रास चन्द्रग्रहण लाग्न लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो ग्रहण राति १०ः११ बजे सुरु भएर १ः४१ बजे समाप्त हुनेछ । यसको विस्तृत समयतालिका यसप्रकार छ: ग्रहण स्पर्श १०ः११ बजे, सम्मीलन ११ः१५ बजे, मध्य ११ः५६ बजे, उन्मीलन १२ः३८ बजे र मोक्ष १ः४१ बजे । खग्रास अवधि १ घण्टा २३ मिनेट रहने यो ग्रहणको कुल अवधि ३ घण्टा ३० मिनेट हुनेछ । नेपाल, भारतसहित एसियाका अधिकांश देशहरूबाट यो ग्रहणलाई सुरुदेखि अन्त्यसम्म अवलोकन गर्न सकिनेछ ।
ज्योतिषशास्त्रका अनुसार चन्द्रग्रहणले विभिन्न राशिहरूमा फरक–फरक प्रभाव पार्छ । मेष राशि भएकाहरूलाई लाभ, वृषलाई शुभ फल, मिथुनलाई मानसिक हानि, कर्कटलाई कष्ट, सिंहलाई स्त्रीजनकबाट पीडा, कन्यालाई सुख, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई धनलाभ, मकरलाई क्षति, कुम्भलाई घातक प्रभाव र मीनलाई व्ययको योग छ । यसैले मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाहरूलाई यो ग्रहण हेर्न नहुने सल्लाह छ । बाँकी राशि भएकाहरूले अवलोकन गर्न सकिन्छ । विशेष गरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका तथा कुम्भ राशि भएकाहरूलाई यो ग्रहणले अत्यधिक कष्ट दिन सक्छ ।
ग्रहणकालमा के गर्नुहुँदैन ?
धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अघिबाटै सुतक लाग्छ । आज दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्धवृद्धा र रोगीहरूबाहेक अन्यलाई भोजन गर्न निषेध गरिएको छ । ग्रहण अवधिमा हवन, मन्त्रजप र दानजस्ता कार्य शुभ मानिन्छन्, तर सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेलमालिस गर्ने, कसैलाई बाँध्ने वा जीवहत्या गर्ने कार्यहरू कडाइका साथ निषेध छन् । शास्त्रीय ग्रन्थहरू जस्तै धर्मसिन्धु र निर्णयसिन्धुमा यसबारे स्पष्ट उल्लेख छ ः
निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् ।
पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।
अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति ।
वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।।
अर्थात्, ग्रहणमा सुत्दा रोग लाग्ने, पिसाब गर्दा दरिद्रता, दिसा गर्दा कीट योनीमा जन्म, मैथुन गर्दा गाउँको सुँगुर बन्ने, तेल लगाउँदा कुष्ठरोग, भोजन गर्दा अधोगति, बाँध्दा सर्प योनी र हत्या गर्दा नरक प्राप्त हुने भनाइ छ ।
वैज्ञानिक दृष्टिकोणबाट भने चन्द्रग्रहण पूर्ण रूपमा हानिरहित छ। यसलाई खुला आँखाले हेर्दा कुनै हानि नहुने विज्ञहरूले स्पष्ट पारेका छन् । यो खगोलप्रेमीहरू, विद्यार्थीहरू र अनुसन्धानकर्ताहरूका लागि अवलोकन र अध्ययनको दुर्लभ अवसर बन्नेछ ।
यसैगरी, आगामी फाल्गुन १९ गते मङ्गलबार फाल्गुन शुक्ल पूर्णिमामा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ ।