सुदुरपश्चिम प्रदेश
कैलालीमा सीमा नाका र भीडभाड क्षेत्रमा चेकजाँच कडाइ
प्रशासक | २०८२ असोज १२ गते ११:४५ मा प्रकाशित
कैलाली/असोज १२
कैलाली प्रहरीले चाडपर्वलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएका नाका र मानिसको भिडभाड बढी हुने स्थानमा सुरक्षा कडाइ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार रोक्न विशेष चेकजाँच थालिएको हो। यसका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कुकुर शाखासँग समन्वय गरी सीमा नाका र बसपार्कजस्ता संवेदनशील क्षेत्रमा तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको उनले बताए।
चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार जिल्लाभर एक हजार एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। यात्रुको सुविधा र सहजीकरणका लागि सीमा नाका तथा प्रमुख सार्वजनिक स्थलमा नागरिक सहायता कक्ष समेत स्थापना गरिएको छ।