समाचार
लम्की बाल सञ्जालको वक्तृत्वकला प्रतियोगिता सम्पन्न
प्रशासक | २०८२ असोज ३ गते १०:१६ मा प्रकाशित
कैलाली डेस्क
लम्की/ असोज ३
लम्की बाल सञ्जालको आयोजना र सेवक नेपालको सहकार्यमा विजया दशमीको अवसरमा अन्तर–विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लम्की जेसिज सभाहलमा सम्पन्न भएको छ । लम्कीचुहाका ११ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताको वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय भुरुवाका प्रकाश न्यौपाने प्रथम भएका छन् । त्यस्तै बालकल्याण माध्यमिक विद्यालय भुरुवाकी पुष्पा बडुवाल दोस्रो, राष्ट्रिय माध्यमिक विद्यालय बल्चौरका कौशल जोशी तेस्रो तथा जनसेवा माध्यमिक विद्यालयकी यमुना धमाला सान्त्वना (चौथो) भएका थिए । उनीहरूलाई प्रमाणपत्र, मेडल र शैक्षिक सामग्री वितरण गरी सम्मान गरिएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा लोकेश खनाल र राजेन्द्र भण्डारी रहेका थिए ।
कार्यक्रम लम्की बाल सञ्जालका अध्यक्ष क्षितिज जैसीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा सदस्य सिद्धराज तिमिल्सिना रहनु भएको कार्यक्रममा सेवक नेपालकी प्रतिनिधि निरुता चौधरी, हाम्रो पाठशालाका प्रिन्सिपल तथा समाजसेवी कृष्ण बटाला लगायतको विशिष्ट उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, वडा नम्बर ५ का वडा सचिव विष्णुकान्त प्याकुरेल, लम्की बाल सञ्जाल कैलालीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि तिमिल्सिनाले यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै लम्कीचुहामा मात्र नभई देशभर यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
त्यस्तै, विशिष्ट अतिथि समाजसेवी कृष्ण बटालाले लम्की बाल सञ्जालले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न शुभकामना दिनुभयो ।
सभाध्यक्ष क्षितिज जैसीले यसपटक वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भविष्यमा अझ राम्रो कार्यक्रम गर्ने र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए साथै, सहकार्य गर्ने सेवक नेपाललाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
लम्की बाल सञ्जालका सचिव यशोदा जैसीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल प्याकुरेले गरेका थिए ।