नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोरको तेस्रो पटक मिर्गौला प्रत्यारोपण
प्रशासक | २०८२ भाद्र २२ गते ०८:४८ मा प्रकाशित
डेस्क
लम्की/ भदौ, २२
नेपालमा पहिलो पटक एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको यो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । यो उपलब्धिले नेपालको चिकित्सा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको चिकित्सकहरूले बताएका छन् ।
शनिबार बिहान केन्द्रका चिकित्सक तथा कर्मचारीहरू एक मेडिकल रिपोर्टको नतिजा थाहा पाउँदा अत्यन्त खुसी भए । रिपोर्टमा उल्लेख थियो– बिरामी लक्ष्मणकिशोर चौधरीले शुक्रबार तीन लिटर पिसाब गरेका छन्। ‘उहाँको मिर्गौला प्रत्यारोपण भएको यो तेस्रो पटक हो । नेपालमै तेस्रो पटक प्रत्यारोपण गरिएको यो घटना पहिलो हो,’ डा. श्रेष्ठले भने, ‘प्रत्येक पटक प्रत्यारोपण जटिल हुँदै जाने भएकाले जोखिम उच्च हुन्छ । तर, हामीले सफलतापूर्वक यो प्रक्रिया सम्पन्न गरेका छौं।’
केन्द्रले स्थापनाको १३ वर्षमा १५ सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेको छ, तर दोस्रो पटक प्रत्यारोपण २० जनाको मात्र भएको थियो । तेस्रो पटकको प्रत्यारोपण भने यो नै पहिलो हो, जुन ९ भाद्रमा सम्पन्न भयो । राजनीतिक जीवनमा सक्रिय चौधरी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन् । ‘दोस्रो प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि मैले उपचारका लागि गत चैतमा राजीनामा दिएको थिएँ,’ चौधरीले भने, ’अपरेसनपछि स्वास्थ्य सामान्य हुँदै गएको छ। अब छिट्टै घर फर्किन्छु ।’
चौधरीलाई ३३ वर्षको उमेरमा २०६६ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । त्यतिबेला चौधरीले नेपालमै उपचार सम्भव छ भनेर विश्वास गर्न सकेनन् । ‘म भारतको लखनउ गएर प्रत्यारोपण गराएँ, जसमा ३० लाख खर्च लाग्यो,’ उनी सम्झन्छन्, ’तर, पछि थाहा भयो नेपालमै यस्ता दक्ष चिकित्सकहरू छन् । सुरुमा विश्वास लागेन।’
दोस्रो पटक २०७२ मा मिर्गौलाको समस्या देखिएपछि लखनउ नगई सिधै भक्तपुर आएका चौधरीलाई त्यतिबेला निमोनियाले सताएको थियो । उनी भन्छन्, ‘डाक्टरहरूले पूरै बेहोस नपारीकनै अपरेसनको आवश्यक भागमा मात्रै लट्याएर प्रत्यारोपण गरे । यो मेरो लागि दोस्रो जन्म थियो ।’ पहिलो प्रत्यारोपणले ६ वर्ष र दोस्रोले १० वर्ष काम गरेपछि तेस्रो पटक फेरि मिर्गौला बदल्नुप¥यो । यसपटक कुनै दुविधा नराखी उनी भक्तपुर पुगे ।
पहिलो प्रत्यारोपणमा उनकी आमा सुरत कुमारीले, दोस्रोमा कान्छी बहिनी असर्फी चौधरीले र तेस्रो पटकमा पत्नी सरस्वती चौधरीले मिर्गौला दान गरेकी छन् । पत्नी र उनको रक्त समूह फरक भएकाले सिधै प्रत्यारोपण सम्भव थिएन । यसका लागि कानुनी रूपमा मिर्गौला साटासाटाको सुविधा उपयोग गरे । पत्नीले पोखराकी हरिमाया गुरुङकी छोरी अमृतालाई मिर्गौला दिइन्, सट्टामा हरिमायाले चौधरीलाई दिइन् । ‘दिने दुई र लिने दुई सबैलाई एकैसाथ राखेर एकै दिन प्रत्यारोपण ग¥यौं,’ डा. श्रेष्ठले भने ।
प्रत्यारोपण सफल भएपछि सामान्य पिसाब हुन सक्छ । सँगै प्रत्यारोपण गरिएकी अमृताको पिसाब दुई दिनमै खुल्यो, तर चौधरीको भने एक सातापछि बल्ल सामान्य भयो ।
‘तेस्रो पटकको प्रत्यारोपण भएकाले जटिलता नआओस् भनेर सघन निगरानीमा राखेका छौं,’ डा. श्रेष्ठले भने, ’अन्यथा यो अवस्थामा डिस्चार्ज गर्न सकिन्थ्यो । यो नेपालको चिकित्सा क्षेत्रका लागि सामूहिक गर्वयोग्य उपलब्धि हो ।’ राजनीतिक भूमिकामा रहँदा पनि स्वास्थ्य चुनौती सामना गर्दै आएका चौधरीको यो सफल उपचारले धेरैलाई प्रेरणा दिन सक्छ ।