समाचार
किसान सहकारीको कागती काठमाण्डौँसम्म
प्रशासक | २०८२ असोज २ गते १४:०६ मा प्रकाशित
अक्षर साथी
लम्की/असोज २
देशकै नमूना सहकारी संस्थामध्ये एक मानिने किसान बहुउद्देश्यीय सहकारी संस्था, लम्कीले उत्पादन गरेको कागती अब राजधानी काठमाण्डौँसम्म पुग्न थालेको छ । सहकारीले लम्कीचुहा–३, बल्चौरस्थित करिब २ बिगाहा क्षेत्रफलमा २०७९ साल असारमा करिब १ हजार कागतीका बिरुवा रोपेको थियो । तीन वर्षपछि उत्पादन सुरु भएसँगै अहिले किसानले राजधानीसम्म कागती पठाउन थालेका हुन् ।
सहकारीका कृषि प्राविधिक बिरेन्द्र शाहका अनुसार बल्चौरमा उत्पादन भइरहेको कागती सुन कागती हो, जुन गोलो आकार, धेरै रस हुने र ८ देखि १० प्रतिशतसम्म गुलियोपन हुने भएकाले बजारमा यसको विशेष माग रहेको छ । ‘यो जातको कागती पातलो छालाको र रसिलो हुने भएकाले तरकारी, अचारदेखि होटल–रेस्टुरेन्टसम्म यसको प्रयोग धेरै हुन्छ,’ शाहले बताए ।
स्थानीय बजारमा ठूलो परिमाणमा कागती खपत हुन नसकेपछि सहकारीले होलसेल मूल्यमा काठमाण्डौँ पठाउन सुरु गरेको कर्मचारी भोजराज भट्टराईले जानकारी दिए । उनका अनुसार सहकारीले हालसम्म राजधानीमा निरन्तर आपूर्ति गरिरहेको छ ।
सँस्थाका सञ्चालक समिति सदस्य मनिष न्यौपानेका अनुसार हालसम्म करिब ६ टन कागती काठमाण्डौँ पठाइसकिएको छ भने यस पटकको अन्त्यसम्म थप २ टन पठाउने तयारी भइरहेको छ । ‘स्थानीय बजार मात्र पर्याप्त नभएकाले हामीले राजधानीलाई मुख्य बजारको रूपमा पहिचान गरेका छौँ,’ न्यौपानेले भने ।
सहकारी अहिले तीन प्रमुख क्षेत्रमा काम गर्दै आएको छ– वित्तीय कारोबार, कृषि र मार्ट । ‘समृद्धिका लागि समुदायसँगै’ भन्ने नारासहित सहकारीले किसान–कोप मार्ट, किसान–कोप एग्रो र वित्तीय युनिटमार्फत सेवा दिइरहेको छ । यस अन्तर्गतको किसान–कोप एग्रो युनिटले कागती खेतीलाई प्राथमिकतामा राख्दै उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको छ ।
सहकारीले आगामी दिनमा उत्पादन क्षेत्र थप विस्तार गर्ने, राजधानीसँगै अन्य ठूला शहरमा पनि आपूर्ति गर्ने र निर्यातको सम्भावना पनि अध्ययन गर्ने योजना रहेको सँस्थाका महा प्रबन्धक डम्बर शाहले बताए ।