समाचार
सेती अञ्चल अस्पतालको लापरवाहीले शिशुहरु खोप पाउनबाट वञ्चित हुदै
एजेन्सी | २०७५ चैत्र ३ गते १४:४८ मा प्रकाशित
शिशु जन्मेको ६ हप्ता भित्र लगाउनुपर्ने पोलियो विरुद्धको एफ आई पी भि खोप लगाउन धनगढीको उत्तरबेहडीका टेकेन्द्र बम दम्पत्ती गत हप्ता शिशु लगेर सेती अञ्चल अस्पताल पुग्यो। अस्पतालले अभाव देखाउदै अर्को हप्ता आउन भन्यो।
बम दम्पत्ति एक हप्ता पछि शुक्रबार फेरी शिशु लिएर अस्पताल पुग्यो तर अस्पतालले फेरी पनि अभाव देखाउदै फर्कादियो। शिशुलाई खोप लगाउने समय ढल्कीसकेको भन्दै उनीहरु परिवार नियोजन धनगढी शाखामा पुगेपछि एफआईपीभि खोपको अभाव नभएपनि अस्पतालले अभाव देखाउदै सेवाग्राहीलाई फर्काउने गरेको तथ्य खुलेको हो।
अञ्चल अस्पतालको लापरवाहीले राष्ट्रिय खोप तालिका अनुसार निःशुल्क लगाईने खोपबाट समेत शिशुहरु वञ्चित हुन थालेका हुन्। क्षेत्रिय मेडिकल स्टोरले फागुन ३० गते नै अञ्चल अस्पतालको छेउमै रहेको जनस्वास्थ्य कार्यालयलाई शिशुलाई लगाउने सबै किसिमका खोप वितरण गरिसकेको जनाएको छ। तर अञ्चल अस्पतालले भने खोपको अभाव देखाउदै शिशुहरुलाई निःशुल्क पाउने खोपबाट समेत वञ्चित गराईरहेको छ।
अञ्चल अस्पतालले छुट्टै तालिका बनाएर सोमबार र शुक्रबार गरी हप्तामा दुई दिन शिशुहरुलाई खोप लगाउदै आएको छ। त्यसको जिम्मा अस्पतालले मातृशिशु क्लीनिकलाई दिएको तर अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी आमा र शिशुको स्वास्थ्यका बारेमा गम्भीर नहुदा बेला बखत विभिन्न खालका समस्या खेप्दै आएका छन्।
नजिकै रहेको जनस्वास्थ्य कार्यालयमा खोप हुदा हुदै अस्पतालले आमा र शिशुहरुलाई अभाव देखाउदै फिर्ता गर्नुको कारण बारे सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी नहुदा त्यसो हुन पुगेको दावी गरे।
उनले अघिल्लो हप्ता खोपको अभाव रहेको तर यो हप्ता जनस्वास्थ्य कार्यालयमा आईसकेको बारेमा जानकारी नहुदा क्रुटी हुन पुगेको बताए। फितलो व्यवस्थापनकै कारण अस्तव्यस्त बन्दै गएको सेती अञ्चल अस्पतालमा हुने स–साना क्रुटी र लापरवाहीकै कारण आम सर्वसाधारणले दुःख पाउदै आएको जानकारहरुले बताउदै आएका छन्।
तर अस्पतालको सेवा चुस्त र दुरुस्त बनाउन न अस्पताल व्यवस्थापनले ध्यान दिएको छ न त अनुगमनको डम्फु बजाउने प्रदेश सरकार र स्थानीय सरकारले नै मतलब नगरेको आरोप लागेको छ।
ion